September 3, 2018

समय सन्दर्भ

बाँकि समय सन्दर्भ
 

राष्ट्र सङ्घ विश्व समुदायको बिरामी मान्छे

टिमोथी व्यान्क्रफ्ट हिन्चे 

यतिखेर यो कुरा छुट्याउन बडो कठिन छ – संयुक्त राष्ट्र सङ्घ एउटा सङ्गठन हो कि दुईटा? एउटाले मानव अधिकार र संस्कृतिको रक्षातिर अत्यन्त राम्रो काम गरिरहेको छ। (राष्ट्रसङ्घीय महिला सङ्गठन, युएनएचसीआर, युनेस्कोलगायत यसका उदाहरण हुन्) अर्को फुकुस (फ्रान्स, बेलायत र संरा अमेरिका) खेमाको साम्राज्यवादी अभियानका निम्ति रबर छाप बनिरेको छ या वासिङ्टन खेमाको लहरमा नाचिरहेको छ। 

उदाहरणको निम्ति हेगस्थित अन्तर्राष्ट्रिय फौजदारी अदालत–आईसीसीलाई लिऔं। उक्त कङ्गारु कोर्टले गणतन्त्र सर्वियाको र सङ्घीय गणतन्त्र युगोस्लाभियाको कानुनविपरीत स्लोवोदान मिलोसेभिकलाई अपहरण गर्‍यो र मुद्दा सुरु हुनुभन्दा अगाडि नै उनलाई दोषी घोषित गरिदियो। संयुक्त राष्ट्र सङ्घले नाटो फुकुस गठबन्धनले इराक, अफ्गानिस्तान, लिविया र अहिले सिरियामा गरिरहेको व्यापक मानवअधिकार हनन र युद्ध अपराधका निम्ति के गर्‍यो त? 

अहिले परम्परागत उक्तिमात्रै हामीसित बाँकी रहेको छ। जुन राष्ट्र सङ्घीय महासभाका अध्यक्ष नास्सेर अब्दुलाजिज अल नासेरले मध्यस्थतामा रहेका सदस्य राष्ट्रहरूको सम्मेलनको उद्घाटनमा व्यक्त गर्नुभएको थियो – 'द्वन्द्वको रोकथाम र विवादको शान्तिपूर्ण समाधानका निम्ति मध्यस्थता अत्यन्त महत्त्वपूर्ण र प्रभावकारी ज्यावल हो, जसलाई संयुक्त राष्ट्र सङ्घका उच्चाधिकारीहरू जोड दिंदैछन् भने अर्कोतिर त्यस विश्व संरचनालाई बलियो बनाउनुपर्नेमा जोड दिइरहेका छन्। जसले यस्तो प्रयासहरूमा मुख्य भूमिका निर्वाह गर्नेछ।' वास्तवमा संयुक्त राष्ट्र सङ्घीय सुरक्षा परिषद् त्यसैको निम्ति होइन र? आफ्नो अधिकार क्षेत्र नाघेर इराकमाथि हमला हुँदा सुरक्षा परिषद् कहाँ थियो? सुरक्षा परिषद् कहाँ थियो जतिखेर फ्रान्स, बेलायत र संरा अमेरिकाले रुस र चीनलाई लिविया मिसनको विस्तृत विवरणपछि पेश गर्ने भनेको थियो र तिनीहरूले सबै नियम कानुन मिचेर लिवियामा आफ्नो पूर्ण मिसन थालेको थियो। 

बेलायती र कमनवेल्थ वैदेशिक कार्यालयहरूले आफैले सूचीकृत गरेका आतङ्कवादी सङ्गठनलाई किन ठूलो रकम सहयोग गर्दैछ? 

यदि हामीले गहिरिएर विचार गर्ने हो भने वास्तवमा अल–नास्सेरको घोषणाको सारअनुरुप संयुक्त राष्ट्र सङ्घलाई हामी कानुन निर्माता र कानुन कार्यान्वयनकर्ताको अत्यन्त महत्त्वपूर्ण भूमिकामा कहिल्यै पाउँदैनौं र न त्यसले त्यो भूमिका बनाउन नै खोज्यो। संयुक्त राष्ट्र सङ्घले 'मध्यस्थता' को जुन अर्थ सिर्जना गरेको छ, मध्यस्थता मध्यको या बीचको भन्ने कुरा रहेन। त्यसले आफूलाई हालसालै नाटो–फुकुस गठबन्धनले गरेको भयानक मानव अधिकार हनन र युद्ध अपराधहरू रोक्नमा बेकार सावित गर्‍यो। त्यसले हत्यारा साम्राज्यवादी तत्त्व र अमेरिकी राष्ट्रपति भवन, ह्वाइट हाउसकेन्द्रित युद्ध सरदारहरूको खेमाको चाकडी गर्ने र आफ्नो नीति वाचन गर्दै व्यवहारमा नाटो सदस्य राष्ट्रका विदेश नीतिहरू कार्यान्वयन गरेको छ। 

