|
द्वन्द्व व्यवस्थापनसम्बन्धी सन् २००३ मा श्रीलङ्काको अध्ययन भ्रमण –४
प्रेम सुवाल, प्रतिनिधि, नेमकिपा राजनैतिक र आर्थिक विषयलाई सँगसँगै लानुपर्छ। संविधानसभाको नारामात्रै दिने होइन नयाँ संविधानमा के कस्ता बुँदाहरू उल्लेख गर्ने हो सोबारे स्पष्ट हुनुपर्छ। शोषण विराधको अधिकार, व्यक्तित्व विकाससमा समान अवसर, काम मामको सुनिश्चिनतता सम्पत्तिको सिमाङ्कन, विदेशमा सम्पत्ति राख्न नपाउने, उत्पादनका साधनहरू राष्ट्रियकरण गर्ने, कूल बजेटको ५० प्रतिशत बजेट स्थानीय निकायमार्फत खर्च गर्नेजस्ता महत्त्वपूर्ण विषयहरू नयाँ संविधानमा समावेश गर्न सकिएमा मात्रै व्यापक जनताको हित हुनेछ। सुनिल प्रजापति, प्रतिनिधि, नेमकिपा नेमकिपा नयाँ संविधान निर्माण गरी जनतालाई सार्वभौम सत्तासम्पन्न बनाउनुपर्छ भन्ने पक्षमा छ। तर संविधानसभाको निर्वाचनले मात्रै जनताको सबै समस्या समाधान हुन्छ भने कुरामा नेमकिपा विश्वास गर्दैन। संविधानसभाका सकारात्मक पक्ष र नकारात्मक पक्षहरूको बारेमा जनताबीच व्यापक छलफल चलाइनुपर्छ। संविधानसभाको गठनसँगै भारत र पाकिस्तान कसरी अलगअलग राष्ट्र बने? पाकिस्तानबाट बङ्गलादेश कसरी अलग भयो? विधानसभाको निर्वाचनपछि कसरी एउटा स्वतन्त्र देश सिक्किम भारतमा विलय भयो? यी र यस्ता थुप्रै नकारात्मक उदाहरणहरूको अध्ययन गर्नु आवश्यक छ। नेेपालमा वैदेशिक हस्तक्षेप बढेको कुरा धेरैले स्वीकार गरेका छन्। भारत नेपाललाई आर्थिक, सामाजिक र सांस्कृतिक रुपमा आफ्नो नियन्त्रणमा राख्न चाहन्छ। नेपालको प्राकृतिक स्रोत र सम्पदाबारे सन्धि वा सम्झौता गर्न नेपालको संविधान २०४७ को धारा १२६ भारतको लागि ठूलो बाधक बनेको छ। भारत सरकार प्राकृतिक से्रात र सम्पदाबारे अनुमोदन गर्न संसदको दुई तिहाइकोसट्टा सामान्य बहुमत राख्न चाहन्छ। त्यसैले संविधानसभाको निर्वाचन कतै भारतको इच्छा पूरा गर्ने माध्यम त बन्ने होइन? संसदमा प्रतिनिधित्व गरेका दलहरू सर्वदलीय सरकारको माग गर्दैछन्। माओवादीहरू यतिखेर राजासँग वार्ता गरेर आफ्नै नेतृत्वमा सरकार गठन गर्न चाहन्छन्। संसदमा रहेका दलहरूले चलाइरहेको आन्दोलनलाई माओवादीहरूले पनि सहयोग र समर्थन गरेमा आन्दोलन अझ सशक्त रूपमा अगाडि बढाउन सहज हुनेछ। २०४६ सालको आन्दोलनका उपलब्धिहरूको रक्षा गदर्ैै अगाडि बढ्ने कुराहरुमा हामी सहभागी दलहरूबीच कुनै मतभेद देखिंदैन। संसदमा प्रतिनिधित्व गर्ने दलहरूले सर्वदलीय सरकारको गठन, त्यस सरकारले