कठोर मौसम र विश्वव्यापी आर्थिक वृद्धि
केनेथ रोगोफ
अन्तर्राष्ट्रिय मुद्राकोष
(आईएमएफ) ले हालै गरेको एक अनुसन्धानले के देखाएको छ भने अल निनो वर्षहरूमा (खासगरी खडेरीका कारण) अष्ट्रेलिया, भारत, इण्डोनेशिया, जापान र दक्षिण अफ्रिकाजस्ता देश सबैभन्दा बढी पीडित हुन्छन् र अमेरिका, क्यानडा र यूरोपजस्ता केही देशहरूलाई चाहिँ लाभ हुन्छ।
केनेथ रोगोफ
केही समय अघिसम्म बृहत् अर्थशास्त्रीहरूको सोचाइ के हुन्थ्यो भने मौसमको अल्पकालीन उथलपुथलले आर्थिक गतिविधिमा त्यत्ति धेरै प्रभाव पार्दैन। मार्च महिनाको मौसम सामान्यभन्दा निकै नरम भयो भने निर्माण क्षेत्रमा कामदार भर्नादर अघि पछि भन्दा सुदृढ हुनसक्छ, तर त्यसको फलस्वरूप अप्रिल र मे महिनामा कर्मचारी भर्नादर घट्न सक्छ। अगष्टमा बढी पानी परेर उपभोक्ताले कम खरीद गरे पनि सेप्टेम्बरमा पुगेपछि खर्च बढिहाल्छ।
तर, अहिले अभूतपूर्व रूपमा कडा खालको 'एल निनो' प्रभाव परेको सन्दर्भमा हालै गरिएको अर्थशास्त्रको एउटा अनुसन्धानले भने यसबारे पुनर्विचार गर्नुपर्ने देखाएको छ। 'एल निनो' भनेको एउटा जटिल किसिमको विश्वव्यापी जलवायु घटना हो, जसअन्तर्गत प्रशान्त महासागरको इक्वेडर र पेरूको समुद्री किनाराका नजीकैको भागमा पानी अत्यन्तै तातो हुन्छ।
जटिल मौसमले अल्पकालीन बृहत् आर्थिक तथ्याङ्कलाई पक्कै पनि बिगारिदिन्छ। यसले अमेरिकी रोजगारीमा मासिक १ लाखको सङ्ख्याले रोजगारी थप्न पनि सक्छ अथवा घटाउन पनि सक्छ। अमेरिकी रोजगारी परिदृश्य विश्वमै सबैभन्दा बढी हेरिने आर्थिक तथ्याङ्क हो र यसलाई सबैभन्दा सही आर्थिक सूचकमध्ये एउटा मानिन्छ। यस वर्षको एल निनोजस्तो मौसमसँग सम्बन्धित घटनाहरूको प्रभाव विश्वव्यापी हुने भएको कारण तथ्याङ्कमा पनि यसको प्रभाव ठूलै हुनसक्छ। यस वर्षको एल निनोलाई ठ्याक्कै भन्नुपर्दा 'एल निनो साउदर्न ओसिलेसन' भनिन्छ।
अन्तर्राष्ट्रिय मुद्राकोष (आईएमएफ)ले हालै गरेको एक अनुसन्धानले के देखाएको छ भने अल निनो वर्षहरूमा (खासगरी खडेरीको कारण) अष्ट्रेलिया, भारत, इण्डोनेशिया, जापान र दक्षिण अफ्रिकाजस्ता देश सबैभन्दा बढी पीडित हुन्छन् र अमेरिका, क्यानडा र युरोपजस्ता केही देशहरूलाई चाहिँ लाभ हुन्छ। उदाहरणको लागि, कैयौं वर्षदेखि चर्को खडेरीको सामना गरिरहेको क्यालिफोरनीयामा अन्ततः पानी पर्न थालेको छ। सामान्यतः (सधैं होइन) एल निनोले महँगी पनि बढाउँछ र यसको आंशिक कारण के हो भने न्यून फसलको कारण अङ्कको मूल्य बढ्छ।
