|
मौलिकताले भरिएको सिठी पर्व
ओमप्रसाद धौभडेल काठमाडौं उपत्यकामा बस्ने आदिवासी नेवाःहरूको वर्षभरि विभिन्न जात्रा, चाडपर्व, उत्सव आदिले भरिएको छ। वर्षभरिको पहिलो चाड घण्टाकर्ण (गठामुग चर्हे) हो भने सबैभन्दा अन्तिम चाड जेठ शुक्ल षष्ठीको दिन मनाउने कुमार षष्ठी सिठीलाई लिने गरिन्छ। यसरी नेवाःहरूको वर्षदिनको सबैभन्दा अन्तिम चाड भएर सिठी पर्व मनाउने गर्दछन्। यस पर्वबारे हाम्रा वंशावली एवं विभिन्न पुराणहरूमा समेत उल्लेख गरिएको छ। यसमध्ये मार्कण्डेय पुराणअनुसार जेठ शुक्ल पष्ठीको दिन देवाधिदेव महादेवको ज्येष्ठपुत्र कार्तिकेय कुमारको जन्मदिन भएको मानी उक्त दिन कुमारको विशेष पूजाआजा गरिन्छ र कुमारकै नामबाट उक्त दिनलाई कुमार षष्ठीसमेत भनिएको पाइन्छ। यस दिन घर र वरिपरि सरसफाइ गरी कार्तिकेय कुमारको पूजाआजा गर्नाले घरमा सुख, शान्ति कायम हुने, कार्यसिद्धि प्राप्त हुने र सुस्वास्थ्य लाभ हुने उक्त पुराणमा उल्लेख छ। नेवाः समाजमा सबैभन्दा पहिले पुजिने देवता गणेश भए पनि त्योभन्दा पहिले कुमारलाई पूजा गर्नुपर्ने गरी प्रत्येक घरको मूलढोका अगाडि क्षेत्रपालका रुपमा कुमारको प्रतीकात्मक मूर्ति स्थापना गरिएको हुन्छ। यसमा छवटा कमलको फूलको पात अङ्कित हुन्छ। त्यसबाहेक नेपाली कला संस्कृतिमा प्रायः कुमारको मूर्ति उमामहेश्वरको परिवारसहितको मूर्तिमा कुँदिएको पाइन्छ। यता कुमारकै छुट्टै विशेषता भएको मूर्तिमा काठमाडौं हाँडीगाउँको छ टाउके मूर्ति धुलिखेलको पार्वती मन्दिरमा रहेको मूर्ति, काठमाडौं जैशीदेवलको मूर्ति, भक्तपुर तिलमाधव नारायण मन्दिरमा रहेको मूर्ति, काठमाडौं ओमबहालको मूर्ति पर्दछ। यसमध्ये सिठीको दिन काठमाडौं जैशी देवलभित्रको कुमारको मूर्ति बाहिर ल्याई पूजाआजा गर्ने चलन छ। सिठी सुरु हुनु तीन दिन अगाडि नै कुमारको मूर्ति बाहिर ल्याई सफा गरेपछि रङ्ग रोगन र सृङ्गार गरी बाहिर प्रदर्शनमा राखिन्छ र सिठीको दिन विभिन्न खाद्य पदार्थहरूसहित पूजाआजा गरिन्छ। भोलिपल्ट उक्त मूर्ति एउटा विमान खटमा राखी बाजागाजाका साथ नगर परिक्रमा गराउने काम हालसम्म पनि थानकोट भेगका नगरकोटी र बलामीहरूले गर्दै आएका छन्। त्यस्तै सिठीको दिन यहाँ कागजमा ६ वटा कमलको फूलको पात अङ्कित गरी झ्याल वा कौसीमा झुण्ड्याउने चलन छ। त्यसअघि कुमारको उक्त प्रतीकात्मक मूर्तिमा ६ विभिन्न थरीका अन्नबाट बनेको चटामरी, ६ थरीका दालबाट बनेका बारा र ६ थरीका साग सब्जीका तरकारी चढाई पूजा गर्ने गर्दछन्। यसरी षष्ठीको दिन ६ टाउको भएको कार्तिकेय कुमारलाई ६ थरिका अन्न, दाल र तरकारी चढाउनुको पछाडि ६ अङ्कको ठूलो महत्त्व रहिआएको छ। त्यसैगरी सिठीको दिन काठमाडौं उपत्यकामा बस्ने आदिवासीहरूले बिहान खेतमा गई कुमार कार्तिकेयको पूजाआजा गरिसकेपछि घरमा आई चटामरी वा (बारा) र विभिन्न तरकारी खाने गर्दछन्। त्यस्तै दिउँसो आ–आफ्ना गाउँ, बस्ती, टोलमा रहेको मठ मन्दिर, सत्तल, पाटीमा उम्रेको घाँस उखेल्ने र बिग्रेको भाग मर्मत गर्ने चलन छ। त्यस्तै यहाँ रहेका पोखरी, इनार, ढुङ्गेधारा, कुवाजस्ता पानीका स्रोत सफा गर्नेसमेत गरिन्छ। यस्तो चलन यहाँ परापूर्वकालमै चलिसकेको प्रमाण ने.सं. ५७३, वि.सं. १५१० मा तत्कालीन राजा यक्ष मल्लको भक्तपुर दरबार क्षेत्रमा रहेको एक अभिलेखबाट स्पष्ट हुन्छ। हाल भक्तपुर दरबार क्षेत्रको शोभा बनेको स्वर्णहारको पश्चिमाभिमुख उक्त अभिलेखअनुसार आजभन्दा ५५० वर्ष अगाडि नै यस पर्वलाई सिठी भनी उल्लेख गरेबाट यसको महत्त्व अझ बढेको छ। यक्ष मल्लको बृहत् नेपालको राजधानी भक्तपुर रहेको सन्दर्भमा उनले भक्तपुरलाई चारैतिर अग्ला, अग्ला पर्खालले मोडी नगर पस्ने द्वारहरू ठाउँठाउँमा बनाउन लगाएका थिए। यसरी बनाएको गढ वा किल्लाको मर्मत गर्ने कार्य सिठीको दिन तोकिएको उक्त अभिलेखबाट थाहा हुन्छ। साथै उक्त दिन सम्पूर्ण नगरवासी अनिवार्य रुपमा सम्मिलित भई ठाउँठाउँका बिग्रेका गढ, किल्ला बनाउने, मठमन्दिर, सत्तल पाटीमा उम्रेको घाँस उखेल्ने तथा पोखरी, इनार, कुवा, धारा आदि सफा गर्ने कार्य हुन्थ्यो। यसैअनुरुप आजसम्म पनि सिठीको दिन यस्ता कार्य हुँदै आएको र सिठीलाई यहाँ सैयौं वर्ष अगाडिदेखि देश रक्षा, स्वास्थ्य एवं सुख, शान्तिको पर्वका रुपमा लिने गरिएको छ। साथै यस दिन नेवाःहरू आफ्ना विवाहिता छोरीहरूलाई ठूलो मान, सम्मानका साथ भोज ख्वाउने चलन पनि छ। वर्षा ऋतु र रोपाइँको समय अगावै मनाइने यो चाडले यहाँको जनजीवनसँग ठूलो सम्बन्ध राख्दै आएको छ। यो चाड नेवाःहरूको सबैभन्दा अन्तिम चाड हुनुको साथसाथै अक्षय तृतीयादेखि सुरु हुने दिगु पूजाको अन्तिम दिनसमेत हुनाले यसको ठूलो महत्त्व रहिआएको छ।
|