September 3, 2018

समय सन्दर्भ

बाँकि समय सन्दर्भ
 

'पार्टी कार्यकर्ताका केही खोटपूर्ण दृष्टिकोण र निराकरण' मा घोत्लिंदा – ३

यहु प्रकाश
    एकजना पार्टी सदस्य स्वाभाविक रुपले राजनीतिक कार्यकर्ता हो र जनसमुदायलाई शिक्षित र रुपान्तरण गर्नलाई राजनीतिक गतिविधि सञ्चालन गर्नु एक राजनीतिक कार्यकर्ताको दायित्व हो। पार्टीले आफ्ना सदस्यहरूलाई विचारधारात्मक शिक्षा दिने कार्यलाई उच्च स्थान दिंदैन भने राजनीतिक कार्यकर्ताको रुपमा तिनीहरूले आफ्नो कर्तव्य निभाउन सक्दैनन् र विचारधारात्मक रुपले शिथिल हुनसक्छन्। केही सत्तासीन समाजवादी पार्टीहरूमा देखापरेका क्रान्तिका विश्वासघातीहरू सुरुदेखि नै समाजवादविरोधी थिए भन्न सकिंदैन। ती पार्टीहरूले आफ्ना पार्टी कार्यकर्ता र सदस्यहरूलाई क्रान्तिकारी शिक्षा दिने र प्रशिक्षित गर्ने कार्यलाई बेवास्ता गर्दाको परिणास्वरुप  केही मान्छेहरू विस्तारै पतित भएर धोखेबाज भई निस्केका थिए। यसबाट पाठ सिकेर हामीले सधैं नै कार्यकर्ता र पार्टी सदस्यहरूलाई क्रान्तिकारी शिक्षा प्रदान र प्रशिक्षित गर्ने कार्यमा प्राथमिकतासाथ ध्यान पुर्‍याउनुपर्छ।...
    छैठौं, '..... एक कम्युनिष्टको निम्ति एउटा विद्यालय, एउटा कार्यालय, आफ्नो पसल वा ज्यासल, कलेज वा कारखाना तथा योजना नै संसार र जीवनको वा अन्तिम उद्देश्य नै एउटा साँगुरो क्षेत्रलाई बनाइयो भने भोलि अवकासपछि, योजनापछि वा सरुवा पछि आफ्नो भन्ने के होला? .....' यसमा जीवनको वृद्धावस्थामा पार्टी जीवनको महत्त्व र पार्टी जीवनबाट टाढिनाले भोग्नुपर्ने मानसिक पीडालाई सङ्केत गरेको छ। यहाँ एउटा विद्यालय एउटा कार्यालय र पसललाई पनि पार्टी कार्यमा सघाउ पुर्‍याउने उपायहरू सम्बन्धमा छलफल चलाउनुपर्छ। महत्त्वपूर्ण जीवनका घडी पार्टीमा बिताएको, पार्टीलाई बिगार्ने, भड्काउनेजस्ता पार्टीविरोधी गतिविधि नगरिकन पछि आएर निष्कृय भएको र वृद्धावस्थाको रोगले च्यापेर निको पनि नहुने र कालले पनि नलगेर वर्षौं वर्ष ओछ्यानमा पीडादायक जीवन बिताउनुपर्ने र परिवारजनले पनि उत्तिकै दुःख र पीडा भोग्नुपरेको स्थितिमा घरका मान्छेहरूले जीवनको अमूल्य समय पार्टीमा बितायो, आज यस्तो अवस्थामा खोइ कोही पाइला टेक्नसम्म पनि आएन, शिष्टता भनेकै नभएका मान्छेहरूले के पार्टी चलाउलान् र के क्रान्ति गर्लान् ...' भन्ने गुनासो गर्छन्। यस सम्बन्धमा पनि गम्भीर छलफल हुनुपर्ने देखिन्छ।
    गौरव प्रधानद्वारा लिखित 'कार्यकर्ता जनताका प्रतिनिधि' गम्भीर चिन्तन मननले भरिएको समसामयिक लेख हो। त्यसमा उल्लेख गरेका केही मननयोग्य पक्षहरू निम्न छन्:
– पार्टीको सिद्धान्त र विचार आफै प्रचार हुँदैन, आफै जनतामाझ पुग्दैन। ... जनता सचेत र सङ्गठित गर्न असल कार्यकर्ताको खाँचो हुन्छ।...
