September 4, 2018

समय सन्दर्भ

बाँकि समय सन्दर्भ
 

गलत कामलाई हतोत्साही पार्नुपर्छ

एभिन्युजन टेलिभिजनको खबरभित्रको खबर सुनेर खबर भित्रै रहेर केही कुरा पोख्न मन लाग्यो। सन्दर्भ गर्भपतन गर्ने महिलाहरूको सङ्ख्या वृद्धिसम्बन्धी हो। गर्भपतन गर्ने भर्खरका युवतीहरूको ताँती देख्दा र सङ्ख्या हेर्दा असह्यमात्र होइन पीडाबोध भयो। त्यसबारे अभिभावक, नागरिक समाजका प्रबुद्ध वर्ग, शिक्षाप्रेमी, बुद्धिजीवी, राजनीतिक दलका नेेता र कार्यकर्ता, सरकार तथा अन्य सरोकारवाला निकायको ध्यान नगई सुखै छैन। समाजको चिन्ता र चासो सन्तानको रहर पुगिसकेका आमाहरूले गर्भपतन गर्दाको होइन। कसैको अनिच्छापूर्वक या कसैको जबरजस्ती यौन सम्पर्कबाट गर्भधान रहन गयो भने गर्भपतन गराउनुलाई अन्यथा मान्न मिल्दैन। तर उमेर नपुगेका, बिहे नभएका भर्खरका १६/१७ वर्षका युवतीहरूको गर्भपतन गराउने सङ्ख्या बढ्नु समाजको निम्ति चिन्ता र चासोको विषय बनेको छ। 

छाडा घुमेर, होटेल र रेष्टुराँमा रात बिताएर गर्भधान हुनु राम्रो लक्षण होइन, यो राम्रो सङ्केत पनि होइन। विवाह नभएका या भर्खर कलेजमा पाइला टेकेका युवतीहरूको गर्भाधान हुने र गर्भपतन गराउने रोगलाई हतोत्साही गर्नैपर्छ। अस्पताल सूत्रअनुसार नै गर्भपतन गराउने अविवाहित या भर्खरका तन्नेरीहरूको दसौं हजार सङ्ख्या पुग्नु सामान्य होइन। अस्पतालमा चिकित्सकको सल्लाहमा औषधि खाएर या चिरफार गरेर गर्भपतन गराउने सङ्ख्या नै हजारौं हजार पुग्छ भने अन्य व्यक्तिगत स्वास्थ्यकर्मीहरूको सम्पर्कबाट भएको त लेखाजोखा नै छैन। के यसलाई असुरक्षित यौन सम्पर्क भनेर त्यसै छोड्न मिल्छ? बेलैमा समाजका सबै पक्ष नियन्त्रण गर्ने या आ–आफ्ना सन्तानलाई सम्झाइ बुझाइ गरिएन भने गर्भपतन गराउनेहरूको सङ्ख्या दिन दुगुणा बढ्नेमा शङ्का छैन। 

विवाह नहुँदै गर्भधान हुनु र गर्भपतन गराउनु समयको माग र आवश्यकता होइन। यो स्वाभाविक छ भनेर एउटा गल्ती छोप्न अर्को गल्ती गर्ने दुस्साहस गर्ने होइन। अरुलाई परेसम्म चासो नराख्ने र आफ्ना छोरीहरूलाई परेपछि मात्र होस् पुर्‍याउने या चासो राख्ने काम पनि गलत हो। गलत कामलाई हतोत्साही पार्ने हो, स्थान दिने होइन। 

कोहिनुर श्रेष्ठ