दुर्व्यसनी रोक्न ध्यान दिने कि?
ठाउँ ठाउँका चिया पसलहरूमा किशोर उमेरका केटाकेटीहरू चुरोटमा सुर्ती निकालेर गाँजा भरेर सल्काइरहेको देख्न सक्छौं। अलिक एकान्त ठाउँहरूमा नशाले लठ्ठ किशोर किशोरीहरू एकोहोरिरहेको हामी भेट्टाउन सक्छौं। तिनीहरू विभिन्न किसिमका नशालु लागू औषधको दुर्व्यसनमा फसेका हुन्। हाम्रो समाजमा धेरै बालबालिका तथा युवकहरू लागू औषध प्रयोग गरिरहेका छन्। दुर्व्यसनीकै कारण तिनीहरूको पढाइ बिग्रिरहेको छ, दैनिक जीवन अस्तव्यस्त बनिरहेको र भविष्य अन्धकारतिर धकेलिंदै गएको छ तर थोरैले मात्र चिन्ता लिएका छौं। कतिपय लागू औषध बेचेरै लखपति र करोडपति बनेका छन्।
नेपालमा अहिले दुई लाखको हाराहारीमा लागू औषध प्रयोगकर्ता भएको सरकारी तथ्याङ्क छ तर वास्तविकता त्यो भन्दा धेरै बढी हुनसक्छ। युवा पुस्ता यसरी दुर्व्यसनीमा फस्नु केही परिवारमात्र होइन समुदाय, समाज र देशकै निम्ति ठूलो नोक्सानी हो। त्यसैले दुर्व्यसनीमा फस्न लागेकालाई सचेत पार्ने, फसिसकेकालाई उचित उपचारमार्फत् सुधार्ने र लागू औषध कारोबारीलाई अलिकति पनि मोलाहिजा नराखी कानुनी कारबाही गराउनु र गर्नु जिम्मेवार नागरिक र निकायको कर्तव्य हो। आर्थिक लाभको प्रलोभनमा लागू औषध बेच्नेमाथि मोलाहिजा राख्नेहरू पनि कारोबारी सरह नै कसुरदार हुन्। समुदाय, समाज र देशको सेवा गर्छौ भन्ने सबैले लागू औषध दुर्व्यसनी रोक्न मनैदेखि ध्यान दिने कि?
–प्रकृति
|