– कति कार्यकर्ताहरू पैसाको निम्ति राजनीति गर्छन्, व्यक्तिगत स्वार्थ पूरा गर्न राजनीतिमा हाम फाल्छन्।
– कार्यकर्ताहरू जनतामाझ पुगेर र सङ्घर्ष र आन्दोलनमा लागेर परिपक्व हुन्छन्। तिनीहरूले जनताको दुःख र समस्या बुझ्छन्। समस्या समाधानको निम्ति सम्बन्धित निकायको ध्यानाकर्षण गर्छन्। ध्यानाकर्षण आन्दोलन गरेर .....
– ठूलो गल्ती नभएसम्म टुलुटुलु हेरेर बस्ने र पछि हिलोछ्याप्ने काम गर्दा सङ्गठन र आफ्नै निम्ति नोक्सान हुन्छ।
– कता कता कार्यकर्तामा सामाजिक सेवा, समुदायको सेवाबाट पछि हटेका हुन् कि भन्ने अनुभव हुन्छ। कार्यकर्ताको काम सिद्धान्त र विचारको प्रचार गर्नुमात्र होइन, सामाजिक सेवा गरेर जनताको सेवा गर्नु पनि हो।
– कति पार्टी कार्यकर्ताबाहेकका अरु योग्य, सक्षम र असल व्यक्तिहरू पार्टीको प्रत्यक्ष काममा संलग्न हुँदैनन्, संलग्न हुन चाहँदैनन्। तर, तिनीहरूले भित्रभित्र समर्थन गरिरहेका हुन्छन्, कार्यकर्ताहरूलाई हौसला दिएका हुन्छन्।
    आज पार्टीको विषयमा चिन्तनमनन गर्नेहरूको झन् तड्कारो आवश्यकता भएको छ। भनिन्छ, थोपाथोपा पानीले समुद्र बन्छ। कोही अर्थशास्त्रमा, कोही शिक्षामा, कोही इतिहासमा, ज्ञान र सीप भएका थुप्रै साथीहरू 'निष्त्रि्कय शक्ति' को रुपमा रहेको छ। नसक्नेले दिनको ५ मिनेट भए पनि र अरुहरूले आफ्नो अवस्थाअनुसार एक दुई घण्टा सकेको जति समय दिएर आ–आफूसँग भएको ज्ञान पार्टीको विषयमा चिन्तनमनन गरी लेख लेख्ने र विभिन्न सीप भएका साथीहरूले आफूलाई मिलाएर पार्टीलाई सघाउ पुग्ने क्रियाकलापमा ५ मिनेट १० मिनेट सके जति समय दिने हो भने अप्रत्यक्ष रुपले पार्टीको विभिन्न सङ्गठनहरूको विकासमा सघाउ पुग्छ। सक्रिय कार्यकर्ता 'निष्त्रि्कय शक्ति' र जनताको लागि अनि निष्त्रि्कय शक्ति र जनता कार्यकर्ताको लागि, कार्यकर्ता 'निष्त्रि्कय शक्ति' र जनता पार्टी र नेताको लागि अनि पार्टी र नेता जनताको लागि अथवा 'एक सबैको लागि, सबै एकको लागि भन्ने भावनामा कार्य हुन्छ भने कोही कसैबाट चित्त दुखाएर बस्नुपर्दैन। भनौं, कार्यकर्तालाई मात्र आलोचनाको केन्द्रविन्दु बनाउँदा आफूभित्रको समस्या, व्यथा, दुःख दर्दलाई लुकाएर आँसु पिउँदै कुनै गुनासो नगरी पार्टी कार्यमा इमानदारीपूर्वक लागिपरेका कार्यकर्ताहरूको मन दुखाउने कार्य त भइरहेको छैन भन्ने विषयमा सचेत हुनुपर्ने देखिन्छ। यसको आशय पार्टीभित्रका गलत तत्त्वहरूको विरोध गरिनु हुँदैन भन्ने कुरा कदापि होइन। त्यस्ताहरूको विरुद्ध निर्ममतापूर्वक सङ्घर्ष चलाउनुपर्छ।
