September 3, 2018

समय सन्दर्भ

बाँकि समय सन्दर्भ
 

द्वन्द्व व्यवस्थापनसम्बन्धी सन् २००३ मा श्रीलङ्काको अध्ययन भ्रमण –२ समुद्र किनारमा डुल्न जाँदा


    हाम्रो बसाइ सुविधासम्पन्न 'ताज समुद्र' होटलमा भयो। होटलको सामुन्ने चौडा सडक र त्योसँगै समुद्र जोडिएको थियो। बिहानै हामी समुद्रको किनारामा डुल्न गयौं। का. प्रेम सुवाल र म दुईजना मात्रै थियौं। समुद्रको छेउमा सिरसिर हावा चलिरहेको थियो। मानिसहरू समुद्र किनारामा डुल्न धेरै आउँदारहेछन्। युवा–युवतीहरूका जोडीहरू धेरै देखिन्थे। समुद्रका छालहरू कलकल आवाजका साथ विस्तारै विस्तारै हामी बसेतिर अगाडि आउन्थे, भित्तामा पुगेर ठोकिन्थे र फेरि उही बाटो फर्किन्थे। पानीको सतहदेखि २०/३० मिटर परपरसम्म छालहरू आउँथे। त्यहाँ रहेका फोहर, पातपतिङ्गरहरू सोहरेर लान्थे। नुहाउने मान्छेहरू लुगा फुकालेर पानीभन्दा केही पर पर बसिरहन्थे। निरन्तर आइरहने छालहरूले छोप्थे र आफ्नो स्नान कर्म पूरा गर्थे।
    हामीलाई त्यो दृश्य हेरिरहुँजस्तो लाग्थ्यो। अहा ! कस्तो रमणीय ! कस्तो सुन्दर ! त्यस्तो समुद्रमाथि बडेमाका मालबाहक पानीजहाजहरू निरन्तर आइरहने दृश्य देख्दा त कसको पो मन लोभिंदैन र।
    हामी भूपरिवेष्ठित मुलुकका नागरिक भएर पनि त्यस्तो भएको हुनसक्छ। थुप्रै युवा, वृद्धवृद्धाहरू शारीरिक व्यायाम गरिरहेका, आरामका लागि बनाइएका कुर्सीमा बसेर गफिंदै गरेका थिए भने कोही कसैलाई वास्ता नगरी आफ्नै सुरमा डुलिरहेका थिए। त्यहाँको दृश्य हेर्दाहेर्दै युरोपेली र अन्य विभिन्न देशका पर्यटकहरू नेपाल भ्रमणमा आउने कुराको सम्झना भयो। चाँडीझैं टल्केका हाम्रा हिमालहरू, लालीगुराँस फुल्ने हरिया जङ्गलहरू देख्दा ती पर्यटकहरूको मन कसो हर्षित नहोला? काष्ठकलाका उत्कृष्ट नमुनाहरू ५५ झ्याले दरबार, पाँचतले मन्दिर अनि भैरवनाथको मन्दिरले विश्वभर नै भक्तपुर र नेपालको परिचय दिइरहेको सम्झ्यौं। यही गम्दै हामी आफ्नो बाटो लागिरह्यौं।
    ठगहरू कुन देशमा हुँदैनन् ! पूँजीवादी देशहरूमा त नहुने कुरै भएन। हामी डुल्दै गएको देखेर एकजना अपरिचित मान्छे आएर उसले हामीलाई बौद्ध धर्मावलम्वी सम्झेर ठग्ने कोसिस गर्‍यो। उसले बुद्धको प्रशंसा गर्दै विभिन्न विहारहरू देखाउन लाने बतायो। उसको कुरामा वास्ता नगरेपछि फेरि हिन्दू हो भनी प्रश्न गर्‍यो। हामीले आफूहरू नेपाली भएको बताएपछि हिन्दू धर्मसँग सम्बन्धित विभिन्न मन्दिरहरूको चर्चा गर्न थाल्यो। नजिकै भनेकोले हामी एकछिन हेरौं न भनी उसँगै लाग्यांै। पछि विभिन्न बहानाले उसले हामीलाई ठग्ने कोसिस गर्‍यो। प्रहरीको सहयोग मागेपछि कुलेलम ठोक्यो।
