पुनः म्याद थप असह्य कदम दोधारमा एनेकपा (माओवादी)
जेठ १४ नजिकिंदै गर्दा देश झन्झन् भड्खालोमा फस्दै गइरहेको छ। नेपाली जनतालाई फेरि एकपटक नक्कली कम्युनिष्टहरूमार्फत् छलछाम गरेर गुमराहमै पार्न खोजेको र जनआन्दोलनका उपलब्धिहरूलाई छिनभरमै निमित्यान्न पार्न खोजिंदै छ। यस ऐतिहासिक घडीमा देशका ठूला दल एनेकपा (माओवादी) संविधानसभाको निर्वाचनमा जनतालाई बाँडेका सपनाहरू एक एक गरेर 'लेनदेन' को नाममा छोड्दै गइरहेको छ। एकीकृत माओवादी पार्टीको निम्ति यो 'चमत्कार' होला तर जनता यसलाई धोका ठान्छन्। यदि साँच्चै जनताको विश्वासको कदर गर्ने हो भने आफ्नो प्रतिबद्धताअनुसार र जनचाहनाबमोजिम दैनिक जनजीविकासँग सम्बन्धित समस्याको सम्बोधन नयाँ संविधानले गर्नुपर्छ र त्यस्तै संविधान ल्याउने 'हिम्मत' ठूलो दलको हैसियतले एनेकपा (माओवादी) ले गर्नुपर्छ। जेठ १४ मा संविधान नआउने वातावरण नबनेकै यदि हो भने माओवादीले 'गणराज्य' घोषणा गरेझैं जनतालाई अधिकार सम्पन्न गराएको 'जनसंविधान' घोषणा गर्ने आँट गर्नुपर्छ। जनतालाई अधिकार दिइएको संविधान घोषणा गर्न कुनै पनि शक्तिले छेक्न सक्दैन र जनताको सदा साथ रहने पनि पक्का छ। – सुनिल बोहजू |