September 4, 2018

समय सन्दर्भ

बाँकि समय सन्दर्भ
 

कमलहरी मुक्ति कागजमै सीमित, पुनः कमलहरी बस्दै

राम दहित 

धनगढी। कैलालीको कोटातुल्सी–९ भुरुवाकी १२ वर्षीया कमलहरी सुस्मिता कठरिया गत वर्ष जिल्ला प्रशासन कार्यालय कैलालीबाट भागिन्। धनगढीस्थित ऐश्वर्य विद्या निकेतनमा कार्यरत शिक्षक महेन्द्रबहादुर सिंहको घरमा कमलहरी बसेकी कठरियालाई प्रशासन कार्यालयमार्फत उनको बुबा जीतबहादुर कठरियाको जिम्मा लगाउने क्रममा उनी भागेकी थिइन। हाल उनी पुनः शिक्षक सिंहको घरमा कमलहरी बसिरहेको जिल्ला प्रशासन कार्यालय कैलालीले जनाएको छ। 

रतनपुर–४ तेघरीकी १८ वर्षीया रूपा चौधरी पनि ०७१ साल जेठ ११ गतेदेखि पुनः कमलहरीको रूपमा बस्न थालेकी छिन्। धनगढी मिलन चौकस्थित ज्ञानबहादुर कार्कीको घरमा चार वर्ष पहिले काम गर्न थालेकी उनले पुनः कमलहरीको जीवन अपनाएकी हुन्। 

कमहलरी सुस्मिता र रूपामात्रै होइन, हाल कैलाली जिल्लामा मात्रै ३५ मुक्त कमलहरी पुनः कमलहरी जीवन बिताउन थालेका छन्। कैलाली जिल्लामा जस्तै कञ्चनपुर, बर्दिया, बाँके र दाङ जिल्लामा पनि पुनः कमलहरी बस्नेको सङ्ख्या उल्लेख्य छ। यसरी मुक्त घोषणा भइसकेका कमलहरी पुनः कमलहरी बस्न थालेपछि कमलहरी मुक्ति अभियानमा लागेका राज्यका निकायहरू विफल भएको देखिएका छन्। फलस्वरूप कमलहरीका अभिभावकहरू आफ्ना बालबालिकाबाट टाढिएका छन् भने कमलहरी राख्नेहरू दिनप्रतिदिन बलियो हुँदै गएका छन्। 

कमलहरी सुस्मिता कठरियाका बुबा जीतबहादुर कठरिया आफ्नी छोरीलाई घर फर्काउन हरसम्भव प्रयासमा जुटेका छन्, तर उनी हालसम्म आफ्नी छोरीलाई घर लग्न भने सफल हुन सकेका छैनन्। 'मेरी छोरीलाई उनीहरू (महेन्द्र सिंहको परिवार)ले जबरजस्ती राखेका छन्”, कठरियाले दुःखेसो पोखे, 'म अभिभावकको भूमिका निर्वाह गर्न चाहन्छु तर, आफ्नै बच्चाबाट म टाढा छु।' 

जिल्ला प्रशासन कार्यालय कैलालीले ०७० साल माघ १२ गते कमलहरी फिर्ताका लागि कमलहरी राख्ने व्यक्तिका नाममा पत्र जारी गरेको थियो। सोही क्रममा शिक्षक महेन्द्र सिंहलाई पनि पत्राचार गरिंदा उनी कमलहरी कठरियालाई जिल्ला प्रशासन कार्यालयमा बुझाउन गएका थिए। 'मैले पनि उनलाई उनको घर फर्काउन चाहेको छु तर, उनको बुबाले काट्ने, मार्ने धम्की दिंदारहेछन्, त्यसैले उनी घर जान मानिगरिरहेकी छैनन्', शिक्षक सिंहले भने, 'उनलाई आफ्नै छोरीजस्तै गरिराखेको छु, पढाइरहेको छु।' 

सुस्मिताकी बुबा जीतबहादुर कठरियाले भने आफ्नी छोरीलाई टीकापुरमा रहेको कमलहरी होस्टेलबाट सिंहले भगाएर ल्याएको आरोप लगाएका छन्। 

त्यस्तै, पुनः कमलहरी बसेकी रूपा चौधरी भने हाल आफू कमलहरी नबसेको बताइन्। उनले कार्कीको घरबाटै कक्षा १० पढिरहेको बताउँदै भनिन्, 'म कमलहरी होइन, म आफ्नो बुबा आमाको सहमतिमा यहाँ बसेकी छु। मेरो बुबा आमाले मलाई पढाउन सकिराख्नुभएको थिएन। म यहाँ बसेर पढिरहेको छु, मलाई यहाँ सबथोक पुगेको छ।” 

बाँकेको कोहलपुर नगरपालिका पृथ्वीपुर बस्तीकी ८ वर्षीया रीता चौधरी र ११ वर्षीया मिच्छु चौधरीको जीवन भने निकै पीडादायी बनेको छ। सानै छँदा अभिभावक गुमाएका उनीहरू बाँकेकै नेपालगञ्ज उप–नगरपालिकाको विलासपुरका स्थानीय तथा नेपाल राष्ट्र बैङ्क नेपालगञ्जमै कार्यरत गणेशबहादुर मल्लको घरमा करिब सात आठ वर्षदेखि कमलहरीका रूपमा बस्दै आएका छन्। 

कमलहरी बालिका उद्धारको पर्र्खाइमा रहे पनि प्रशासनले गम्भीरतापूर्वक नलिएका कारण उद्धारको काम हुन नसकेको मुक्त कमलहरी विकास मञ्चका केन्द्रीय उपाध्यक्ष सुजाता चौधरीले बताइन्। बालिकाहरूका आफन्तले लिन जाँदा कमलहरी राख्ने मल्लले भेट्न नदिएको उपाध्यक्ष चौधरीको भनाइ छ। ती कमलहरी बालिकाहरूले आफूहरूको उद्धारका लागि पटक–पटक अनुनय गर्दै आएकी छिन्। 

यसरी मुक्त कमलहरीहरू अभिभावकको मिलेमतोमा विभिन्न नाममा कमलहरी बस्न थालेपछि राज्यका निकायहरू र कमलहरी क्षेत्रमा काम गर्ने गैरसरकारी संस्थाहरू निरिह बनेका छन्। उनीहरू त्यसरी पुनः कमलहरी बस्नेको उद्धार र पुनःस्थापनाका लागि कसरी अगाडि बढ्ने भन्नेबारे ठोस पहल गर्न सकिरहेका छैनन्। 

शिक्षा ग्रहण गर्नुपर्ने समयमा स्वयम् अभिभावकको दबाब तथा विभिन्न प्रलोभन परेर मौलिक हकको रूपमा रहेको शिक्षाको अधिकारबाट वञ्चित हुँदा समाज विकासमा बाधा पर्ने बताउँछन्, कैलाली बहुमुखी क्याम्पसका प्रमुख तथा प्राध्यापक सुरेन्द्र चन्द। उनी भन्छन्, 'कमलहरी प्रथाकै कारण बाल मस्तिष्कमा मनोवैज्ञानिक रूपमै नराम्रो असर पर्नुका साथै समाजमा समेत नकारात्मक असर परिरहेको छ।' यसप्रति अभिभावकहरू सचेत हुनुपर्ने औंल्याउँदै प्राध्यापक चन्दले सरोकारवाला निकायले पनि कमलहरी राख्नेलाई कानुनी दायरामा ल्याउनुपर्ने सुझाव दिन्छन्। 

जिल्ला प्रशासन कार्यालय कैलालीका तत्कालीन प्रशासकीय अधिकृत (हाल सरुवा) चिरञ्जीवी घिमिरेले पुनः कमलहरी बस्नेलाई पनि उद्धार गरिने बताउँदै तत्कालका लागि भने उद्धार गर्ने कुनै कार्यक्रम तय नभएको बताए। त्यसका लागि कुन उपाय अपनाउने भन्नेबारे भने छलफल भइरहेको उनले जानकारी दिए। 

गैरसरकारी संस्था बेस कैलालीका कार्यक्रम संयोजक श्रमलाल चौधरीले पनि उद्धार र पुनःस्थापना गर्ने जिम्मेवारी राज्यको भएको बताउँदै राज्यको काममा होस्टेमा हैंसे मिलाउने काममात्रै आफूहरूको भएको बताए। 

के हो कमलहरी प्रथा? 

