September 3, 2018

समय सन्दर्भ

बाँकि समय सन्दर्भ
 

नेपाल क्रान्तिकारी युवा सङ्घको पाँचौं राष्ट्रिय सम्मेलन, जुम्लामा सहभागी हुँदा–१

रामकृष्ण प्रजापति 

काठमाडौंको टोखामा भएको नेपाल क्रान्तिकारी युवा सङ्घको केन्द्रीय विस्तारित बैठकले पाँचौं राष्ट्रिय सम्मेलन तयारी समिति गठन गरी नेपालको विकट मानिएको कर्णालीको जुम्ला जिल्लामा राष्ट्रिय सम्मेलन गर्ने निर्णय गरेको थियो। उक्त निर्णयसँगै धेरै साथीहरूको विभिन्न प्रतिक्रियाहरू आएको थियो। कसैले बाटोको यात्राले ज्यान जोखिम बहन गर्नुपर्ने, खर्च बढी हुने, काठमाडौं उपत्यकालगायत अरु जिल्लाबाट सहभागी हुन धेरै दिन लाग्ने, उचाइको ठाउाभएकोेले लेक लाग्नसक्ने, अति जाडो ठाउँ, उत्पादन कम हुने, खानेकुरा अभाव, हिउँ पर्ने स्थान, शौचालयको समस्या, उडुस र उपियाँले दुःख हुने आदि कमजोरी रहेको ठाउँमा गर्दा युवाहरूले बढी दुःख पाउने हो कि भन्ने विचार आएको थियो। अर्कोतर्फ साँच्चिकै नेपाल चिन्ने हो भने विकट जिल्ला मध्यपश्चिमाञ्चलको कर्णालीको जुम्लामा गर्नुपर्ने विचार पनि आएको थियो। नेपाल भौगोलिक विविधताको देश हो, असङ्ख्य जडिबुटी, यार्सागुम्बा, पाँचऔंले, लालीगुराँस, स्याउ, आलु, सिमी, मह आदि पाइने र २०३५ सालमै जुम्लामा नेमकिपाको सङ्गठन बनिसकेको, दुईपटक प्रतिनिधिसभा सदस्य निर्वाचन जितिसकेकोले जुम्लामा सम्मेलन सफल पार्नसकिने कुरा पनि आएको थियो। प्रतिक्रिया जे जस्तै आए पनि, जति गार्‍हो र सजिलो भए पनि जुम्लामै सम्मेलन हुने निधो भएकोले जुम्लाका र पश्चिमका साथीहरू औधी खुशी थिए। उपत्यका र पूर्वका साथीहरू सम्मेलनका क्रममा जुम्ला र पश्चिमका जिल्लाको अध्ययन भ्रमण गर्न पाइने भएकोले खुशी थिए। 

जुम्लाको परिचय 

किंबदन्तीअनुसार परापूर्व कालमा यस जिल्लाको सदरमुकाममा रहेको स्वामी दत्तात्रयलाई टोक्न दुईवटा अजिङ्गर आउँदा भेटाउन नपाउँदै स्वामी दत्तात्रयको शक्तिले ती दुवै नाग एकैचोटि भष्म भए। यसरी भष्म भएका ती नागहरू पछि जुम्ल्याहा पहाडको रुपमा देखिएकोले जुम्ल्याहा शब्दको अपभ्रंश हुँदै यस जिल्लाको नाम जुम्ला रहन गएको हो भन्ने जनश्रुति छ।  

जुम्ला जिल्ला मध्यपश्चिमाञ्चल विकास क्षेत्रमा पर्छ र कर्णाली अञ्चलको सदरमुकाम पनि हो। कूल ३० वटा गाविस, ९ वटा इलाका, १ संसदीय निर्वाचन क्षेत्र रहेको यस जिल्लामा सरकारी र अर्धसरकारी गरी ४३ वटा कार्यालय रहेका छन्। जिल्ला प्रहरी कार्यालयमातहत प्रहरी कार्यालय एक, प्रहरी चौकी ८, जिल्ला कृषि विकास कार्यालयअर्न्तगत ४ वटा कृषि सेवा केन्द्र, जिल्ला पशुसेवा कार्यालयअन्तर्गत पशु सेवा केन्द्र ३ र पशु उपकेन्द्र १२, जिल्ला स्वास्थ्य कार्यालयअन्तर्गत स्वास्थ्य चौकी ८ र उपस्वास्थ्य चौकी २०, जिल्ला हुलाक कार्यालयअन्तर्गत इलाका हुलाक ७ र अतिरिक्त हुलाक २२ र जिल्ला वन कार्यालयअन्तर्गत इलाका वन कार्यालय, रेञ्जपोष्ट ८ वटा रहेका छन्। यो कर्णाली अञ्चलको सदरमुकाम जुम्ला शिक्षा, स्वास्थ्य तथा व्यापारिक केन्द्र पनि हो। यस जिल्लामा बाहुन, क्षेत्री, ठकुरी, नेवार, गुरुङ, मगर, दमाई, कामी, सार्की आदि जातजाति रहेका छन्। 

