September 4, 2018

समय सन्दर्भ

बाँकि समय सन्दर्भ
 

भक्तपुरवासीमा अनुरोध

एक समय थियो–भक्तपुर फोहर र दुर्गन्धित। केही पत्रकारले भक्तपुरका जनतालाई होच्याएर 'भक्तपुरे र सुँगुर उस्तै' भनी लेख्थे। शिक्षित र पठित भनाउँदा र घनाढ्यहरू आफूलाई भक्तपुरे भनी चिनाउन चाहँदैन थिए। तर आज भक्तपुरले काँचुली फेरिसकेको छ। भक्तपुरका जनता र जनप्रतिनिधिहरूको निरन्तरको प्रयास र सङ्घर्षपछि भक्तपुर एसियाकै एक सफा नगरमा दर्ज भएको छ। ऐतिहासिक सम्पदा, संस्कृति तथा जात्रा–पर्वहरूको जीवन्त तथा संरक्षित सहरको रुपमा विश्वले हेर्ने गरेको छ। त्यसमाथि भक्तपुर नगरपालिकाले सञ्चालित कलेजहरूले भक्तपुरलाई शिक्षाको केन्द्रको रुपमा पनि हेर्ने गरिएको छ। भक्तपुरका जनतालाई इमानदार र मेहनतीको रुपमा हेरिएका छन्। त्यसैले भक्तपुरे भन्दा आज गौरवको अनुभूति हुन्छ। अन्य मानिसहरूले पनि भक्तपुरलाई राम्रो नजरले हेर्ने गरेको पाइन्छ। जिल्ला बाहिर भ्रमणमा जाँदा ठाउँ–ठाउँका ऐतिहासिक सम्पदाको जीर्णोद्वारमा भक्तपुरका शिल्पी र मेहनती जनताको योगदान रहेको सगर्व सुनाउँछन् चाहे त्यो मुस्ताङ्गको मुक्तिनाथ मन्दिर होस्, चाहे गोरखा दरबार होस्, चाहे सुर्खेतको काँक्रेविहार होस्, चाहे मनकामना मन्दिर नै। 

स्थानीय निकायलाई कसरी आत्मनिर्भर बनाउने भनी हामीले भक्तपुरबाट सिकेका हौं भनी अरु जिल्लावासीले सुनाउँदा र एक घर एक स्नातक, शिक्षा र पर्यटनको केन्द्र भक्तपुरको सपना विषयमा अरुले कुरा गर्दा हाम्रो शीर उँचो हुन्छ। तर त्यही भक्तपुरको ऐतिहासिक एवं विशिष्ट प्रकारको बिस्केट जात्रालाई ढुङ्गा हान्ने जात्राको रुपमा चित्रण गर्दा हामीले शिर निहुराउनु परेको छ।  

भक्तपुरका मेहनती र शिल्पी हातहरूको यसमा दोष नहोला। तत्कालीन शाषक वर्गले भक्तपुरका सङ्घर्षशील र न्यायप्रेमी जनतालाई विभाजित गर्न षड्यन्त्र गर्ने गरेका तथ्यहरू पनि बाहिर नआएको होइन। यद्यपि देशको हरेक राजनीतिक आन्दारुलनमा अग्रपङ्क्तिमा रही योगदान गरेको भक्तपुरका जनताले चाह्यो भने जात्रालाई शान्तिपूर्वक मनाउन सकिन्छ भन्ने उदाहरण पनि हामीसँग नभएको होइन। 

यो ऐतिहासिक, सांस्कृतिक र विशिष्ट प्रकारको बिस्केट जात्रा हाम्रो हो। जात्रालाई व्यवस्थित, मर्यादित र राम्रो बनाउने दायित्व पनि हाम्रै हो। के बाल, के वृद्ध, के महिला सबैले भयरहित भई जात्रा हेर्ने सहभागी हुने हर्षोल्लास गर्ने वातावरण बनाउने कर्तव्य पनि हामै्र हो। त्यसैले बिस्केट जात्रामा ढुङ्गा हान्ने जात्रा भनी लागेको कलङ्कलाई मेटाउन अब भक्तपुरवासीले ढिला गर्नु हुँदैन। भक्तपुरबासी हरेकले चिन्तन र छलफल गरुन्। झगडा लगाउन खोज्नेलाई चिनून्। ढुङ्गा हान्नेलाई हामी आफैले समाऔं, त्यसो नगर्न सम्झाऔं बुझाऔं। बिस्केटको काणबाट भक्तपुरवासीले लज्जित हुनुपर्ने अवस्थालाई सदाको लागि अन्त्य गरौं। बिस्केट जात्रा सबैले शान्तिपूर्वक हर्षोल्लासका साथ ढुक्क भएर मनाउने वातावरण बनाऔं। नयाँ वर्ष २०७३ तथा बिस्केट जात्राको सबैमा हार्दिक मङ्गलमय शुभकामना। 

एलेन श्रेष्ठ, मध्यपुर