तसर्थ संयुक्त राष्ट्र सङ्घलाई मध्यस्थकर्ता भन्नु ठट्टामात्र भएको छ। र जहाँसम्म उक्त संस्थालाई बलियो बनाउने कुरा छ जुन संस्था जडैदेखि बिरामी छ र सबैभन्दा खराब रोगहरूले त्यसलाई घेरेको छ तपाईं त्यसलाई कसरी बलियो बनाउन सक्नुहुन्छ? तपाईं संयुक्त राष्ट्र सङ्घलाई कसरी बलियो बनाउन सक्नुहुन्छ? जसले विश्व समुदायको प्रतिनिधित्व गर्न अस्वीकार गर्छ, जसले सर्व र अफ्रिकीहरूप्रति खुला रुपमा पक्षपात गर्छ। जब त्यसले आफ्नो अन्तर्राष्ट्रिय फौजदारी अदालतको नाटक रच्छ, उदाहरणका निम्ति किन संरा अमेरिकाका एकजना पनि मान्छेलाई त्यहाँ मुद्दा दायर हुँदैन? 

तसर्थ संयुक्त राष्ट्र सङ्घ, कस्तो किसिमको ठट्टा वा सर्कस वा कस्तो किसिमको जोकर हो? यदि संयुक्त राष्ट्र सङ्घले विश्व समुदायको प्रतिनिधित्व गर्न चाहन्छ भने किन सन् २०१२ मा गठन गरिएको सुरक्षा परिषद्मा सबै देशहरू उत्तरी धु्रवका मात्र राखिए? किन ओसेनिया, अफ्रिका र ल्याटिन अमेरिकाको प्रतिनिधित्व त्यहाँ भएन? 

संयुक्त राष्ट्र सङ्घलाई दुईवटामा विभाजन हुन देऔं र त्यसको अद्भूत मानवीय कार्यको प्रशंसा गरौं। यूएन दमन संस्थालाई लैङ्गिक समानता, महिला सशक्तिकरण र महिला अधिकार रक्षाको निमित लहरका निम्ति साथै लैङ्गिक हिंसा, महिला र लैङ्गिक शोषण र चेलिबेटी बेचबिखनविरुद्धको सशक्त आवाजका निम्ति प्रशंसा गरौं। यूएनएचसीआरमा शरणार्थीहरूलाई सहयोग पुर्‍याउने मामलामा एन्टोनियो गुटेरेसको अद्भूत कार्यलाई स्मरण गरौं। संयुक्त राष्ट्र सङ्घीय संस्थाहरूले विज्ञानको विकास र सांस्कृतिक सम्पदा संरक्षणको क्षेत्रमा गरेको ठूलो योगदानको प्रशंसा गरौं। 

एउटा नयाँ संयुक्त राष्ट्र सङ्घको उदय हुन देऔं जसलाई मुठ्ठीभरका गुटहरूले आफ्नो स्वार्थका निम्ति नियन्त्रक गर्ने छैन। त्यस्तो सङ्गठन जसमा आधारभूत रुपमा पृथ्वीका चारै कुनाका मानिसहरूको प्रतिनिधित्व होस् र तिनीहरूबाटै बनेको होस्। त्यस्तो सङ्गठन जसले अन्तर्राष्ट्रिय कानुनको कार्यान्वयनमा सबैका निम्ति एउटै ढक र तराजु प्रयोग गरोस्। 

यदि हामीले सन् २०१२ मा यो कार्यान्वयन गर्न सक्यौं भने इतिहास साक्षी हुनेछ, र अहिले देखिएको पाखण्डीपन अन्त्य हुनेछ। त्यस्तो उपायविना संरा अमेरिका र वासिङ्टन नियन्त्रित खेमाको हातमा यो चिप्लेकिरा बनिरहनेछ। तपाईंलाई त्यस्तो नलाग्न सक्ला तर हामीले देखेको यस्तै छ। उदाहरणका निम्ति लिवियालाई हेरौं।