म बस्ने गरेको सहर बोष्टनले दुई ओटा अति नै चरम सर्दी याम भोग्यो। यहाँका मानिसलाई 'मौसमले खासै महत्त्व राख्दैन' भन्यो भने उनीहरूलाई यसमा विश्वास दिलाउन निकै गार्हो हुनेछ। गत वर्ष बोष्टनमा हालसम्मकै सबैभन्दा धेरै हिउँ परेको थियो। कतिसम्म भने हिउँ थुपार्ने ठाउँ नै बाँकी रहेन। चार लेनको सडक साँघुरिएर दुई लेनको बन्यो अनि दुई लेनको चाहिँ एक लेनको भयो। छानाहरू खसे अनि नालीमा जम्मा भएको 'आइस ड्याम'को कारण ठूलो बाढी नै आयो। सार्वजनिक यातायात बन्द भए अनि मानिसहरू आफ्नो काममा जान सकेनन्। यो 'स्लो मोशन'मा चलेको प्राकृतिक विपत्ति महीनौंसम्म सामना गर्नुपरेको थियो।
सन् २०१५ को पूर्वार्द्धमा न्यू इङल्याण्डले भोगेजस्तो चरम चिसो हिउँदको सामना अमेरिकाले कहिल्यै गर्नुपरेको थिएन। अनि त्यो मौसमको समग्र अर्थतन्त्रमा परेको प्रभाव भने कम नै थियो। हो, न्यूयोर्क सहरमा निकै धेरै हिउँ पर्यो। तर, त्यहाँका मेयरले सडकको हिउँ पन्छाउन सकेको भए कसैले पनि त्यो मौसमबारे त्यति धेरै चासो दिने थिएनन्। बरु पूर्वी क्यानडाले धेरै नै दुःख सहनुपर्यो। अत्यन्तै चिसोले गर्दा त्यहाँ कमोडिटिजको भाउ घट्यो रे 'मिनी–रिसेशन' ल्याउन यसैले निकै ठूलो भूमिका खेल्यो।
यसपालिको जाडो मौसम गत वर्षको भन्दा नितान्त उल्टो थियो। वि्र्कसमसको अघिल्लो दिन बोष्टनको लोगान विमानस्थलको तापक्रम २१ डिग्री सेल्सियस थियो र नयाँ वर्षको अघिल्लो दिनमात्रै फाट्टफुट्ट हिउँ देखा पर्यो। वसन्त ऋतुको आगमन भएजस्तो भान परेर रूख–बिरुवाहरूमा फूल फुल्न थालेको थियो भने चराचुरुङ्गी पनि त्यसै गरी झुक्किएका थिए।
गएको जाडो महिनामा बोष्टनको अवस्था असामान्य थियो। यो वर्ष भने एल निनोको कारणले उत्ताउलो मौसम नै 'नयाा सामान्य' बन्न पुग्यो। रूसदेखि स्वीट्जरल्याण्डसम्म जहाँ त्यहीँको तापक्रम ४ डिग्रीदेखि ५ डिग्री सेल्सियससम्मले बढ्यो र मौसमी प्रवृित्त हेर्दा यो वर्षको मौसमी ढाँचा निकै असामान्य नै रहने देखिएको छ।
यसले विकासशील राष्ट्रमा पार्ने प्रभाव बढी चिन्ताको विषय हुनसक्छ। किनकि चिनियाँ अर्थतन्त्रमा आएको सुस्तीले कमोडिटिजको भाउमा परेको नकारात्मक प्रभावको चपेटामा अधिकांश यस्ता राष्ट्र आइसकेका छन् र खडेरीको कारण बाली घट्ने सम्भावना पनि उच्च छ। 'शताब्दीकै एल निनो' भनेर चिनिने सन् १९९७–१९९८ को एल निनोले पनि अधिकांश विकासशील राष्ट्रमा ठूलो झट्का दिएको थियो।