जुम्ला २८ डिग्री ५८ मिनेटदेखि २९ डिग्री ३० मिनेट उत्तरी अक्षांश र ८१ डिग्री ५१ मिनेटदेखि ८२ डिग्री ३५ मिनेट पूर्वी देशान्तरमा फैलिएको छ। यसको क्षेत्रफल २५३१ वर्ग कि.मि. र उचाइ ७००० फिटदेखि २१०७७ फिटसम्म रहेको छ। यहाँ तापक्रम अधिकतम ३० डिग्री सेल्सियस, न्यूनत्तम – १४ डिग्री सेल्सियस र औसत वर्षा ८०० मि.मि. रहेको छ।  

यस जिल्लाको पूर्वमा डोल्पा, पश्चिममा कालीकोट, उत्तरमा मुगु र दक्षिणमा जाजरकोट रहेको छ। भौगोलिक विभाजन हिमाल, पहाड र पहाडी हिमाली उपत्यकाहरू छन्। यहाँका प्रमुख नदी र तालहरूमा तिला, हिमा, जुवा नदीहरू छन् भने विष्णु ताल, हुड्के ताल, जोगिनी ताल, शङ्ख दह, ठाकुरज्यू दह गिरी दह, आदि छन्। चन्दननाथ मन्दिर, भैरवनाथ मन्दिर, दरवार मन्दिर, कनका सुन्दरी मन्दिर,  चिमरा मालिका भगवती मन्दिर, शिव मन्दिर, ठाकुरज्यू मन्दिर, भण्डार वन, विराट दरवारको भग्नावशेष, सिस्ने हिमाल, पातारासी हिमाल, रारा राष्ट्रिय निकुञ्ज खण्ड, सिंजा क्षेत्र, तातोपानी, हुड्के दह र पाण्डव गुफा यस जिल्लामा देखिएका धार्मिक ऐतिहासिक तथा पर्यटकीय स्थलहरू हुन्। यस जिल्लाको मुख्य व्यापारिक केन्द्र खलंगाबजार हो भने अन्य केही साना व्यापारिक केन्द्रहरूमा तलिउम, तातोपानी, नाग्म, नराकोट, हाडसिंजा, उर्थु चौतारा, डिल्लीचौर, चौथा, मणिसांघु रहेका छन्। जुम्लाको कूल जनसङ्ख्या सर्वेक्षण २०६७ अनुसार १,०९,०८८ जनामध्ये पुरुष ५६,०४८ र महिला ५३,०४० रहेको छ। 

नेपाली भाषाको उद्गमस्थलको रुपमा रहेको सिंजा क्षेत्र यस जिल्लामा पर्छ। कर्णाली अञ्चलका ५ जिल्लाहरूमध्ये जुम्ला एक दुर्गम हिमाली जिल्ला हो। भौगोलिक रुपमा विकट र दुर्गम भए तापनि नेपालको इतिहासमा जुम्ला जिल्लाको महत्त्वपूर्ण पहिचान रहेको छ। नेपाल एकीकरण हुनुपूर्व बाइसी राज्यको मुख्य केन्द्रको रुपमा रहेको जुम्ला नेपाली भाषा र संस्कृतिको उद्गमस्थल पनि मानिन्छ। मध्यकालीन युगमा जुम्ला एक समृद्ध एवं शक्तिशाली राज्यको रुपमा रहेको तथ्य इतिहासबाट प्रस्ट हुन्छ। यस जिल्लाको सदरमुकाम रहेको खलङ्गामा सबभन्दा पहिले प्राचीन कालमा भारतबाट आएका चन्दननाथ बाबासहित दुईजना ब्रह्मचारीहरूले बस्ती बसाई कृषि र शिक्षाको प्रचारप्रसार गरेका थिए भन्ने लोकोक्ति  पाइन्छ। उत्तर र पूर्वबाट दुईवटा नागरुपी जुम्ल्याहा डाँडा तिला र जवा दुई जुम्ल्याहा नदीको सङ्गम भएकोले यस जिल्लाको नाम जुम्ला रहेको हो भन्ने किंबदन्ती रहेको छ। यातायात सञ्चार र आधुनिकीकरणका दृष्टिकोणले विकट र दुर्गम भए पनि प्राकृतिकरुपमा अति सुन्दर र चम्किला हिमाली चुचुराहरू, तालहरू र मनमोहक अनगिन्ती प्राकृतिक छटाहरूले सिङ्गारिएको जुम्लालाई प्राकृतिक सम्पदा र सांस्कृतिक धरोहरको रुपमा चिन्न सकिन्छ। पुर्खाहरूको स्वावलम्बी अवशेषहरूले जुम्लालाई प्रशस्त सम्भावना बोकेको, साधन स्रोतले सम्पन्न जिल्लाको रुपमा लिनसकिन्छ। यहाँको उत्पादनयोग्य भूमिमा धान, जौ, मकै, फापर, कोदोजस्ता अन्नबाली र स्याउ, ओखर, खुर्पानी, आरु, आरुबखडाजस्ता फलफूल र सिमी, भटमास, आलु, गांजर, केशर, केराउ, फर्सीजस्ता तरकारी उत्पादन हुने गरेको छ। कृषि उत्पादनलाई नै आर्थिक क्रियाकलापको प्रमुख माध्यमको रुपमा लिने जुम्ला जिल्लामा यहाँका वनजङ्गलमा पाइने वनपैदावारहरू काठदाउरा, जडिबुटीमा पाँचऔंले, भुत्ले, जटामासी, कटुकी, पदमचाल, जीवनबुटी  