    समयको अन्तरालमा के देखिएको छ भने सिद्धान्तको कुराले भन्दा सामाजिक व्यवहार, विगतका दिनमा एउटै पार्टीमा धेरै मिलेर काम गर्दै आएका दाजुभाइहरू विवाह भएको महिना दिन नबित्दै श्रीमतीहरूको झगडामा अंशबण्डाको विवाद, बच्चाहरूको झगडामा र यस्तै अन्य घर व्यवहारको कुरालाई लिएर पार्टी छोड्ने, निष्त्रि्कय हुने, अझ खराब कुरो अर्काे पार्टीमा गई विरोध गर्ने र अरुलाई पनि भड्काउने प्रवृत्ति हावी भएको छ। त्यसो भएकोले यस संवेदनशील पक्षमा पनि व्यापक छलफल हुनुपर्ने देखिन्छ। पहिले, पहिले सेल कमिटीमा सामान्य सदस्य हुँदा चुरोट नखाने, जुवातास नखेल्ने, आ–आफ्नो स्वतन्त्र पेसा वा व्यवसाय अनि सरकारी जागिरमा इमानदारीपूर्वक लागेर जनताको सेवा गर्ने, पार्टीलाई आफ्नो गक्षअनुसार १ रुपैयाँ २ रुपैयाँ सक्दो चन्दा दिने, सङ्गठनका गतिविधिहरूमा सहभागी हुने आदि आचारसंहिता हुनेगर्थ्याे। अबको नयाँ परिस्थितिमा सामाजिक व्यवहार, अंशबण्डा, घर व्यवहार, कार्यकर्ताहरूबीचकै घरायसी विवाद आदि विषयहरूमा पनि वैज्ञानिक आचारसंहिता निर्माण गर्ने सम्बन्धमा पनि विचारविमर्श गर्नुपर्ने देखिएको छ। यस्तै, विगतमा यसो बेलामौकामा हुने अविवाहित महिलाहरूको चोटा बैठकमा 'विवाहपछि महिलाहरू सङ्गठनको काममा लाग्नसक्ने होइन, लोग्ने, घर–बच्चाको स्याहारमै दिन बित्छ। त्यसो भएर विवाह नहुञ्जेल सङ्गठन कार्यमा सके जति लाग्नु' भन्ने मनसायका कुरा हुँदा अविवाहित महिला कार्यकर्ताहरूमा लामो समयसम्म सङ्गठन कार्यमा लाग्न नपर्ने जस्तो सन्देश जानाले त्यसअनुरुपमात्र काम गर्ने हुनाले र नेतृत्व तहमा पुग्ने गरी आफूलाई परिमार्जन र परिष्कृत गर्दै आफ्नो नेतृत्व क्षमतालाई उँचो पार्दै लाने कार्यमा ध्यान नपुगेको जस्तो देखियो। जेहोस्, आज यस पक्षमा धेरै राम्रो भएको छ। यद्यपि, एउटा क्रान्तिकारी विवाह र 
एउटा क्रान्तिकारी वैवाहित जीवन पद्धति सम्बन्धमा पनि सही परिपाटी बसाल्ने सम्बन्धमा छलफल हुनुपर्छ।
समाप्त