September 4, 2018

समय सन्दर्भ

बाँकि समय सन्दर्भ
 

पुनर्स्थापित होला र स्खलित हिन्दूवादी जोश?

राप्रपा नेपाललाई नै समग्र हिन्दूवादी र पूर्वराजावादी कित्ताको नाइके मान्ने जत्था अझै पनि ठूलै छ नेपालमा। तर यो पार्टीको चैत १८ को वीरगञ्ज विस्तारित बैठकको निष्कर्षको जगमा यो दल राजनीतिक, सांगठनिक र लोकप्रियताको हिसाबले मोटाउदै हैन, सुन्निदै गएको प्रतीत हुन्छ। राप्रपा नेपालका अध्यक्ष कमल थापाले सनातन हिन्दू धर्म र नेपाललाई हिन्दू राष्ट्र कायम गर्नुपर्ने माग छाड्न नसक्ने र यसका लागि सडकदेखि सदनसम्म सङ्घर्ष गर्ने र सरकार पनि नछाड्ने उदघोषले यो पार्टी अन्ततः सत्तालिप्सामा चुर्लुम्म डुबेको प्रमाण दिएको छ। नेपाललाई हिन्दू राष्ट्र घोषणा गराउनको लागि पार्टीले सडक र सदन दुवैलाई सदुपयोग गर्ने तर सत्ता नछोड्ने नीति सत्ताको भत्ता पचाउन मुद्दाको ओत खोज्ने नीति सिवाय के हुनसक्छ? संविधानलाई आलोचनात्मक समर्थन गरेको दाबीको किन अब विश्वसनियता छैन भने यो संविधान कार्यान्वयन गर्ने कमल कसम मुद्दाको लिलामीमा सत्ताको उदय सिवाय केही हैन। 

प्रधानमन्त्री केपी ओली नेतृत्वको यो सरकारले कुनै उल्लेख्य काम गर्न नसकेको भनी सरकारलाई अकर्मण्य पनि भन्ने अनि त्यही सरकारको उपप्रधान तथा मन्त्री भइरहने कमल चरित्रलाई के भन्ने त? पार्टी सरकारबाट फिर्ता हुनुपर्छ भनेर सार्वजनीक आह्वान गर्ने सहअध्यक्ष केशरबहादुर विष्टलाई तीन वर्षको लागि आउट गरेर पनि सरकारको आलोचनात्मक सहकार्य इमानको राजनीतिमा अकल्पनीय हो, तर कमल राजनीतिको यथार्थ भइरहेको छ। यो दलको ओरालो यात्राको कारक विडम्वना नै यही हो सायद। उसो त कमल थापा तिनै पात्र हुन् जसलाई भद्र पञ्चायती नेता अर्थात् राप्रपाका अध्यक्ष लोकेन्द्रबहादुर चन्दले मुसा प्रवृत्तिका रुपमा ५० को प्रजातान्त्रिक दसकमा नै उदाङ्गो पारिसकेका हुन्। यस अर्थमा नैतिक चरित्रको राजनीति र कमल थापा एक आपसमा कहिल्यै भेट हुन नसक्ने दुई नदीका किनारजस्तै हुन्। 

लोक जान्दछ कमल थापाले चाहेको संविधान र व्यवस्था दुवै हैन यो। तैपनि उनी संविधान जारी गर्न सत्ताको सौदाबाजीसँगै तयार भए र ६ महिने सत्तास्वाद लिइसकेका छन। यो बीचमा उनले राप्रपा नेपालका अध्यक्ष भएर के के गरे? अनि देशको उपप्रधानमन्त्रीका रुपमा गणतान्त्रिक संविधान कार्यान्वयन गर्न कति मेहनेत गरे भन्ने तथ्य पनि देश र जनताका सामु दिनको घाम जत्तिकै छर्लङ्ग नै छ। सत्ता सहकार्यलाई सजगतापूर्वक निरन्तरता दिने वीरगञ्ज बैठकको निर्णय केवल हिन्दूत्वको मुद्दा देखाउने दाँत र सिंहदरवारको सत्ता चाहिँ खाने असली दाँत भएको उदाहरण हो भन्दा अतिशयोक्ति हुनेछैन। सजगतापूर्वक सत्तामा बसिरहने भन्नुको अर्थ ताक परे नयाँ सत्तासमीकरणको लागि पनि कमल थापा तयार छन् भन्ने साङ्केतिक उदघोष् नै हुनुपर्छ। यो सङ्केत वेटिङ्ग प्राइमिनिष्टर अर्थात् ठूलो विपक्षी दल नेपाली काङ्ग्रेसका नेता तथा सभापति शेरबहादुर देउवाप्रति ईङ्गित हुनुपर्छ। 

–सूर्य खड्का