नयाँ वर्ष अर्थात् नयाँ सुरुवात
आज वैशाख १ गते अर्थात् आजबाट नयाँ वर्ष २०७३ को आरम्भ हुँदैछ। २०७२ सालमा नेपाल र नेपाली जनताले भूकम्प, तराई आन्दोलन र भारतको नाकाबन्दीजस्ता कारण अत्यन्त कष्टपूर्ण दिनहरू भोग्नुपर्यो। यस अर्थमा बितेको वर्ष सुरुदेखि नै नेपाली जनताले अपेक्षा गरेभन्दा निकै कष्टसाध्य सिद्ध भयो। तर हरेक कालो बादल वरपर चाँदीको घेरा हुन्छ भनेझैं कष्टपूर्ण समय भएर पनि अघिल्लो वर्ष नेपाली जनताले लामो समयको सङ्घर्षपश्चात नयाँ संविधान पाए। साथै भारतीय विस्तारवादले थोपरेको नाकाबन्दीको नेपाली जनताले कडा ढङ्गले प्रतिकार गरे। गएको वर्ष यस अर्थमा पूरै निराशाको वर्ष पक्कै भएन। यो नेपाली जनताले प्रत्यक्ष रुपमा आफ्नो देशको स्वाभिमान सङ्कटमा परेको र त्यसको प्रतिरक्षाको लागि खुलमखुल्ला लडेको वर्ष बनेको छ।
अघिल्लो वर्षको तुलनामा आगामी वर्ष कस्तो होला, त्यो त भविष्यको गर्भमै छ। तर विगतको मूल्याङ्कन गर्दा आगामी वर्ष पनि सहज र सरल हुने भने देखिएको छैन। नयाँ संविधान घोषणा भएको छ। तर त्यसको कार्यान्वयनमा हजारौं तगारा भएको समयक्रमले देखाइसकेको छ। यसको निम्ति नेपाली जनताले अझ कठिन दिनहरू झेल्न तयारी गर्नुपर्नेछ। आशावादी बन्ने नाममा कोरा कल्पनामा आधारित आशा बाँडेर हामी सही स्थानमा पुग्न सक्तैनौं।
शासक दलहरूका कमी–कमजोरी र भारतीय विस्तारवादको नेपाललाई आफ्नो उपनिवेशको रुपमा हेर्ने प्रवृत्ति नै संविधान कार्यान्वयनका प्रमुख चुनौतीहरू हुन्। यसको कुशलतापूर्वक व्यवस्थापन कसरी गर्ने भन्ने कुराको निर्धारण शासक वर्गको कार्यशैली र दूरदर्शितामा भर पर्दछ। तर भारतीय विस्तारवादसाम आत्मसमर्पण नगर्नु र नेपाली जनताको स्वाभिमानी भावनाको रक्षा गर्नु शासक दलहरूको अहम् दायित्व हो। नयाँ वर्षसँगै शासक दलहरू यस यर्थार्थप्रति गम्भीर नहुने हो भने यसको परिणाम आजबाट सुरु भएको वर्षमा थप भयावह हुनेछ। अघिल्लो वर्षको भूकम्पले पुर्याएको क्षतिभन्दा यो वर्ष शासक दलहरूले देशको हितविपरीत गर्ने निर्णयहरू थप देश र जनताको लागि दुःखदायी र सङ्कटपूर्ण हुनेछ। त्यस्तो नहोस्, यही शुभकामना।–सुमन
|