|
भारतीय टीभीको नाङ्गो भनाइ र नेपाली
बिहीबार सामाजिक सञ्जाल 'फेसबुक' मार्फत् भारतीय एक टेलिभिजन च्यानलका एक प्रस्तोताले नेपाललाई भारतको एक भाग भनेको कुरा प्रचार भयो। भारतीय फिल्म डन–२ को कमाइ नेपालबाट पनि राम्रो भएको उल्लेखको सिलसिलामा ईटीसी नामक टेलिभिजन च्यानलले उक्त भनाइ उल्लेख गरेको फेसबुकमा राखिएको 'भिडियो क्लिप्स' मा प्रस्ट सुन्न सकिन्छ। फेसबुकमा त धेरैले धेरै प्रतिक्रिया लेखे होलान्, तर नेपालको सार्वभौमसत्तामाथि ठाडो हस्तक्षेप हुँदा पनि नेपाली सञ्चारमाध्यममात्र होइन सार्है सचेत भनिएका युवा–विद्यार्थी र सार्वभौमिकताको रक्षालाई राजनीतिको एक महत्त्वपूर्ण आधार बनाइरहेको भन्ने ठूला पार्टीहरूसमत चूपचाप रहनु अत्यन्त लज्जाजनक र खेदजनक छ। हिजो ऋतिक रोशन नामका एक भारतीय चलचित्र नायकले बोलेको भन्दै प्रकाशित एक समाचारको आधारमा जुरमुराएका युवा–विद्यार्थी (त्यस खालको हिंसा भड्कनु उचित होइन) ले प्रतिक्रिया नदिनुमा या दास मनोवृत्तिले काम गरेको छ या कमजोर वा अचेतन मानसिकता वा गम्भीरताको अभाव मान्न सकिन्छ। नेपाललाई हेर्ने भारतीय आँखा सदा हस्तक्षेपकारी र उपनिवेशवादी रहँदै आएको छ। भारतीय उपनिवेशवादी चिन्तनले कहिले बुद्ध भारतमा जन्मिएको भन्ने पाठ्यपुस्तक बनाउन दिने त कहिले नेपालको उत्तरी सीमामा भारतीय फौज राख्न लगाउने गरेको पाउँछौं। सीमा अतिक्रमण, कालापानीमा भारतीय फौज, असमान सन्धि–सम्झौतामात्र होइन नेपालको आन्तरिक मामिलामा बलात् हस्तक्षेप गर्ने काम खुलेआम गरिरहेको छ। नेपाली सत्तासीन वा सत्ताउन्मुख पार्टीका नेता र प्रधानमन्त्रीहरू भारतीय राजदूतको ढोका उघार्नमै रमाउँछन्, चप्पल र पाइन्ट सर्टमा आएका राजदूतलाई कार्यालयमै भेट दिने प्रवृत्ति देशको निम्ति अत्यन्तै घातक छ। दिल्लीमा भएको १२ बुँदे सहमतिदेखि अहिलेसम्म नेपाली राजनीतिमा भारतले 'निर्देशक' को भूमिका खेल्दैछ। नेपालको संविधान निर्माणको खेलको कोचको रुपमा रहेको भारत अहिले आफै ग्राउण्डमा आउन खोज्दैछ, त्यसैको निम्ति नाडी छाम्ने काम भारतीय टेलिभिजन च्यानलले गरेको अड्कल गर्नसकिन्छ। नेपालको सार्वभौमसत्ताको रक्षाको जिम्मेवारी नेपाली कर्मठ युवाहरूमा छ। पराधीन मनोवृत्तिले कहिल्यै देशको भलो हुनसक्दैन। ठूलो शक्तिसामु झुक्ने, नीहित स्वार्थमा लत्पतिने, सत्ताको निम्ति लम्पसार पर्ने ठूला दलको प्रवृत्तिलाई उदाङ्ग्याउनैपर्छ। नत्र पुर्खाले बचाएर राखेको देशको अस्तित्व परायाको दासताको सिकञ्जमा जकडिनेछ। देशको अस्तित्व रक्षा प्रत्येक नागरिकको सर्वोच्च कर्तव्य हो। इतिहासको कलङ्कबाट जोगिने उपाय यही हो।
|