September 3, 2018

समय सन्दर्भ

बाँकि समय सन्दर्भ
 

त्रिशुली नदीमा र्‍याफि्टङ्ग गर्दा


प्रनेश बाटी
वैशाख ३० गते हामी ख्वप कलेजका तीनजना साथीहरू त्रिशुली नदीमा र्‍याफ्िटङमा जान तयार भयौं। एउटा डुङ्गामा आठजना मान्छे चाहिन्थ्यो। त्यसकारण कलेजकै एउटा समुह तयार गर्न धेरै प्रयास गर्‍यौं। तर सकेनौं। जाने छलफल चलिरहँदा सेती नदीमा अचानक आएको भीषण वाढीको कारणले धेरैको मनमा एउटा भयको तरङ्ग पैदा गरिदियो। जसले गर्दा जान इच्छुक साथीहरूमा अप्रत्यक्ष रुपमा मनोवैज्ञानिक डर सृजना भएको हेाला। अन्तमा जानेहरूमा प्रकाश नायभारी, केशव तमखु र मसहित तीन जनामात्र सीमित हुन पुग्यो। साथीहरूबीच छलफल भयो। अन्तमा हामी तीनजना भए पनि जाने निर्णय गर्‍यौं। 
    शनिबार बिहान भक्तपुरको सुकुलढोकामा जम्मा भयौं। दुई दिन अगाडिसम्म मौसम खराब थियो। र्‍याफ्िटङको लागि मौसमले साथ नदेलाकि भन्ने चिन्ता थियो। तर त्यो दिन आकास सफा थियो। मौसमको कुरा गर्दागर्दै त्यो दिन बन्दको व्यापक हल्ला पनि थियो। सबेरै मान्छेको भीडभाड हुने सुकुलढोका बजारका चियापसलहरू भने बन्द थियो। तरकारी व्यापारीहरू मात्र नहुँदो हो त त्यो बजार सायद सुनसान हुन्थ्यो होला। हाम्रो जमघटले बटुवाहरूलाई कतै बन्दकर्ता पो लाग्ने हो कि भन्ने ठट्टा पनि हामीबीच चल्यो। एकजना बटुवा त सोध्न पनि आयो – आज बन्द हो? हामीलाई थाहा नभएको प्रति उत्तरले ऊ हाँसेर गयो। आयोजक सुविन सितिखु भने जाने नजाने अलमलमै थियो। उनको अनुहार भने चिन्तित देखिन्थ्यो। बन्दको कारण र्‍याफ्िटङ जान नसके उनले उक्त कार्यक्रमलाई अर्को वर्षसम्मको लागि स्थगन गर्नुपर्ने हुन्छ। कारण जेठ १४ नजिकिंदै थियो। विभिन्न बहानामा देशमा शान्ति हुने छाँटकाँट देखिंदैनथ्यो। त्यस्तै जेठ १४ पछाडि भने वर्षा सुरु हुन्छ। त्यो समयमा नदीमा पानीको बहाव बढ्ने हुनाले र्‍याफ्िटङ्गको लागि अत्यन्त जोखिमपूर्ण हुने हुन्छ। बन्दको हल्ला सुन्दासुन्दै बस आइपुग्यो। जाने पक्का पक्की भयो। बिहानको सवा सात बजेतिर बस गुड्यो। बीचबीचमा पिकअप गर्दै काठमाडौंको कलङ्की भन्ने ठाउँमा पुग्यौं। त्यतिबेलासम्म सवारीसाधनको चाप पनि क्रमशः बाक्लिंदै थियो। त्यसपछि हामी बीचबाट कोही एकजनाले अलि रमाइलो पाराले ल ल 'आज र्‍याफ्िटङ गर्न पाउलाजस्तो छ। बन्द पनि फिर्ता लियो र मौसम पनि सफा छ भन्दै उफ्रिए। 