    हाम्रो निर्धारित कार्यक्रमअनुसार गोष्ठीमा ठीक समयमै उपस्थित भयौं। श्रीलङ्काको शान्ति प्रक्रियाबारे बुझ्ने हामी सबैको चाहना थियो। सहजकर्ताको रूपमा उपस्थित लिज फिलिप्सनले श्रीलङ्काको शान्ति प्रक्रिया र नेपालको शान्ति प्रक्रियाबीचको समानताबारे सङ्क्षिप्तमा जानकारी दिनुभयो। सहभागीहरूले थुप्रै जिज्ञासाहरू राख्नुभएको थियो। शान्ति, शक्ति र राजनीति, विश्वास निर्माण र द्वन्द्वको चक्र लगायतका बारेमा सहभागीहरूबीच छलफल चलाइयो। 
    स–साना समूहमा विभाजन गरी चलाइएको छलफलमा सहभागीहरूले प्रजातन्त्रको पुनःस्थापनापछि पनि जनताको इच्छा सम्बोधन नभएको, माओवादीले शेरबहादुर देउवासमक्ष राखेका ४० बुँदाको सम्बोधन नभएको, २०४७ सालको संविधानप्रति दरबार सन्तुष्ट नभएको लगायतका विचारहरू व्यक्त गर्नुभयो। त्यसैगरी सरकार–माओवादीबीच भएको युद्धविराम वार्ता र शान्ति प्रक्रियाको लागि विश्वासको वातावरण बनिरहेका विचारहरू पनि छलफलमा व्यक्त भयो। 
    समूहगत छलफल चलाउने, छलफलमा उठेका कुराहरू नदोहोरिने गरी बुँदाहरू टिपोट गर्ने र समूहको तर्फबाट त्यसलाई पूर्ण छलफलमा प्रस्तुत गर्ने प्रक्रियाअनुसार दोस्रो दिनको कार्यक्रम सम्पन्न भयो। 
केण्डी सहरको भ्रमण ३ मई २००३ (२० वैशाख २०६०)
    कार्यक्रमअनुसार आज केण्डी सहर भ्रमणको दिन हो। बिहान ७ः३० बजे नै श्रीलङ्काको प्रसिद्ध सहर केण्डीतर्फ लाग्यौं। राजधानी कोलम्बोबाट करिब १२० किमि दुरीमा रहेको उक्त सहर श्रीलङ्काको दोस्रो महत्त्वपूर्ण सहर हो। श्रीलङ्काको अन्तिम राजाको राजधानीसमेत मानिएको उक्त सहर पहाडी क्षेत्रमा अवस्थित छ। समुद्र सतहदेखि ४६५ किमि (१५२६ फीट) उचाइमा अवस्थित उक्त सहरका ठाउँठाउँमा मन्दिरहरू र विहारभित्र विभिन्न आकारका बुद्धका मूर्तिहरू राखिएका छन्।
    गौतम बुद्ध एक दार्शनिक थिए। उनले विश्वलाई बुद्ध दर्शन दिए। संसारमा करोडांै जनता बुद्ध दर्शनलाई आत्मसात गर्दैछन्। केण्डी सहरमा बुद्धलाई एक दार्शनिकको रूपमा भन्दा इश्वरको रूपमा पुजेको पायौं। धेरै श्रद्धालुहरू बुद्धलाई इश्वर नै मान्दारहेछन्।
    प्रशासनिक र धार्मिक केन्द्रसमेत रहेको उक्त सहर केन्द्र प्रदेशको राजधानी र केण्डी जिल्लाको सदरमुकाम हो। युनेस्कोले केण्डी सहरलाई सन् १९८८ देखि विश्व सम्पदा सूचिमा समावेश गरेको हो। त्यहाँ अवस्थित प्रशासनिक भवनहरू र मानव निर्मित ताल त्यहाँको मुख्य आकर्षण हो। विभिन्न भवनहरू, मन्दिरहरू हामीले अवलोकन गर्‍यौं। पुरातात्त्विक महत्त्व बोकेका थुप्रै वस्तुहरू पनि त्यहाँ प्रदर्शित थिए। बुद्धको दाँत रहेको विश्वास गरिएको दन्त मन्दिर पनि अलग बनाइएको छ। सिंहमरमर (ग्रेनाइट) द्वारा निर्मित उक्त मन्दिर सार्‍है नै सुन्दर छ। 