(यार्साकुम्भु), गुच्चीच्याउ, हात्तिजडा, सुगन्धवाल, सिलाजित, निरमसी, अतिस, केशहर, घोडामच्चो, सुमयो, तितो, गुन्नइनो, चिराइतो आदि सङ्कलन र बिक्री वितरणलाई आयआर्जनको प्रमुख स्रोतको रुपमा लिने गरेको पाइन्छ। त्यसबाहेक स्याउ खेती, मौरीपालन, तरकारी बीउ उत्पादन र पशुपालन पनि आर्थिक क्रियाकलापको स्रोतका रुपमा पर्दछ। 

जुम्लाको शैक्षिक इतिहासबारे अध्ययन गर्दा सिंजाको लामाथाडा राजधानी भएको खस मल्लहरूको राज्यकालमा राजगुरु वा राजपुरोहितका सन्तानमा कम्तीमा एकजनालाई काशी, पटना, काश्मीर आदि स्थानमा अध्ययन गराउने र घरमा आएपछि राजकुलका बालबालिकालाई शिक्षा प्रदान गर्ने, राज्यको लेखापढीमा सघाउने र धार्मिक कृत्यहरू सम्पादन गर्ने परम्परा रहेको व्यहोरा तत्कालीन अभिलेखहरूबाट सङ्केत प्राप्त हुन्छ। खस मल्ल राज्यकालको आधा आधीदेखि जुम्लामा कल्याल राज्य स्थापना भएको आधाशताब्दीसम्म खस भाषामा केही मूल्यवान् ग्रन्थहरूको रचना पनि भएको थियो। जस्तैः भास्वती (वि.सं १४५७), राजा गगनीराजको यात्रा (वि.सं १५५०), खण्डखाद्य (वि.सं १६४८), जातक कर्मद्धति (वि.सं १६४८), बाज परीक्षा (वि.सं १७००) र ज्वरोन्पत्ति चिकित्सा (वि.सं १७७३) आदि छन्। खसमल साम्राज्यको पतन भयो। मल्ल राजधानी सिंजाको राजधानी लामाथाडा भङ्ग भयो। त्यसपछि वि.सं. १५९६/१५९७ तिर कल्याल वंशका प्रथम पुरुष बलिराज रावलले जुम्लाको तातोपानी पारीपट्टिको सुनार गाउँलाई राजधानी खडा गरेर जुम्ला राज्यको स्थापना गरे। कालान्तरमा छिनासिम  

(जावेश्वर) (वर्तमान जुम्लाको सदरमुकाम) मा राजधानी सारेर राज्य सञ्चालन गरेको कल्याल वंशले १८४६ सम्म करिब २५० वर्षजति अटुट रुपमा राज्य गरेको देखिन्छ। विद्यार्जनको कुनै केन्द्र स्थापित हुन नसक्दा खस भाषा पनि कथ्य भाषाको अवस्थामा रहन पुग्यो। नेपाल एकीकरण १८४६ पछि एक ठेक्का स्थितिको मुलुकको रुपमा सीमित हुन पुगेको देखियो। १९७४ मा भाषा पाठशाला स्थापित भएर औपचारिक विद्यालय शिक्षा प्रारम्भ भएको जुम्लामा करिब ९३ वर्षपछि हाल आएर १६८ बाल विकास केन्द्र, १४५ प्राथमिक विद्यालय, ४८ निम्न माध्यमिक विद्यालय, ३३ माध्यमिक, १० उच्च मावि, १ प्राविधिक शिक्षालय र दुइटा स्नातक तहसम्म अध्ययन गरिने बहुमुखी क्याम्पस विद्यमान छन्। ५९ प्रतिशत साक्षर, ४५०० जतिले एसएलसी भन्दा माथिको शिक्षा प्राप्त, ९९० जनाले स्नातक र स्नातकोत्तर तह उत्तीर्ण गरेको तथ्याङ्क छ। 

सम्मेलनले नयाँ नेतृत्वमात्र चयन गर्ने होइन, बहुमत युवाहरूको हितका विषयमा बहस र छलफल गरी भावी नीति तथा कार्यक्रम, राष्ट्रिय र अन्तर्राष्ट्रिय परिस्थितिको मूल्याङ्कन, दीर्घकालीन र अल्पकालीन लक्ष्य, संविधानसभामा संविधान लेखनमा देश र जनताको हितमा लेखाउन दबाब र आदर्श समाज स्थापनार्थ समाजवादी संविधान घोषणा गराउन युवाहरूलाई सन्देश दिनका लागि पनि सम्मेलन एकदम जरुरी र महत्त्वपूर्ण छ।