सम्पदा जोगाउनेतर्फ ध्यान पुर्याउनैपर्छ
कला र सांस्कृतिक नगर भक्तपुर। भक्तपुर देशकै उत्कृष्ट जिल्ला। सम्पदा र नाचगानको थलो भक्तपुर। शिक्षा, स्वास्थ्य सरसफाइको नमुना भक्तपुर। देश र विश्वलाई लोभ्याउन सकिने खुबि भएका हामी भक्तपुरवासी सद्भाव, सद्विचार, सदाचारबाट सादा जीवन र उच्च विचारबाट अभिप्रेरित छौं।
हाम्रो संस्कृतिलाई जीवित बनाउन सफल भइरहेका छौंहामी। यहाँ हरेक दिन विभिन्न कला, सस्कृति र रीतिरिवाजका पर्वहरूले गुनगुनाई रहेको पाइन्छ। पुर्खाले दिएको कला र संस्कृति हाम्रो सम्पत्ति हो। नत्र हामीले यहाँका पर्वहरू माने र मनाउने नै कसरी? विधि र पद्धति हामीलाई पुर्खाहरूले सुम्पेका छन्। त्यहीअनुसार हामी चलाइरहेका छौं। कही कतै भएका उच्छृङ्खलताको बीउको अन्त्य आवश्यक छ।
भक्तपुरवासी पनि गत वैशाख १२ गते र २९ गतेको भूकम्पले विनासको शिकारमा परे। त्यो बेलाको परिस्थिति सोच्दा, सम्झन्दाकुन नेपालीको आँखाबाट आँसु आउँदैन र? त्यो विध्वंसले विनासकारी प्रकृति प्रकोपले हाम्रा कैयौं सोझा सीधा नेपाली जनताको प्राण लियो। कति अपाङ्ग, घाइते र बेसहारा बने। यसको हामीले हिसाब किताब गरेर साध्य छैन। आर्थिक र भौतिक क्षतिको चुक्ता हामीले कहिले कसरी गर्ने? सरकार अहिलेसम्म मौन नै छ। पाल र टहरामा बस्दा बस्दै पीडितहरू बाँच्नु कि मर्नुको स्थितिमा पुगेका छन्। हामी यस्तै चिन्ताले बेला बेलामा झस्किन्छौं, तर्सिन्छांै। जानी नजानी मानसिक रोगले ग्रसित हुन्छौं।
यस्तो स्थितिमा हाम्रो घर आँगनमा हाम्रो बिस्केट जात्रा छिर्दै छ।
यो विवशतामा आफ्नो भत्केका घरका अवशेषहरू हताउँदै, पन्छाउँदै, नयाँ घरको लागि नयाँ जग हाली हामी काम थाल्दै छौं।
तर हामीले धैर्य गर्नैपर्छ र सङ्घर्ष गर्नैपर्छ। धैर्य र सङ्घर्षले हामीमा नयाँ जोश अवश्य आउनेछ। हाम्रो जिन्दगीमा के–कस्ता समस्याहरू आउँछ, त्यसको सामना गर्नैपर्छ। झुकेर होइन लडेर सामना गर्नुपर्छ। आँट र आत्मविश्वास हामीमा सधंै रहिरहनुपर्छ। हामीले आ–आफ्नो घरलाई केही हदसम्म बचाई राख्नलाई भए पनि टेको लगाइराखेका छौं। त्यसलाई धरापमा परेका घर सम्पदा भनी बुझ्नु जरुरी छ। टोल–टोल र बजार एरियाहरूमा यी अवस्थाका घर सम्पदा गनेर साध्य छैन। यसको लागि जात्राको समयमा हामी सजग र संयमित हुनु आवश्यक छ। केही गरी त्यस्ता धरापका घरको टेकोमा ठोकिन गएमा फेरि थप नोक्सान हुन्छ। त्यसैले जात्रा चलाउन केही रुट परिवर्तन गर्नुपरेमा वा छोट्याउनु परेमा राम्रोसँग मनन गरी पालना गर्नैपर्छ। हाम्रो कला र संस्कृति बचाउनैपर्छ।
–कृष्णराम सुवाल
|