|
आरोप–प्रत्यारोप–खलनायकहरूको नाटकमात्र
एमालेका वरिष्ठ नता एवं पूर्वमहासचिव माधवकुमार नेपाल माकुनेले बुधबार एक कार्यक्रममा 'जालझेल र षड्यन्त्रको अर्को नाम पुष्पकमल दाहाल–प्रचण्ड' भएको बोलेका थिए। माकुनेले त्यतिखेर 'संविधानसभाको ठूलो दलको नेता नै आफ्नो स्वार्थ पूरा गर्न जे पनि गर्ने खालको भएपछि मुलुक कहाँ पुग्छ?' भन्ने प्रश्नसमेत गर्न भ्याएका थिए। एमाले नेताहरूको माओवादीको आलोचना कहिले नरम त कहिले गालीगलौजको स्तरसम्म ओर्लने गरेको सबैलाई थाहै छ। एक समय त कानै थुन्नपर्ने गरी माओवादीलाई गाली गराउनुपर्यो भने एमाले नेता केपी ओलीलाई कार्यक्रममा अतिथि डाक्ने लहर नै चलेको थियो। बेला मौकामा माकुने पनि माओवादीप्रति कम आक्रामक हुने गर्दैनन्। लाग्छ, माकुने समय र परिस्थितिअनुसार कुरा घुमाउनमात्र होइन बोलिसकेको वाक्य फर्काउनसमेत सक्छन्। नभए किन बोलेको कुरा बोलेकै छैन, भनेकै छैन भन्छन् त। बुधबार प्रचण्डलाई गाली गर्न गरिसकेपछि बिहीबार मैले त्यसो बोलेकै होइन, चित्त दुखाउनु भएछ माफी माग्छु भने। नबोलेको भए माफी किन माग्नुपर्यो, बोलेको कुरा बोलेकै होइन किन भन्नुपर्यो। त्यसो त आवेशमा आएर बोल्ने या माहौलअनुसार बोल्ने नराम्रो बानी प्रचण्डलगायत माओवादी नेताहरूमा पनि नभएको होइन। भनेको र बोलेको कुरा मैले त्यसो भनेकै होइन, बोलेकै होइन भनी अर्काे दिन या तीनचार दिनपछि बोली सच्याउने मामलामा पछाडि छैनन्। पूँजीवादी नेताहरूले स्वार्थ अनुकूल बोल्ने र बोली सच्याउने काम गर्छन्। सत्ताको निम्ति नैतिक–अनैतिक सबैखाले सम्झौता गर्छन्, गठबन्धन बनाउँछन्। आफ्नो स्वार्थ पूरा नहुने देखिएपछि रिसाउँछन्, जथाभावी बोल्छन्, आरोप–प्रत्यारोप गर्छन्। एमाले–माओवादीलगायत सरकारी दलहरूका नेताको चर्तिकलाले यसलाई पुष्टि गर्छ। जनआन्दोलनको भावना र संविधानसभामा जनताले दिएको म्यान्डेटविपरीत गएर संविधानसभाका ठूला दलका नेताहरू नायकबाट खलनायकमा पतन भइसकेका छन्। आफ्नै स्वार्थन्धता र असक्षमताका कारण बद्नाम भइसकेका छन्। एक अर्काेतिर औंल्याएर आफूमाथि लागेको बद्नामीको दागबाट जनताको ध्यान अन्यत्र मोड्न खोजिरहेका छन्। ती सरकारी दलका नेताहरूको आरोप–प्रत्यारोप र माफी मगाई सबै खलनायकहरूको नाटकमात्र हो। जनआक्रोशबाट बच्ने कुत्सित प्रयामात्र हो। – प्रीती शर्मा काठमाडौं
|