    कलङ्कीमा बस अलि लामो समय कुर्नुपर्‍यो। आयोजकहरूमा भने बस गुडाउने सुरसार नै कसेको देखिएन। बस अलि छिट्टै हिंड्न पाए हुन्थ्यो भने धेरैबाट आवाज आउन थाल्यो। बस नगुडेको कारण बुझ्दा र्‍याफ्िटङको मुख्य मान्छे नै आइ नपुगेको रहेछ। एकछिनपछि कुरेको मान्छे आइ पुगेको हल्लाखल्ला भयो। त्यसपछि बस विस्तारै थानकोटतिर लाग्यो। बिहान ९ः१५ बजिसकेको थियो। सबैलाई भोकले सताएको देखिन्थ्यो। तर भोकभन्दा पनि चाँडै पुग्न हतार थियो। किनभने धादिङ बन्दको पनि हल्ला गाइँगुइँ सुनिन थाल्यो। नागढुङ्गा पुग्दा प्रहरीसमेतले ढुङ्गा हान्यो रे भनेर डर देखायो। त्यसपछि त हामी फेरि अल्मलियौं। धेरैको अनुहारमा चिन्ताका रेशाहरू देखिन थाल्यो – जान पो नपाउने हो कि भनेर। 
    हल्लै हल्लालाई चिरेर बस अगाडि बढ्यो। तर ड्राइभरले बस विस्तारै हाँक्यो। बीच बाटोमा बन्दकर्ता भेट्लाकि भन्ने डरले सवारीसाधनको चाप बाक्लो देखिने पृथ्वी राजमार्ग त्यो दिन भने फाटफुटमात्र गुडेको देखिन्थ्यो। गाडी विस्तारै हाँकेको देखेर हामीबाट गुरुजीतर्फ छेडछाड पनि भइयो – यो गाडा हो कि बस? बेस्सरी गुडाउनु पनि कसरी? कोही आएर बन्दमा किन चलाइस् भनेर डाङडुङ गरिदियो भने जिम्मा लिने को? फेरि हाम्रो देशमा कानुन कहाँ बलियो छ र? बलियो र ठूलोले जे गरे पनि हुन्छ। कराउन नसक्ने, जुलुस गर्न नसक्ने, बन्द हड्ताल गर्न नसक्ने र निमुखा जनतामात्र पेलिन्छ। अरु कुरा के कुरा चोर, डाँका, हत्याराहरूलाई नै सहिदको पगरी लगाई दिने देशमा अरु के आश गर्ने?
    बस, गाडा गुडेजस्तै गुडे पनि बीचमा विश्राम लिंदै गन्तव्यमा ढीलै भए पनि पुग्यौं। धादिङको चटौन्डी भन्ने ठाउँ थियो – हाम्रो र्‍याफ्िटङ प्रारम्भ हुने स्थान। सुरुमा त हामी ३५ जनामात्र हो कि भन्ने लागेको थियो। त्यहाँ पुगेपछि माहोल नै अर्कै बन्यो। अरु ठाउँबाट पनि र्‍याफ्िटङ गर्न बाक्लै मानिसहरू जम्मा भएका थिए।
    बे्रकफास्ट लियौं र गाइडसँगै नदीतिर लाग्यौं। नदी पुग्न गोरेटो भएर हिंड्नुपर्थ्यो। गोरेटोको दायाँबायाँ मेवाको झुप्पा झुप्पा पाकेको देखिन्थ्यो। रमाउँदै फोटो खिच्दै नदीको बजारमा पुग्यौं। विदेशीहरू पनि र्‍याफ्िटङको लागि सुरसार गर्दै थिए। हामीलाई आफ्नो डुङ्गाहरू खोज्न भने केही समय लाग्यो। लुगा फेरेर तयारी अवस्थामा गएकाले त्यहाँको वातावरणले धेरै उत्साही बनाएको थियो। एक दुई जना साथीहरू गाइडको निर्देशन नै सुन्न फुर्सद थिएन र नदीमा डुबुल्की मारी हाल्यो। गाइडले तिनीहरूलाई चेतावनी दिंदै पथ प्रदर्शन गर्दै अहिले पानीको बहाव बढेको छ, होस् पुर्‍याऔं भने। सम्पूर्ण साथीहरू ८–९ जनाको पाँच समूहमा विभाजन गरियो। त्यसपछि सबै लाइफ ज्याकेट, हेल्मेट र प्याडल एउटा एउटा लिई डुङ्गातिर लाग्यौं।
क्रमश: