September 4, 2018

समय सन्दर्भ

बाँकि समय सन्दर्भ
 

एक हप्तामा ५५ सय भूकम्प पीडितले घर निर्माणका लागि अनुदान पाउने

अबको हप्ता दिनभित्र आठ जिल्लाका ५ हजार ५ सय २ घरधुरी भूकम्प पीडितले घर पुनर्निर्माण गर्न सरकारले दिने अनुदानको पहिलो किस्ता पाउने भएका छन्। 

आइतबारदेखि एकैसाथ आठ जिल्लाका आठ वटा गाविसमा निजी आवास पुनर्निर्माणको लागि अनुदान सम्झौता सुरू भएको भूकम्पीय आवास पुनर्निर्माण कार्यक्रम केन्द्रीय आयोजना कार्यान्वयन एकाइका आयोजना निर्देशक घनश्याम वस्तीले जानकारी दिनुभयो। 

'भूकम्प पीडितलाई घर बनाउन सरकारले दिने अनुदानका लागि सम्झौता सुरू भएको छ। अनुदान सम्झौता भएको एक हप्ताभित्र घर पुनर्निर्माणको लागि पहिलो किस्ता दिनुपर्ने नीतिगत व्यवस्था छ।' वस्तीले भन्नुभयो।  

गोर्खा, धादिङ, नुवाकोट, रसुवा, ओखलढुङ्गा, सिन्धुली, रामेछाप र मकवानपुरमा हरेक जिल्लाका एक गाविसका भूकम्प पीडितसँग अनुदान सम्झौता सुरू गरिएको हो। 

अनुदान सम्झौताको तयारीको लागि राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको प्राविधिक तथा विज्ञहरूको टोली सम्बन्धित जिल्लाका गाविसमा पुगेका थिए। विज्ञहरूले स्थानीयस्तरमा राजनीतिक दल, स्थानीय प्रशासनसँग छलफल गरी पूर्वतयारी सम्पन्न गरेका थिए। 

कुन जिल्लाका कति पीडितले राहत पाउँदै छन्? 

आयोजनाका निर्देशक घनश्याम वस्तीका अनुसार सिन्धुलीका ११७८, काभ्रेको रविवतीका ९७०, नुवाकोटको खरानीटारका ४०८, रामेछापको ओख्राङ ७५९का, ओखलढुङ्गाको रूम्जाटारका ४७, रसुवाको ब्रिदीम १९३, धादिङको मार्पाक १००३ र गोर्खाको हंसपुर ९४४ भूकम्पले भत्किएका घर पुनर्निर्माणका लागि अनुदान सम्झौता सुरू भएको हो। तथ्याङ्क विभागले भूकम्पले अति प्रभावित १४ जिल्लामध्ये उपत्यकाबाहेक ११ वटा जिल्लामा भूकम्पबाट अति प्रभावित घरधुरीको तथ्याङ्क सङ्कलन गरिरहेको छ। हालसम्म ८० प्रतिशत घरधुरीको पहिचान भइसकेको पुनःनिर्माण प्राधिकरणले जनाएको छ। वैशाख १२ गते अगाडि नै भूकम्पले भत्काएका सबै घरधुरीको पहिचान भइसक्ने लक्ष्य राखिएको छ। 

दोलखाका ६ गाविसमा मात्रै ५३ घरधुरी 

प्राधिकरणले गत फागुन ३० गतेबाट दोलखाको लादु्रक र लामाबगर दुई गाविसलाई केन्द्रित गरेर सुरू गरेको थियो। दोलखाका ६ वटा गाविसमा ५ हजार ३ सय १३ घरधुरी अनुदान सम्झौता गर्न योग्य भएको पहिचान गरिएको छ। 

सिन्धुपाल्चोक छनोटमा परेन 

भूकम्प गएको वर्षदिन बित्नै लाग्दा पनि सिन्धुपाल्चोकको एउटा गाविसमा पनि अनुदान सम्झौता हुन सकेको छैन। स्थानीयले जिल्लाका हरेक निर्वाचन क्षेत्रका एक/एक गाविसमा यस्तो सम्झौता गर्नुपर्ने माग गरेपछि तत्कालका लागि स्थगित गरिएको वस्तीले जानकारी दिए। 

'हरेक निर्वाचन क्षेत्रको एक गाविसमा अनुदान सम्झौता गर्नुपर्ने माग आयो, जिल्लामा ३ वटा निर्वाचन क्षेत्र छन्। हाम्रो तयारी भइनसकेकोले केही दिनका लागि स्थगित गरेका हौं।' उहाँले भन्नुभयो। 

तथ्याङ्क विभागले मकवानपुर पालुङमा तथ्याङ्क सङ्कलन गरिरहेको उहाँले जानकारी दिनुभयो। 

कसरी दिइन्छ अनुदान? 

पहिलो चरणमा सम्झौता भएपछि पीडितको बैङ्क खातामा ५० हजार र दोस्रो किस्ता निर्माण कार्य भुइँतलासम्म आएपछि दोस्रो किस्ताको रूपमा ८० हजार र निर्माणको कार्य छाना छाउने स्तरसम्म पुगेपछि ७० हजार रूपैयाँ दिइने छ। 

भूकम्प पीडितलाई दिने सबै राहत अनिवार्य बैङ्कमार्फत भुक्तानी गर्ने सरकारी नीतिका कारण पहिलो चरणमा बैङ्कहरूको उपस्थिति भएका गाविस छनोट गरिएको वस्तीले बताए। बैङ्कको उपस्थिति नभएका ठाउँहरूमा भने प्राधिकरणले केन्द्रीय आयोजना समन्वय समितिमार्फत दोलखाका स्थानीय विकास अधिकारीकहाँ पठाइसकेको छ। बैङ्क र एलडीओबीच सेवा दिएबापत केही शुल्क दिने सम्झौता भइसकेको बताइएको  

छ।