गोलमेच सम्मेलन बोलाउने र त्यस सम्मेलनबाट माओवादीसहितको अन्तरिम सरकार गठन तथा त्यही सरकारले संविधान संशोधन, जनमत सङ्ग्रह वा संविधान सभामा जाने निर्णय गर्नु नै वर्तमान समस्या समाधानको सरल र सहज उपाय हुनेछ। मैले बोलिरहेको विषय नेपाल सद्भावना पार्टीका हृदयेश त्रिपाठीलाई मन परेको थिएन। हिन्दूस्तान र पाकिस्तानको विभाजनको कुरा संविधानसभाको गठनसँग जोडेर भनेको हुँदा पनि उहाँको चित्त नबुझेको हुनसक्छ। मैले बोलिरहेकै क्रममा त्रिपाठीले बीचमै भन्नुभयो – 'हामीले पढेको भारतको इतिहासमा र संविधानसभाको गठनपछि भारत विभाजनको कुरा छैन नि !' मैले भने– त्यसो भए फेरि पढ्नुस्। त्रिपाठीले आफ्नो कुरा छोटोमा राख्नुभयो – संविधानसभाको निर्वाचन निःशर्त हुनुपर्छ। नेका प्रजातान्त्रिकका प्रतिनिधि विमलेन्द्र निधिले तत्कालीन समस्या समाधानमै जोड दिनुभयो। गोष्ठीको अन्तिम दिनमा हामीले नेपालको राजनैतिक समस्या र त्यसको समाधानबारे खुल्ला बहस गर्यौं। केही दिनसम्म सँगैबस्दा दलका प्रतिनिधिहरूलाई एकले अर्काको भावना बुझ्ने अवसर मिल्यो। त्यो नै गोष्ठीको एउटा महत्त्वपूर्ण उपलब्धि थियो। संसद बैठक अवलोकन ६ मई २००३ (२३ वैशाख २०६०) मई ६ को दिन श्रीलङ्काको संसदमा जाने कार्यक्रम थियो। हामी सबै जना बिहान ९ बजे नै भ्रमणको लागि तयार भएर बस्यौं। बस आउन केही ढिलो भयो। निरन्तर बन्द कोठाभित्र बस्दै आएका हामी आज भने बाहिर जाने तरखरमा रहयौं। हरेक दिन बिहान ९ बजेदेखि साँझ ६ः३० बजेसम्म लगातार गोष्ठीमा बसिरहनु पर्ने भएकोले हामी मई ३ को दिनबाहेक कसैलाई पनि बाहिर जाने अवसर मिलेको थिएन। कहिलकाहीं त गोष्ठी निकै लामो भएको अनुभव हुन्थ्यो। नयाँ नयाँ पात्रहरूसँग परिचित हुन पाउने नयाँ नयाँ विषयहरूमा छलफल गर्नुपर्ने भएको हुँदा हामी सबैजनाको ध्यान विषयवस्तुमै केन्द्रित भइरहन्थ्यो। त्यसैले श्रीलङ्का पुगेको एक हप्ता बितेको हामीलाई पत्तै भएन। हिजो रातीदेखि पानी परिरहेको थियो। बिहानसम्म पानी थामिएको थिएन। सिमसिम पानीबीच हामी संसदभवनतर्फ जान तयार भयौं। समुद्रको छाल अरूबेलाभन्दा तीव्र गतिमा उर्लिरहेको थियो। हिजोअस्ति असाध्य सुन्दर देखिने समुद्र आज भने झिसमिसेले गर्दा त्यति राम्रो र टाढा टाढासम्म देखिएन। तैपनि हाम्रो टोली समुद्रको किनारामा उभिएर सामूहिक र अलगअलग फोटो खिच्नमै व्यस्त रह्यो। सडकमा अरूबेलाभन्दा यातायाताको चाप बढी नै थियो–कार्यालय समय भएर पनि होला। ताज होटलबाट आधा घण्टाको बाटोमा रहेछ संसदभवन। बसमा यात्रारत रहँदा विभिन्न कुराहरू हुनु त स्वाभाविक थियो। कहिलेकाहीं मौनता छाएको हुन्थ्यो। त्यसैले होला नेसपा (आ) की सरिता गिरीले हिन्दी गीत सुरू गर्नुभयो। नेकाकी नेतृ अम्बिका पन्त पनि के कम हिन्दी गीतमै जवाफ फर्काउनुभयो। अनि शुरू भयो बसभित्र अन्ताक्षरी। अन्ताक्षरीका साथ मनोरञ्जन गदर्ैै संसद सचिवालयमा पुग्यौं। श्रीलङ्कामा २२५ सदस्यीय एकात्मक संसदीय व्यवस्था छ। वालिग मताधिकारको आधारमा सांसदहरू ६ वर्षको लागि निर्वाचित हुन्छन् र निर्वाचित संसदले देशको लागि आवश्यक ऐन कानुनहरू बनाउँछ। २२५ सांसदहरूमध्ये १९६ जना सांसदहरू २२ वटा निर्वाचक जिल्लाहरूबाट बहुसदस्यीय प्रणालीअन्तर्गत निर्वाचित हुन्छन् र बाँकी २९ जना सांसदहरू राष्ट्रिय निर्वाचनमा प्राप्त गरेका मतको आधारमा पार्टीहरू र स्वतन्त्र उम्मेदवारहरूले बाँडफाँड गर्छन्। संसदमा एकजना सभामुख रहने र सभामुखको अनुपस्थितिमा उपसभामुखले संसदको बैठक सञ्चालन गर्ने व्यवस्था छ। संसदभित्र पस्न कडा सुरक्षाको व्यवस्था थियो। भित्रजाने कुनै पनि व्यक्तिलाई कापी र कलमबाहेक अरु चिज लान मनाही थियो। हामी संसदमा पुग्दा बिहानको १०ः३० बजेको थियो। राजधानी कोलम्बोबाट करिव १६ किमि पूर्वमा अवस्थित संसदको नयाँ भवन सन् १९८२ बाट मात्रै प्रयोगमा आएको थियो। १९७९ मा तत्कालीन प्रधानमन्त्री रनसिङ्गे प्रेमादासाले नयाँ भवन निर्माण गर्ने प्रस्ताव पास गरेपछि उक्त भवन निर्माण गरिएको बताइयो। जापानी सहयोगबाट बनाइएको संसद भवन आधुनिक शैलीको छ। पुरानो संसद भवन भने कोलम्बोमा अवस्थित छ। त्यो ब्रिटिशकालीन समयमा बनाइएको हुँदा बेलायती शैलीमा निर्मित छ। हाल त्यो भवनलाई राष्ट्रपतिको सचिवालयको रूपमा प्रयोग गरिएको छ। हामी पुग्दा संसदको बैठक चलिरहेको थियो। संसदको बैठक कसरी चल्छ? हामीमा त्यो हेर्ने जिज्ञासा थियो। हामीले बैठक हेर्ने आग्रह गर्यौं र अनुमति पनि प्राप्त भयो। बैठक हेर्ने दर्शकदीर्घामा पस्न दुईवटा अलग अलग बाटाहरू रहेछन्–विशिष्ट व्यक्तिहरू पस्ने र सर्वसाधारणहरू पस्ने। हामी भीआइपी अर्थात विशिष्ट व्यक्तिहरू पस्ने बाटोबाट जान कोशिश गर्यौं। तर त्यो सफल भएन किनभने त्यहाँबाट पस्न कोट लगाउनु अनिवार्य थियो। हामीमध्ये एकदुई जनासँग कोट थिएन। कोट भएकाहरू एक ठाउँबाट र नभएकाहरू अर्को ठाउँबाट पस्नु त्यति राम्रो भएन। त्यसैले सबैजना सर्वसाधारण पस्ने ढोकाबाटै संसदभित्र