September 4, 2018

समय सन्दर्भ

बाँकि समय सन्दर्भ
 

यस्तो होस् वर्ष ०७३

सूर्य खड्का 

सूर्य मीन राशिबाट मेष राशिमा प्रवेश गर्ने सङ्क्रान्ति अर्थात् वैशाख सङ्क्रान्ति विक्रम संवतको २०७३ औं संस्करणको पहिलो सन्ध्यामा पनि नेपाली जनमन हल्लिए। म्यानमारमा गएको शक्तिशाली भूकम्पको धक्काले पूर्वी नेपाल र राजधानी सम्मलाई थर्थराउँदा बुनिंदै गरेका नेपाली जनमनका नयाँ सपना र योजनाहरू फेरि एकपटक तर्सिए। वर्ष ०७२ लाई प्रारम्भदेखि नै कालो बनाउने त्यही भूकम्प र त्यसको मध्यान्तरमा थपिएको भारतीय नाकाबन्दीको कहर नसिदिदैको यो थप कम्पनले नववर्ष २०७३ लाई सुखद् नबनाउने हो कि भन्ने सन्त्रास सर्वसाधारणमा फेरि फैलेको छ। 

सरकारले भूकम्प प्रभावित क्षेत्रमा बहानै बहाना देखाएर नगरेको पुर्ननिर्माण र सन्निकट बर्खाले पनि भूकम्प पीडितलाई तर्साइरहेकै छ। क्यालेण्डरको प्रतिस्थापनका साथ यथास्थितिमा रहेका चुनौती सामना गरेर अघि बढ्न लम्के चम्केका लाखौं मन मस्तिष्कहरू त्राही–त्राहीकाबीच पनि आ–आफ्ना अग्रगमनका खातिर सङ्घर्षरत नै छन्। यसै अर्थमा आकस्मिक वा प्रायोजित जुनसुकै खाले प्रहारका बीच पनि नयाँ वर्ष सम्पूर्णतामा सुखद् पार्न उद्धत पाइलाहरूलाई गर्नैपर्छ सलाम, भन्नैपर्छ ह्याप्पी न्यू ईयर २०७३। 

सूर्यले मीन राशिको भोग समाप्त गरी मेष राशिबाट भोग सुरु गर्ने वर्षको जेठो दिन अर्थात २०७३ वैशाख १ गते स्वदेश वा विदेशमा रहेका नेपालीले एक–आपसमा जुन प्रकारको सकारात्मक उत्साहप्रद शुभकामना आदान–प्रदान गरे, हो त्यही शब्द शुभेच्छा व्यवहारमा बदलियो भने मात्रै पनि पक्का छ बन्नेछ वर्ष ०७३ वास्तवमै सुखद र सफल। पौराणिक विश्वास जस्तै दुःखहरू केबल बनून् विगत इतिहास। भूकम्पले हल्लाए पनि, सरकारले अल्झाईरहे पनि जनताले दृढ मन बनाएर साँचेका नविन सपनाहरू, गरेको अठोटहरू, देखाएका सकारात्मक पहलकदमीहरू सफल बनुन ०७३ सालमा। 

देशैले दुःख पाएको ०७२ का काला दिनहरूको निरन्तर घच्घच्याहटका बाबजुत फेरि पनि प्रत्येक व्यक्तिका मनहरू बलिया हुनु नै छ। पीडा, वियोग र बिछोडहरू शक्तिमा रुपान्तरित हुनु नै छ। अभाव, दबाब र तनावहरू नयाँ बिहानी आउनु पूर्वका कालखण्ड मात्रमा कैद हुनु अनिवार्य नै छ। नववर्षको बिहानै स्नान गरेर, घर, कोठा–आँगन सफा गरेर, मीठोमीठो खाएर, साथीसङ्गी तथा इष्टमित्रसँग भेटघाट गरी एकआपसमा व्यक्त शुभकामनाहरू सार्थक पार्न जनजनले आआफ्नो तह तप्काबाट जे जति सकिन्छ, त्यति योगदान गर्न सकेमात्रै काफी हुनेछ वर्ष ०७३ लाई उज्यालो बनाउन, समृद्ध पार्न। 

