यस्तो होस् फेसबुक
स्टाटसको रुपमा राखिएका र कहीँ कतैबाट सेयर गरिएका सामग्रीहरू सकभर सबैलाई सकारात्मक प्रभाव पार्ने, पूर्ण जानकारी र सन्देश दिने हुनुपर्छ। अपूर्ण , दोहोरो अर्थ लाग्ने, अश्लील शब्द प्रयोग गरिएको, कुनै व्यक्तिको प्रतिष्ठामा दाग र धक्का लाग्ने, सामाजिक वितृष्णा फैलाउने खालका, धार्मिक र जातीय दङ्गा फैलाउने खालका सामग्रीहरू भुल गरेर पनि पोस्ट वा सेयर गर्नै हुँदैन।
फेसबुक सामाजिक सञ्जाल भएकोले यसको प्रयोग निश्चित व्यक्तिलाई लक्षित गरेर भन्दा पनि जनसमुदायमा रहेर सबैलाई लक्षित गरेर सबैलाई हित र उपयोगी हुने सामग्री राख्नुपर्छ। व्यक्तिगत सूचना र सन्देश आदानप्रदान गर्नको लागि त फेसबुककै मेसेन्जर वा मेसेज इन बक्सको प्रयोग गर्न सकिन्छ।
कुनै विशेष फोटोहरू, भिडियोहरू पोस्ट गर्दा भने साथीहरूलाई विशेष अवसर, क्षण, उत्सवबारे जानकारी, भावना र कौतुहलता मेट्ने हुँदा उपयोगी नै हुन्छ। तर अनावश्यक रुपमा अपाच्य पोजहरू प्रस्तुत हुने फोटो र भिडियोहरूले पनि खासै सकारात्मक सन्देशहरूको सञ्चार हुनसक्दैन भन्नेतर्फ पनि सोच्नुपर्छ।
अनावश्यक, देखावटी र अरुलाई भ्रममा पार्ने सामग्री नराख्दा नै राम्रो। किनकि तपाई आफूले फेसबुकमा व्यक्त गर्ने भावना, विचार र समावेश गर्ने सामग्रीले स्वयं तपार्इंको आचरण, सोचाइको दायरा, व्यक्तित्व र ज्ञानको लेबललाई प्रस्तुत गरिरहेको हुन्छ। यसैले जे जति सामग्रीहरू फेसबुकमा राख्नु हुन्छ, औचित्य र केही न केही सन्देश दिनेखालको राख्दा उत्तम हुन्छ।
फेसबुक प्रयोगकर्ताकै कारण समाजमा सबैको मन तोड्ने हैन कि आपसमा जोड्ने हुनुपर्छ।
आजकल सर्वत्र फेसबुकमा ग्रुप च्याट चल्ने गरेको छ। कतिपयहरूको गुनासो पनि सुनिन्छ कि विनाजानकारी कसले, किन, कुन प्रयोजनको लागि ग्रुपमा संलग्न बनायो, पत्तै भएन, टाउको दुखाइ भयो भन्नेहरू पनि छन्। तर, ग्रुपच्याट आफैमा खराब हो भनेर भन्नै सकिँदैन।
किनकि निश्चित् लक्ष्य र मिसनसहित आपसमा छलफल गरेर केही व्यवसायिक, सामाजिक, राजनैतिक वा अन्य काम गरौं भन्ने हो भने यो अति उपयोगी हुन पनि सक्छ। –प्रकाश श्रेष्ठ
|