के माओवादीले सत्ता कब्जा गरेकै हो?
जबदेखि एनेकपा (माओवादी) पूँजीवादी राजनीतिमा प्रवेश गर्यो त्यो बेलादेखि नै चर्चाको विषयको रुपमा रहेको विषय हो – सत्ता कब्जा र जनवादी क्रान्तिको सफल यात्रा। यो बीचमा बागमती, विष्णुमती नदीमा धेरै पानी बगिसकेको छ। जनताबाट निर्वाचित संविधानसभा सदस्यहरू पूर्ण सभासद् भइसकेका छन् भने जनताको नयाँ संविधान पाउने इच्छा पनि तुहिसकेको छ। सरकार सर्वाेच्च अदालतले दिएका विकल्पहरूमध्ये नयाँ निर्वाचनको पक्षमा गई नयाँ तिथिसमेत घोषणा गरिसकेको छ। देशको यस विषम परिस्थितिमा नेपाली जनताले छानेका प्रतिनिधिसभासमेत भङ्ग भइसकेको छ। यस अर्थले अहिले सरकारमा बसेका दलहरूले आफ्नो मनपरि गर्नु स्वाभाविक बनेको छ। उसले भन्दै आएको सत्ता कब्जाको खेलमा सफल देखिएको जस्तो देखिन आएको छ। अब प्रश्न उठ्छ के माओवादीले साँच्चिकै सत्ता कब्जा गरेकै हो त? के अब एमाओवादीले नेपालमा नयाँ जनवादी सत्ता कायम गरी जनगणतन्त्र ल्याउला? प्रश्न अनुत्तरित नै छ।
यदि साँच्चै माओवादीको यो रणनीति नै हो र यदि ऊ आफ्नो सफल राजनीतिमा हो भने म शुभकामना दिन्छु। तर विडम्बना भन्नुपर्छ। नेपाली जनताको आँखामा पुन एक पटक धूलो छ्याप्ने काम भएको छ। यो एमाओवादीको रणनीति भन्दा पनि देशलाई दिशाहीन बनाएर अलमलमै पार्ने र धमिलो पानीमा माछा मार्ने भारतीय शासक वर्गको रणनीतिको रुपमा आएको स्पष्ट छ। एमाओवादीले यस हिरोको भूमिका खेल्यो भने काङ्ग्रेस, एमाले र मधेसी मोर्चा सहनायकको भूमिकामा देखिए।
– सुनिल बोहजू
|