September 4, 2018

समय सन्दर्भ

बाँकि समय सन्दर्भ
 

विशेष छ बिस्केट

राकस्था प्रत्येक नयाँ वर्षका दिन सिरहाको सलहेस फूलबारीको  हारमको रूखमा सुनाखरी आकारको फूल फुल्छ र साँझपख मौलाएर जान्छ। रूखमा वर्षको एकदिन एकाबिहानै फूल फुल्नु र साँझपख मौलाएर जानु रहस्य मानेर स्थानीयको मेला लाग्दोरहेछ। यता भक्तपुरमा चैतको मसान्तबाट सुरू बिस्केट जात्राले नयाँ वर्षकै स्वागत गरेको मान्न सकिन्छ। पुरानो वर्षलाई बिदाइ गरी नयाँ वर्षको स्वागत गर्ने सेतु बिस्केट जात्रा बनेको छ। वर्षको अन्तमा उठाइने र वर्षआरम्भमा ढालिने लिङ्गो र त्यसमा फहरिने ध्वजाले विजय उत्सवको सङ्केत गर्छ। हरेक वर्षमा नयाँ परिवर्तनको आह्वान बन्छ बिस्केट। समाजको परिवर्तनशील भावनाको शङ्खघोष बन्छ बिस्केट। 

प्रकृतिसापेक्ष चाड 

न उच्चाट गर्मी न ठिहिलो जाडो। वसन्त नाचेको वातावरण। बयँसको रूखमा लटरम्म पात पलाएको बेला। बकैनाको फूल झ्याम्मै फूलेको समय। कोइलिले वनपाखामा बसेर कुहू कुहू गरेको मौसम। भ्यागुतोले नयाँ पुस्तामा वंशाणु सार्ने मास। खेतीपातीको चटारो सुरू हुन हुन लागेको काल। यत्ति नै बेला भक्तपुर बासिन्दा रसरङ्गमा मगनमस्त छन्। प्रकृतिको सामञ्जस्यमा मनाइने पर्व, बिस्केट। प्रकृतिको पूजा हो, बिस्केट। विश्वकै पृथक वा मौलिक पर्व मनाउन पाएकोमा गर्वले पुलकित छ, पूरा भक्तपुर। त्यसैले बिस्केट विशेष पर्व बनेको छ।  

बिस्केट जात्राको सांस्कृतिक, धार्मिक, ऐतिहासिक महत्त्वबारे धेरैले गाथा गाएका छन्। अन्धविश्वास, दैवी शक्तिको भक्ति, देवी देवताको नाममा गरिने बली आदिलाई छुट्याउने हो र जाँड–रक्सीको अत्यधिक सेवन, जुवा–तास, तडकभडक आदिलाई कम गर्दै लगेर अन्त्य नै गर्ने हो भने नयाँ वर्षको अवसर पारेर अथवा सूर्यमासअन्तर्गत चैत मसान्तमा मनाइने बिस्केट जात्राजस्तो रमाइलो अरू पर्व नहोला। बिस्केट जात्रा विश्वकै निम्ति नमुना जात्राभन्दा फरक पर्दैन।  

बिस्केटको 'हस्से–हैंसे' ले सिकाउने सामाजिक एकताको पाठ अनुपम छ। एक–दुईको बलले ७०–८० फीटको लिङ्गो उठाउने सम्भव हुँदैन। हजारौं मानिसको उपस्थितिमा सयौं मानिसको प्रत्यक्ष बलको सामञ्जस्यमा लिङ्गो उठाइन्छ। लिङ्गोमा बाँधिएको डोरी तान्दा तालमेल मिलेन भने लिङ्गो उठ्न सक्दैन। सामूहिक भावना एवम् कार्यको यो उत्कृष्ट नमुना हो। बिस्केटकै क्रममा तानिने भैरवको रथको गतिको निम्ति पनि मानिसको बल/क्षमताको समन्वय उत्तिकै आवश्यक हुन्छ। यस मानेमा एकता नै बल भन्ने जीवन दर्शन बिस्केटले सिकाएको छ। यसर्थ भैरव रथकोे तानातानीले जीवनमा हुने द्वन्द्वको प्रतिकात्मक भूमिका खेलेको भन्दा पनि फरक नपर्ला। 

विज्ञान र प्रविधिको आँखामा 

विज्ञान र प्रविधिको आँखाबाट पनि बिस्केट जात्रा उत्कृष्ट मान्न सकिन्छ। काठै–काठको संयोजनमा (फलामको किलाको प्रयोग नभएको) र काठकै चुकुलको आधारमा बनेका जोर्नीबाट बनेको तीनतले भैरवको रथ सयौं मानिसले दुईतिरबाट तान्दा पनि न त ढल्छ, न त भत्किन्छ (जब्बरजस्ती हुँदा ठोक्किएर हुने क्षतिबाहेक)। दुईतिरबाट तानिएर उचालिन्छ र ढल्ला–ढल्लाजस्तो हुन्छ रथ तर साविक नै रहन्छ। रथमा बस्नेले अनुभव गर्लान् कति महाभूकम्प बराबर हल्लिन्छ – रथ। यही प्रविधिबाट बनेकै कारण तीन सयवर्ष पहिले बनाइएको सबभन्दा अग्लो पैगोडा शैलीको पाँचतले मन्दिर १९९० र २०४५ सालका ठूला भूकम्पलाई पनि चुनौती दिन सफल छ। ५५ हाते लिङ्गो उठाउन प्रयोग गरिने अडेसा (कालाँ सिं) राख्ने तरिका, डोरी बाँध्ने प्रविधि, लिङ्गोको फेदबाट टुप्पोसम्म चढ्ने कला नयाँ पुस्ताको निम्ति ज्ञानको खुला पुस्तक हुनसक्छ। 