    पहाडको उच्च भागमा बुद्धको विशाल मूर्ति राखिएको छ। केण्डी उपत्यकाको जनुसुकै ठाउँबाट पनि त्यसलाई देख्न सकिन्छ। हरिया पहाडहरूको बीचमा रहेको बुद्धको मूर्तिको नजिक पुग्न नसके पनि हामीले टाढैबाट अवलोकन गर्‍यौं। पुराना दरबारहरूलाई व्यवस्थित रूपमा विकास गरिएको हुँदा केण्डी श्रीलङ्काको पर्यटकीय गन्तव्यस्थल बन्ने धेरै सम्भावना छ।
    पछिलो जनगणनामा १,१०,०४९ जनसङ्ख्या भएको उक्त सहरमा दुईतिहाइ जनसङ्ख्या सिंहालीहरूको छ। निश्चित सङ्ख्यामा अन्य जाति वा समुदायका जनता पनि बसोबास गर्छन्। त्यहाँको जनसङ्ख्या सिंहाली ७७,५६० (७०.४८ प्रतिशत), श्रीलङ्काली मुरहरू १५,३२६ (१३.९३ प्रतिशत), श्रीलङ्काली तामिलहरू ९४२७ (८.५७ प्रतिशत) भारतीय तामिलहरू ५३४५ (४.७७ प्रतिशत) र अन्य २४८९ (२.२६ प्रतिशत) बसोबास गर्छन्। 
    पुरातात्त्विक, ऐतिहासिक, सांस्कृतिक र धार्मिक महत्त्व बोकेका थुप्रै दरबारहरू र मन्दिरहरू अवलोकन गर्‍यौं। दन्त मन्दिर पुरानो राजदरबारको एक भाग मानिन्छ। हाल ती दरबारहरूमा केन्डी अधिराज्य र ब्रिटिश शासन कालका थुप्रै महत्त्वपूर्ण वस्तुहरू सङ्ग्रहित छन्। हाल केही दरबारलाई सङ्ग्रहालयको रूपमा विकास गरिएको पाइयो। कतिपय भवनहरू ब्रिटिसकालीन समयमै बनाइएको बताइन्छ। थुप्रै महत्त्वपूर्ण संस्थानहरू, कपडा उद्योग, फर्निचर, सूचना प्रविधिलगायतका उद्योगहरू स्थापित छन्।
    बिहान करिब १०ः३० बजेतिर हामी श्रीलङ्काको एउटा हात्ती संरक्षण केन्द्र पुग्यौं। फिनावालास्थित हात्ती संरक्षण केन्द्रमा हात्ती पालुवाहरू दर्जनौं हात्तीलाई खोलामा प्रदर्शन गदर्ैै थिए। पर्यटकहरू आउने समय हेरेर हात्ती प्रदर्शन गर्ने र त्यसबाट उनीहरू आम्दानी पनि गर्दा रहेछन्। पर्यटकहरू हात्तीसँगै बसेर फोटो खिच्ने र त्यसबापतमा उनीहरू केही पैसा असुल्ने गर्थे।
    खोलामा छाडिएका हात्तीलाई हेर्न मिल्ने गरी ठाउँठाउँमा होटलहरू बनाइएका छन्। ती होटलहरू निजी र सरकारी गरी दुईखालका छन्। निजी होटलमा बसेर दृश्य अवलोकन गर्न चाहनेले त्यसबापत छुट्टै पैसा तिर्नुपर्छ र सरकारीमा भने त्यो थप पैसा लाग्दैन। होटल प्रवेशमै रू.२००।– भाट भने सबैले तिर्नुपर्छ। हाम्रो भ्रमण टोलीका सदस्यहरूले एकसाथ सयौंको सङ्ख्यामा रहेका हात्तीहरू आपसमा खेलिरहेका दृश्यहरू आ–आफ्नो क्यामेरामा कैद गरे।
    काजु प्रशस्त पाइने ठाउँ हो – श्रीलङ्का। हामी पुगेका धेरै ठाउँहरूमा काजु, नरिवल र केराका बोटहरू प्रशस्तै थिए। हरिया जङ्गलहरूबीच बाटो हुँदै साँझ हामी पुनः होटल फर्क्याै। दिनभरिको भ्रमणबाट हामी थकित थियौं। तैपनि नयाँ नयाँ ठाउँहरू जान पाएकोमा हामी खुशी नै थियौं। मई ३ को दिन पनि हाम्रो समय अध्ययन भ्रमणमै बित्यो।