पस्यौं। सभाकक्षभित्र सभामुख त्यसपछि तीनजना (सचिवालय कर्मचारी बस्ने होला) को स्थान मिलाइएको थियो। सभामुखको दायाँ र बायाँ सत्तापक्ष र प्रतिपक्ष बेञ्चको व्यवस्था गरिएको थियो। सत्तापक्ष र प्रतिपक्ष मुखामुख हुनेगरी मेचहरू राखिएका थिए। बैठकमा थोरै मात्रै सांसदहरूको उपस्थिति देखिन्थ्यो। बोल्ने सांसदहरूले आफ्नो अगाडि राखिएको बत्ती बालेर सङ्केत गर्ने र त्यसपछि कर्मचारीहरू आएर नाम टिप्ने र त्यसपछि सभामुखले नाम लिएर बोल्न समय दिइदो रहेछ। सत्तापक्षले बोलिसकेपछि तुरून्तै प्रतिपक्षले खण्डन वा सत्तापक्षको आलोचना गर्थ्यो। त्यसको लगतै सत्तापक्षले त्यहाँ प्रतिपक्षले उठाएका प्रश्नहरूको जवाफ दिनुपर्थ्यो। सत्तापक्षका सांसदहरूलाई प्रतिपक्षले र्याखर्याख्ती पार्थ्यो। हाम्रो उपस्थितिमै एकछिन त नराम्रोसित भनाभन भयो। त्यो श्रीलङ्काली भाषामा भएको हुँदा हामीले बुझ्न सकेनौं। उनीहरूको हाउभाउबाट सत्तापक्ष अप्ठेरोमा परेको राम्ररी बुझ्न सकिन्थ्यो। संसद बैठक अवलोकनपछि विपक्षी दलका नेताहरूसँग भेट्ने कार्यक्रम थियो। कार्यक्रमअनुसार विपक्षी पार्टीहरूसँग भेटघाट भयो। सत्तापक्ष र विपक्षी पार्टीहरूले लिबरेसन टाइगर्स अफ टमिल इलम (एलटीटीई) लाई गम्भीरतापूर्वक लिएको पाइएन। तिनीहरूले मुखले त्यहाँको गृहयुद्ध समाधान गर्न खोजेको बताए पनि वास्तवमा एलटीटीईको विवाद देखाएर सत्तामा जान चाहेका देखिन्थे। संसद भवन वरिपरि ठूलठूला पोखरीहरू थिए। एकान्त ठाउँमा रहेको उक्त स्थान अत्यन्त सुन्दर र शान्त थियो। अवलोकन भ्रमणपछि हामी बसेको होटल ताज समुद्रमा बिदाइ कार्यक्रम थियो। त्यहाँ श्रीलङ्काली सांसदहरूलाई पनि आमन्त्रित गरिएको थियो। कार्यक्रममा २० जना जति सांसदहरू उपस्थित भए। नेपाल र श्रीलङ्काको संसदका गतिविधि, राजनैतिक स्थितिबारे विचारहरूको आदानप्रदान भयो। अत्यन्त सौहाद्रपूर्ण वातावरणमा त्यो कार्यक्रम सम्पन्न भयो। वैशाख १८ गतेदेखि २३ गतेसम्म (१ मईदेखि ६ मईसम्म) सम्पन्न उक्त गोष्ठीले नेपालको राजनैतिक अन्योलको अन्त्यको लागि २०४६ सालको जनआन्दोलनको मर्म र भावनाअनुसार देश र जनताको हितमा संविधानको पुनःसंरचना गरी प्रगतिउन्मुख दिशातिर अगाडि बढनुपर्ने निष्कर्ष निकालेको थियो। गोष्ठीमा सहभागीहरुले संरा अमेरिकाले माओवादीलाई आतङ्ककारी सूचीमा राखेकोलाई नेपालको आन्तरिक मामिलामा हस्तक्षेप गरेको भन्दै विरोध गरेका थिए। मई ७ को दिन बैङ्कक हुँदै काठमाडांै फिर्ता भयौं। समाप्त
|