मौसममा एल निनोले पार्ने प्रभावजस्तै यसले अर्थतन्त्रमा पार्ने प्रभाव पनि त्यत्तिकै जटिल छ, त्यसकारण यसलाई अनुमान गर्न कठिन छ। भविष्यमा गएर सन् २०१६ को सिंहावलोकन गर्दा जिम्बाबे र दक्षिण अफ्रिकामा खडेरी र खाद्ययान्न सङ्कटको अवस्था रहेको तथा इण्डोनेशियाको वन डँढेलोजस्ता कारण एल निनोलाई २०१६ मा केही प्रमुख राष्ट्रको आर्थिक अवस्थाको प्रमुख कारक तत्त्व का रूपमा लिइने सम्भावना छ। उता अमेरिकी मध्यपश्चिम क्षेत्र भने हालै आएर बाढीबाट पीडित बनेको छ।
मौसमले नागरिक आन्दोलनमा पनि महत्त्वपूर्ण प्रभाव पारेको लामै इतिहास छ। मध्ययुगमा बोक्सीका नाममा मानिस (विशेषगरी महिला) लाई जिउँदै जलाइएका घटना जुनजुन बेला अत्यधिक बढेका थिए ती सबै आर्थिक, गरिबी र मौसमसँग सम्बन्धित कारणले भएको खाद्यान्न अभावका घटनासँग सम्बन्धित थिए भन्ने अर्थशास्त्री एमिली ओष्टरले तर्क गरेकी छन्।
त्यस्तै केहीले सिरियाको गृहयुद्धको जरो पनि खडेरीकै घटनामा पहिल्याएका छन्। खडेरीको कारण बालीमा भएको नोक्सानीले गर्दा थुप्रै किसान सहरतर्फ बसाइ सरेको कारण गुहयुद्ध सुरू भएको उनीहरूले देखाएका छन्। अझ तुच्छ तहमा (तर आर्थिक रूपमा निकै अर्थपूर्ण रूपमा) भन्नुपर्दा अमेरिकाको तातो मौसमले गर्दा अमेरिकी केन्द्रीय बैङ्क फेडरल रिजर्भ (फेड) ले ब्याजदर कहिले बढाउने भन्ने निर्णय गर्दा प्रयोग गर्ने रोजगारीको सङ्ख्या भने झुक्याउने खालको हुनसक्छ। हो, रोजगारी तथ्याङ्कलाई पहिले पनि सामान्य तापमान क्षेत्रमा हुने मौसमी भिन्नताका आधारमा समायोजन गर्ने नै चलन छ। वसन्त ऋतुको तुलनामा जाडो महीनामा निर्माण क्षेत्रको रोजगारी अलि कम नै हुन्छ। तर, सामान्य मौसमी समायोजनले ठूला मौसमी भिन्नताको पर्याप्त लेखान गर्न सक्दैन।
समग्रमा, विगतका 'एल निनो' घटनाहरूले के देखाएका छन् भने हालको ठूलो 'एल निनो'ले विश्वव्यापी आर्थिक वृद्घिमा महत्त्वपूर्ण पदचिह्न छोड्नेछ। यसले अमेरिका र युरोपमा आर्थिक पुनर्बहालीलाई सघाउनेछ भने अहिल्यै कमजोर भइसकेका उदीयमान अर्थतन्त्रहरूमाथि थप दबाब पार्ने छ। अझै विश्वव्यापी तापक्रम बढेको अवस्था भइसकेको छैन। तर पनि यो आर्थिक वृद्धिकोे महत्त्वपूर्ण घटना हो र सम्भवतः के आउँदै छ भन्ने कुराको हल्का स्वादमात्र हो।
अन्तर्राष्ट्रिय मुद्राकोष
(आईएमएफ) का पूर्वप्रमुख अर्थविद् केनेथ रोगोफ हार्वर्ड युनिभर्सिटीमा अर्थशास्त्र तथा सार्वजनिक नीतिका प्राध्यापकसमेत छन्।
|