September 3, 2018

समय सन्दर्भ

बाँकि समय सन्दर्भ
 

नेताहरूको हाँसो मृत्यु उत्सव हो?

मङ्गलबार प्रकाशित एक दैनिकले जेठ १५ गते पाँचौं गणतन्त्र दिवसको अवसरमा राष्ट्रपति रामवरण यादवबाट शीतल निवासमा आयोजित चियापानमा फोटो पत्रकार चन्द्रशेखर कार्कीले खिचेको तस्वीर 'मलामी मुस्कान' शीर्षकमा 'पानरोमिक' पारामा पेजको सबै कोलम ढाक्ने गरी प्रकाशित गर्‍यो। तस्वीरमा निवर्तमान संविधानसभा अध्यक्ष सुवासचन्द्र नेम्वाङ, माओवादी अध्यक्ष पुष्पकमल दाहाल, काङ्ग्रेस नेता रामचन्द्र पौडेल, एमाले नेता माधव नेपाललगायत प्रमुख दलका नेताको हाँसो देखिन्थ्यो। संविधानसभा विघटन भएको पहिलो दिन नेताहरू 'गणतन्त्र' को चियापानमा शुभकामना आदान प्रदान गर्दै थिए। नेताहरूको उन्मुक्त हाँसो संविधानसभाको तिलक लगाउँदै लुटेराहरूले आफ्नो काम तमाम गरेपछि भागबण्डा लगाउँदा देखिने उत्साहित मनोभाव त होइन? संविधानसभाको दुःखद हत्या भएपछि यी नेताहरू कसरी हाँस्न सक्छन्? हाँसोको स्रोत के? के उनीहरू संविधानसभाको अवसानको मस्ति मनाइरहेका हुन्? 

सत्तामा पुगेका राजनीतिक दलहरूको असक्षमता, चरम सत्तामोह, निहित स्वार्थ, पराधीन मानसिकता, विदेशी प्रभुहरूप्रतिको आत्मसमर्पणवादी चिन्तन आदि संविधानसभा विघटनका कारण हुन्। संविधानसभा असफल पार्ने प्रयास कुनै पनि देशभक्त नेपालीले गर्नैसक्दैन। संविधानसभाबाट आफ्नो स्वार्थ अनुकूल संविधान आउने नदेखेपछि विस्तारवादीहरूले विघटनको बाटो निर्देशन गरेको कुरा आगामी दिनले झन् पुष्टि गर्नेछ। देशलाई भड्खालोमा जाकेर र अन्योल र अस्थिरताको भूमरीमा फसाएर शासक दलका नेताहरू मृत्यु उत्सवबाहेक केही मनाउन सक्दैनन्। रोम जलिरहेको बेला बाँसुरी बजाइराख्ने राजा नीरोजस्ता शासक दलका नेताहरूबाट अब परिवर्तन सम्भव छैन। देश रोएको बेला उत्सव मनाउने शासक दलका नेताहरूलाई जनताले बहिष्कार गर्नैपर्छ। 

– रास, भक्तपुर