तराईका पाँच जिल्ला कञ्चनपुर, कैलाली, बाँके, बर्दिया र दाङ रहनसहन, चालचलन, बोली, भाषा मिल्ने थारू समुदायको घना बसोबास रहेका जिल्ला हुन्। यी जिल्लाका थारू समुदाय माघी पर्वलाई नयाँ वर्षका रूपमा मनाउँछन्। वर्षभरिका लागि पारिवारिक र गाउँ समाजको योजना बनाउने काम माघीमा नै हुन्छ। 

थारू अगुवा तथा थारू नागरिक समाज कैलाली संयोजक दिलबहादुर चौधरीका अनुसार थारू समुदायले माघीमा परिवार, समाजका लागि योजना बनाउने क्रममा परिवारका कुन सदस्य कमैया बस्न जाने र कुन बालबालिका कमलहरी बस्ने भन्नेबारे छिनोफानो गर्दछन्। सोही क्रममा कोही अभिभावकले अर्काको (जमिनदार) खेतमा अधैयामा खेतीपाती गर्ने निर्णय गर्दछन् भने कसैले न्यून ज्यालामा घरेलु कामदारका रूपमा आफ्ना बालबालिकालाई पठाउने चलन रहिआएको छ। बालबालिकालाई अरुका घरमा काम गर्न पठाउने यस चलनलाई नै कमलहरी प्रथा भन्ने गरिएको संयोजक चौधरीको भनाइ छ। 

अशिक्षा एवं गरिबीको कारण थारू समुदाय कृषि पेशामा आश्रित समुदाय हो। यसले गर्दा पनि उक्त समुदायमा अझै कमलहरी प्रथा जरा गाडेर बसेको संयोजक चौधरीले जानकारी दिए। पछिल्ला केही वर्षयता जनचेतना वृद्धिसँगै कमलहरी राख्ने काममा उल्लेख्य कमी आएको चौधरीको भनाइ छ। 

बालश्रमको अवशेषका रूपमा मानिने कमलहरी प्रथा अन्त्य भएको घोषणा गरिएको पनि दुई वर्ष भइसकेको छ। २०७० साल असार १३ गते मन्त्रिपरिषद्को निर्णयले तराईका कैलाली, कञ्चनपुर, बाँके, बर्दिया र दाङ जिल्लास्थित कमलहरीलाई मुक्त गर्ने निर्णय गरेको थियो भने लगत्तै साउन २ गते उनीहरूको मुक्तिको घोषणा गरिएको थियो। घोषणासँगै राज्यले कमलहरीहरूको उद्धार, पुनःस्थापनासँगै शिक्षा, स्वास्थ्य, स्वरोजगारीको व्यवस्था गर्ने नीति तथा कार्यक्रम ल्याएको छ तर, प्रभावकारी कार्यान्वयन नहुँदा अझै पनि केही कमलहरी दासताको जञ्जिरमा छन् त केही आवश्यक सेवासुविधाबाट वञ्चित छन्। 

थारू समुदाय बाहुल्य रहेको तराईका यी पाँच जिल्लामा भने अझै कमलहरी लगाउने, घर फर्केकाहरू पुनः कमलहरी बस्ने क्रम जारी छ। यसले गर्दा कमलहरी मुक्तिसम्बन्धी सरकारी घोषणा कागजमा सीमित भएको देखिएको छ। 

ती पाँच जिल्लास्थित जिल्ला प्रशासन कार्यालय र कमलहरी क्षेत्रमा काम गर्दै आएका बेस, मुक्त कमैया महिला विकास मञ्च र मुक्त कमलरी विकास मञ्चले संयुक्त रूपमा तयार पारेको तथ्याङ्कअनुसार ती पाँच जिल्लामा १३ हजार १ सय ३५ कमलहरीमध्ये ५ सय १८ कमलहरीको उद्धार गर्न बाँकी देखिएको छ। हालसम्म १२ हजार ६ सय १७ जना कमलहरीमात्रै घर फिर्ता भएका छन्। 

उद्धार गर्न बाँकी कमलहरीमध्ये सबैभन्दा बढी कैलाली जिल्लामा देखिएको छ। जिल्ला प्रशासन कार्यालय कैलालीको तथ्याङ्कअनुसार कैलालीमा भएका ३ हजार ४ सय ११ कमलहरीमध्ये हालसम्म तीन हजार २ सय ३३ कमलहरीलाई उद्धार गरी परिवारको जिम्मामा लगाइएको तथा सुरक्षित स्थानमा पुनःस्थापना गरिएको छ। अझै १ सय ७८ जनालाई भने उद्धार गर्न बाँकी देखिएको छ। हाल त्यो सङ्ख्यामा ७३ जना नयाँ कमलहरी थपिएको प्रशासन कार्यालयको तथ्याङ्कमा उल्लेख छ। 

त्यस्तै कञ्चनपुर जिल्लाका एक हजार २ सय २ कमलहरीमध्ये एक हजार १ सय ४२ जनालाई उद्धार गरिएको छ। अझै ६० जनालाई उद्धार गर्न बाँकी देखिएको छ। बाँके जिल्लास्थित ५ सय ८३ कमलरीमध्ये ५ सय १९ जनाको उद्धार गरिएको छ भने ६४ जनालाई अझै उद्धार गर्न बाँकी रहेको जनाइएको छ। बर्दिया जिल्लाका दुई हजार ६ सय ७५ जनामध्ये दुई हजार ५ सय ५१ जनालाई उद्धार गरिएको छ भने १ सय २४ जनालाई अझै उद्धार गर्न बाँकी छ। यसैगरी दाङ जिल्लाका पाँच हजार २ सय ६४ कमलरीमध्ये पाँच हजार १ सय ७२ जनालाई उद्धार गरिएको छ भने ९२ जनालाई अझै उद्धार गर्न बाँकी छ। 

उद्धार र पुनअ स्थापनामा राज्यको उदासिनता 

कमैया तथा कमलहरी प्रथालाई निर्मूल गर्न राज्यले ऐन, नियम ल्याएको दशकौा बितिसकेको छ। राज्यले कमैया श्रम निषेध ऐन–२०५५, बाल श्रम ऐन–२०५६, बालबालिकासम्बन्धी ऐन–२०४८ जारी गरेको छ तर, ती ऐनले निषेध गरेको कमलहरी राख्ने काम भने जारी नै छ। कतै बाल श्रमिकका रूपमा त कतै बच्चा स्याहार्ने, घर हेर्ने कामका लागि कमलहरी राखिएको पाइन्छ भने कतै पढाइदिने बहानामा राख्ने गरिएको छ। 

ऐन कार्यान्वयन गर्ने निकाय जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालय हालसम्म कमलहरी उद्धारको कामलाई पूर्णता दिन असफल रहेका छन्। 

कैलाली जिल्ला प्रशासन कार्यालयले ०७० साल माघ १२ गते कमलहरी राख्नेको नाम पत्रपत्रिकामा सार्वजनिक गरेको थियो। त्यसको एक महिनापछि अन्तिम पटकका लागि भनेर पनि पत्राचार गरिएको थियो। उद्धारका लागि छापा मार्ने काम भने अझै गरेको छैन। 

कैलाली जिल्ला प्रशासन कार्यालयका तत्कालिन प्रशासकीय अधिकृत घिमिरे प्रमुख जिल्ला अधिकारी छोटो समयमै फेरिरहने भएको हुँदा ठोस कार्य हुन नसकेको स्वीकार गर्छन। कमलहरी राख्नेको नाममा पत्राचार भएपनि उद्धारको काम भने पर्याप्त मात्रामा हुन नसकेको उनले बताए। 

राज्यले कमलहरीहरूलाई समयमा उद्धार र पुनःस्थापना नगरेकै कारण धेरै कमलहरी बलात्कारको शिकारसमेत भएका छन् त कतिपयको हत्यासमेत भएको छ। हत्याका दोषीहरू भने हालसम्म खुलेआम घुमिरहेका छन्। कतिपय कमलहरी बालिका अवैध गर्भधारणबाट कुमारी आमा समेत बनेका छन्। 

लालमटिया दाङकी १२ वर्षीया कमलहरी सिर्जना चौधरीलाई २१६९ साल चैत १४ गते चाकुपाट ललितपुरस्थित उनको मालिकको घरमा मट्टितेल छर्की आगो लगाएर हत्या गरिएको थियो। मृतक कमलहरी सिर्जना चौधरीको हत्याका आरोपी युवराज पौडेल भने अझै कानुनी दायरामा नआएको बताउछन मुक्त कमलरी विकास मञ्चका कानुनी अधिकृत फकला थारु। उनी राज्यको उदासिनताका कारण हत्याराहरू खुलेआम हिंडिरहेको आरोप लगाउछन्। 

त्यस्तै कैलालीको टीकापुर–९ की १५ वर्षीया सरिता चौधरी २०६५ साल वैशाख २ गते दाङ लमहीको इन्द्रमणी खनालको घरमा झुण्डिएको अवस्थामा फेला परिन्। दाङको रामपुरकी १३ वर्षीया सीमा होजा मगरलाई पनि दाङको लमहीस्थित दङ्गाली होटलमा २०६४ साल पुस ३० गते मारेर झुण्ड्याइएको अवस्थामा पाइएको थियो भने कैलालीको धनगढीकी १५ वर्षीया उर्मिला राना थारु पनि धनगढीका प्रकाश विष्टको घरमा सोही अवस्थामा फेला परेकी थिइन्। कैलाली दैदवारी मुक्त कमैया शिविरकी २० वर्षीया मेघी चौधरीलाई दाङकै बालकृष्ण शाहको काठमाडौंको नयाँ वानेश्वरस्थित घरमा २०६८ साल भदौ १ गते जलाएर विभत्स तरिकाले हत्या गरिएको थियो। ती हत्याका कुनै पनि आरोपीलाई हालसम्म कारवाही नभएको बताउछन्, मञ्चका कानुनी अधिकृत थारु। 

यसैगरी १२ जना कमलहरी कुमारी आमा बन्न बाध्य भएकी तथा १४ जना कमलहरी वेपत्ता रहेको मुक्त कमलहरीको क्षेत्रमा वि्र्कयाशील संस्थाहरूको दाबी छ। 

 

कमलहरीप्रति राज्यको उदासिनताकै कारण उद्धार गरी पुनस्र्थापना गरिएका मुक्त कमलहरीहरूको शिक्षादीक्षा र आयआर्जनमा पनि समस्या सिर्जना भएको छ। मुक्त कमलहरीले पाउँदै आएको छात्रवृित्त रकममा समयानुसार वृद्धि नगरिएकोले होस्टेलमा बसी शिक्षा आर्जन गरिरहेका पूर्व कमलहरीहरूको शिक्षा आर्जनमा समस्या देखिएको पनि अधिकृत थारूको भनाइ छ। 

यसका अतिरिक्त कमलहरीहरूले परिचयपत्र नपाउनु र कमलहरीका लागि ल्याइएको निर्देशिका समय सुहाउँदो रूपमा संशोधन नहुनुजस्ता कारणले पनि समस्या उत्पन्न भइरहेको उनी बताउँछन्। 

परियोजना लम्ब्याउने खेलमा गैसस 

कमलहरी क्षेत्रमा काम गर्ने गैरसरकारी संस्थाहरूको बेइमानीका कारणले पनि कमलहरी उद्धार तथा न्यायिक पुनःस्थापनामा समस्या देखिएको छ। 

जिल्ला प्रशासन कार्यालय कैलालीमा कार्यरत एक कर्मचारीले नाम नबताउने शर्तमा भने, 'गैससहरूकै कारण पनि हामीले राम्ररी काम गर्न पाएका छैनौं। उनीहरू कमलहरीको तथ्याङ्कमा खेलाँची गरी आ–आफ्ना परियोजनाको अवधि लम्ब्याउने दाउमा लागेका छन्।' 

साथै उनले गैससहरूको हावादारी तथ्याङ्ककै कारण प्रशासनले कमलहरी फिर्ताका लागि पठाइएको पत्रमध्ये १७ वटा प्किर्ता भएको पनि बताए। उनले केही महिना अघि जिल्ला प्रहरी कार्यालयले छापा मार्ने कदम तत्कालै चाल्ने प्रस्ताव गर्दा गैससका कर्मचारीहरूले सहमति नजनाएकै कारण उक्त कार्य गर्न नसकिएको पनि बताए। 

त्यस्तै, गैससहरूले कमलहरीबारे तयार पारेको तथ्याङ्क अद्यावधिक नभएको पाइएको छ। केही समय कमलहरी बसे पनि हाल घर फर्केकाहरूका नाम पनि कमलहरी बस्नेको सूचीमा राखिएको छ। कैलालीको नारायणपुर–४ की १२ वर्षीया समन्त चौधरीको नाम कमलहरी बस्दै आएकाको सूचीमा देख्न सकिन्छ। समन्त चौधरीका बुवा सुन्दर चौधरीले तीन वर्षदेखि आफ्नी छोरी घरमै रहेको जानकारी दिए। 

त्यस्तै, टीकापुर–९ का मुक्त कमैया शनिराम चौधरी आफ्नी छोरी रिता चौधरी केही वर्षदेखि घरमै रहे पनि कमलहरीकै सूचीमा रहेको थाहा पाएपछि आश्चर्यचकित भएका छन्। 'मेरो छोरीको नाम कमलहरीको सुचीमा छ र हजुर?' उल्टै प्रश्न गर्दै उनले भने, 'मेरी छोरी दुईरतीन वर्षदेखि घरमै छिन्, कमैया र कमलहरीको नाउँ बेचेर खै के गर्न खोजेका हुन्  

गैससहरूले?”