September 3, 2018

समय सन्दर्भ

बाँकि समय सन्दर्भ
 

एमालेले सच्याउनै पर्ने गल्ती


    एमालेका एकजना कार्यकर्ताले भने, 'माधव नेपालको महासचिव कालमा भएका सबभन्दा गम्भीर भूल पार्टीभित्र जातीय सङ्गठनहरू बनाउनु हो।' जातीय मुद्दा उछालेर माओवादीले आफ्नो सङ्गठन अपहरण गर्ने भयले एमाले पनि जातीय सङ्गठन खोल्नतिर लाग्यो। सिद्धान्तलाई धोती लगाएर गरेको त्यो पापको फल आज एमाले भोग्दैछ।
    'बुधबार नयाँ बानेश्वरस्थित एक रेस्टुरेण्टमा भेला भएका आदिवासी–जनजाति, मधेसी, दलित, मुस्लिम समुदायका एमाले सभासद्हरूले अधिकार प्राप्तिका लागि कारबाही भोग्नुपरे पनि तयार हुने प्रतिबद्धता जनाए।' (नागरिक दैनिक, ११ जेठ)
    जातीय प्रान्तहरूको पक्षमा एमालेका सभासद्हरूले पनि हस्ताक्षर गरेपछि अत्तालिएको एमालेले ती सभासद्हरूलाई अनुशासन कारबाहीको चेतावनी दिए। तर त्यो अस्त्रको पनि उनीहरूमा कुनै असर नपरेपछि एमाले नेतृत्वको साँच्चै सात्तो उडेको छ। बुधबार आफूलाई 'पार्टी निर्णयविपरीत नजाने' मा हस्ताक्षर गराउने नेतृत्वको चालबाजी बुझेर उनीहरूले 'कारबाही भोग्ने तर पहिचानसहितको जातीय प्रान्तको मुद्दा नछोड्ने' घोषणा गरे। अझ एमालेका नेता अशोक राईले पार्टी विभाजनसमेतको घुर्की सुनाए। यो अवस्था एमालेका निम्ति निल्नु न ओकल्नु भएको छ।
    सिस्नु रोपेर तुल्सी उम्रन्न। एमालेले रोपेको सिद्धान्तहीनताको सिस्नु तुल्सी बनेर उम्रन सक्दैन। 'जीवन सिद्धान्तको लागि होइन, सिद्धान्त जीवनको लागि हो' भन्ने मदन भण्डारीको भनाइलाई साक्षी थापेर सिद्धान्तको मामिलामा कदम–कदममा सम्झौता गर्ने एमाले अब फेरि एकपटक 'मर्नु न बाँच्नुको दोसाँध' मा पुगेको छ।
    का. रोहित भन्नुहुन्छ, 'सिद्धान्तमा खेल्नु हिमालमा चिप्लेटी खेल्नुजस्तै हो।' एमालेले सिद्धान्तसँग खेँलाची गर्‍यो र यतिखेर ऊ रोकिनै नसकिने स्खलनको ओरालो झर्दैछ। सस्तो लोकप्रियता र मतदाता रित्तिने भयले सिद्धान्तको ख्याल नगर्दा कुनै समय नेपालकै विशाल पार्टी दाबी गर्ने एमालेको आधार आगामी केही वर्षमा हेर्नलायक हुनेछ।
    एमालेले यस्तै अर्काे गल्ती पनि गरिरहेको छ। ब्राह्मण–क्षत्रीको आन्दोलनको नाममा सडकमा देखिने अनुहारहरू प्रायः एमालेका कार्यकर्ताहरू छन्। यस्तै ताल रहने हो भने एमाले निकै चाँडै 'आदिवासी–जनजाति महासङ्घ' बन्ने पक्का छ। यो वास्तविकताप्रति एमालेका नेताहरूले हेक्का राखेका छन् वा छैनन्। साँच्चै एमाले एउटा राजनीतिक पार्टीको रुपमा जीवित रहने हो भने यो गल्ती सच्याउनैपर्छ।