विक्रमादित्यले चलाएको संवत् भएकाले यो संवत्लाई विक्रम संवत् भनिए पनि यो त केवल सपना, सङ्घर्ष र सफता विफलताहरूको आत्मासमीक्षा र मूल्याङ्कन र पुनःमूल्याङ्कनको एक मेलो हो। गल्तीबाट सवक सिकेर अघि बढ्न नयाँ तौर–तरिका खोज्ने एक बहाना हो, जो नववर्षको आवरणमा ३६५ दिनको चक्रपारपछि दोहोरिदिने गर्छ, हरसाल। 

१. यस पृष्ठभूमिमा गरौं अपेक्षा प्रथमतः उज्यालो नेपालको, समृद्ध नेपालको। ऊर्जामन्त्री टोपबहादुर रायमाझीका सबै उद्घोषहरू हुबहु कार्यान्वयन हुन सकून्। सेतो सुनको धनी देश अब लोडसेडिङको अँध्यारोमा बस्नै नपर्ने अवस्था बनाइयोस्। देशभरिका चालू वा नयाँ सबै विद्युत आयोजनाहरू तोकिएकै समयमा पूरा होऊन्। विद्युत घरघरमा त पुगोस् नै, नेपालले विद्युत बेच्ने हदसम्मको पुगी सरी आओस् देशलाई। सौर्य, बायोग्यास तथा अन्य वैकल्पिक ऊर्जाका योजनाहरू पनि भैजाउन् पूरा रातारात। प्रधानमन्त्री केपी ओलीले पाइपबाट घरघरमा ग्यास दिने वा हावाबाट बिजुली उत्पादन गर्न देखेका सबै सपना साँच्चै हुन सकून् यथार्थ। 

२.सुल्झिजाओस् मधेसको समस्या। नहोस फेरि मधेस आन्दोलन। संविधानको संसोधनद्धारा उधारो सङ्घीयताका विवादित सीमाङ्कन सबै दलको आपसी 'गिभ एण्ड टेक'का आधारमा वैशाखभित्रै सल्टिन सकून्। यति छिटो सङ्घीयताको सीमा वा नागरिकताका विवाद मिलून् कि अब कुनै पनि जनताले फेरि यस्ता मुद्दामा आन्दोलनको कल्पनै गर्न नपरोस्। जनजाती तथा अन्य उत्पीडित वर्गले पनि यो मेरो व्यवस्था भनुन् गणतन्त्रलाई, यो मेरो संविधान भनून् संविधानलाई। अनि त कार्यान्वयन भै जाँदा संविधान कसो सफल नहोला ०७३ साल? अनि हुन सकोस् स्थानीय चुनाव पनि जहाँ जनताका नेता जनताले पाउन् चुन्न। 

३.बर्खाअघि नै सकियोस पुर्ननिर्माण। एक वर्षसम्म भूकम्पको प्रहारले ध्वस्त बनेका जनताका घर बनाउन बिफल सरकारले अब जनको घर बनाउन  भोलि हैन आज, आज हैन अहिल्यै थालोस्। सरकारी ढिलासुस्ती खारेज होस्। आवश्यक परे भूकम्प प्रभावित क्षेत्रमा सङ्कटकाल लगाएर भए पनि थालियोस् पुनर्निर्माण। देशैभरका सबै सम्पदाहरू पूर्ववत हुन सकून यो साल। भाँच्चिएका सबै धरोहरहरू जोगिउन्, ढलेका जती उठून्। अनि कसो नबन्ला नयाँ साल सार्थक? पुर्ननिर्माण प्राधिकरणले अब काममा नजाने कर्मचारीलाई कोर्रा हान्न आँट गरोस्, भ्रष्टाचार गर्नेलाई रेडह्याण्ड कारवाही गर्ने ओली वचन सत्य होस्। दाताको सहयोग सदुपयोग होस्, जनताले आउँदो बर्खा आफ्नै छानामुनी रात काट्न पाउन्। सुस्त प्राधिकरण बिजुली गतिमा लम्कोस्, कुरौटे सरकार फिल्मी शैलीमा काममा जुटोस्। 

४. शिक्षा, स्वास्थ्य, पर्यटन, यातायात, खेलकुद, चलचित्र, उद्योग लगायतका क्षेत्रमा कुनै बाधा अवरोध बिना काम हुन पाओस्। पाठशाला वा विश्व विद्यालयहरू राजनीति र हड्तालमुक्त अर्थात् व्यवहारमै शान्ति क्षेत्र बन्न सकून्। बिरामी लुट्ने आतङ्क निजी वा सरकारी कतै अस्पतालमा नहोस्। गाउँ गाउँमा डाक्टरको बास होस्। नक्कली डा. सखाप होऊन्। बिनारोकतोक र झन्झट सुचारु होस् यातायात क्षेत्र। सडक दुर्घटनाहरू शून्यमा झरुन्। खेलकुदमा चम्किरहुन् नेपाली प्रतिभाहरू। बनून् चलचित्रहरू हलिउड र बलिउडलाई नै माथ खुवाउने खालका। देशभरका उद्योग हड्ताल रहित निर्वाध चल्न सकून्। नयाँ उद्योगको बाढी आओस्। रोजगारीमा सतप्रतिशत बढोत्तरी होस्, स्वदेशी रोजगारी सर्वत्र सहज होस् , बाध्यात्मक वैदेशिक रोजगारीमा विराम लागोस्। किसानहरू मालामाल होउन, उद्यमीहरू, रोजगारदाताहरूको घरमा लक्ष्मीको राज होस्। देशविदेशका पर्यटकहरूले भरिन सकून् सुन्दर सहरहरू। 

५. छिमेकको कुदृष्टि नपारोस्, सबै विदेशी हुन सकून् हितैषी। आत्मनिर्भरताको जग नबसेको बेला गतसाल जस्तो मधेशीको मुखुण्डोमा दक्षिण छिमेकले नलागाओस् कुदृष्टि। भारत नेपालको कटुता बनोस् कठोर सम्झना मात्रै। छिमेकका घरमा आगो झोस्ने र रहर नहोस् दिल्लीको। उत्तरी चीनसँगका सबै सम्झौता र समझदारीहरू कार्यान्वयन हुन सकून्। प्रधानमन्त्रीले भनेजस्तै देशभर पुगोस् रेल, नहोस् विकासको काममा झेल। सबै विदेशी बनून् देश विकासका हितैषी र सहयोगी। मुल कुरा कुनै पनि बहानामा नहोस् कलह। न्यायालय शुद्ध रहोस्,  सबैले छिटो न्याय पाउने तीर्थ बनोस्। काठमाडौंको सत्ताले दिल्लीलाई मुख्यालय देख्ने दृष्टि फुटोस्, राष्ट्रिय एकतामा नै बल भन्ने सदबुद्धि दललाई मिलोस्। कामचोर कर्मचारीको नास होस, कामकाजीहरूको सदा जय होस्। 

यस्तै–यस्तै हुन् जनजनका अपेक्षा। के यी अपेक्षालाई उपेक्षा नगर्न तयार छ त ओलीसत्ता र उस मातहतका सरकारी संयन्त्रहरू? कम्तिमा नयाँ वर्षको शुभघडीमा शुभ चिताऔं कि सरकार कामकाजी भैदिंदा सुखान्त बन्न सकोस् ०७३ साल। यी जनअपेक्षा नबनून् देउसी भैलोका रोमाञ्चक आङ्शिकमात्रै है सर्खार? शुभकामना यसै अर्थमा।