बिस्केट जात्राको इतिहास करिब ५ सय वर्ष पुरानो छ। राजा भूपतिन्द्र मल्लको कालमा आज जस्तो तीनतले भैरवको रथ बनाउने प्रचलन सुरू भएको मानिन्छ। भैरवको रथमा प्रयोग हुने काठको जातले पनि हाम्रा पुर्खाको वैज्ञानिक चिन्तन उजागर हुन्छ। भैरवको रथको पाङ्ग्रा विशेष काठको हुन्छ। परम्परादेखि रथ बनाउने जिम्मेवारी सम्हाल्दै आएका प्रेमलाल शिल्पकारका अनुसार पाङ्ग्रा साम्दान  

(नेवारीमा नः सिं) को प्रयोग हुन्छ। साम्दान काठ बलियोमात्र होइन यो चर्किन्न, फुट्दैन र अत्यधिक घर्षणमा पनि मात्र खिइन्छ। रथ बनाउने कामको परम्परागत जिम्मा पाएका लक्ष्मीप्रसाद शिलाकारको भनाइ छ, साम्दान रूख काट्दा 'रगत' निस्किन्छ, यो भित्र भित्र रातो रङ्गको हुन्छ। साम्दान रूख काट्नु अघि अघिल्लो दिन रूखमा 'चोट' पारी छोडिन्छ र भोलिपल्ट रातो चोप निस्किए नस्किएको हेरिन्छ। रातो चोप निस्किएको खण्डमा रुख काटिन्छ।  

सङ्गीत र कला  

सङ्गीत र कलाको आँखाले हेर्दा बिस्केट एक उत्कृष्ट पर्व मान्दा फरक पर्दैन। जात्रामा बजाइने विविध बाजा, गाइने गानाले ठूलो मनोरञ्जन दिएको हुन्छ। प्रत्येक टोलमा रसरङ्गले महोत्सवमय हुन्छ, भक्तपुर। दाफा–भजनमा गाइने गीतको भाव पक्षबारे छुट्टै टिप्पणी होलान्। तर दुःख भुल्ने बाटो हुन्छ सङ्गीत। सङ्गीतको अध्ययन–अनुसन्धानको निम्ति बिस्केट सार्‍है महत्त्वको छ। बिस्केटका सकारात्मक पक्षबारे भने अझ धेरै उजागर गर्न बाँकी नै  

छ। 

शङ्का पनि उत्तेजना पनि 

एउटा आम धारणा छ, बिस्केटको लिङ्गो चैत मसान्तिमा उठेन भने अपसकून हुन्छ। त्यसो हुँदा कति मानिसमा निराशा, शङ्का र भय हुँदोरहेछ कतै अब अनिष्ट पो हुने हो कि भन्ने। 'देवता' रिसाए वा अरू कुनै कारणले लिङ्गो उठेन भन्ने दुस्वप्न पनि कतिले देख्दारहेछन्। वैज्ञानिक चिन्तन समाजको तल्लो तहसम्म नपुग्दाको परिणाम मान्न सकिन्छ यसलाई। अनिकाल मानिसको असावधानी, लापरवाही वा उदासीनता कारक हो भन्ने विषयमा सचेत बन्न–बनाउन अझ बाँकी छ भन्ने कुरा दर्साउँछ, यस्ता कुराले।  

पुर्खाको नासो  

लिङ्गो उठेपछि भने मानिसहरू संसारै जितेको महसुस गर्छन्, उन्मादले उफ्रिन्छन्, 'भाग्य' खोज्दै लिङ्गो चढ्ने प्रतिस्पर्धा हुन थाल्छ। मानिसहरू खुसीले उफ्रिन्छन्, चिच्याउँछन् र नाच्छन्। विजयको ध्वजा 'हलिं पत' फहरिन्छ। 'ख्वप देश' एकैपटक विजय उत्सवको चरम आनन्दमा लीन हुन्छ।  

मनोरञ्जनको अत्याधुनिक विधि–प्रविधि विकल्प हुदाँहुँदै पनि बिस्केट जात्राको रौनक घटेको  छैन। बरू टाढा अरू टाढाबाट मानिस थपिएको थपियै छ। देशको सीमाभन्दा परदेखिका मिसिएका भेटिन्छन्। बिस्केट हेर्न आन्तरिक र बाह्य पर्यटकको घुइँचो लाग्नुको कारण यही त हो। विश्वमा कतै नभएको नेपालको मौलिक चाडको प्रचार विश्वभर हुनुपर्नेमा कसैको मतैक्यता नहोला। भक्तपुरको व्यापार व्यवसाय बढ्छ। पर्यटकबाट आम्दानी बढ्छ। सांस्कृतिक पर्वले भक्तपुरलाई जीवन्त बनाउँछ। मात्रै कसले कस्तो भूमिका खेल्ने भन्ने त हो।