September 3, 2018

समय सन्दर्भ

बाँकि समय सन्दर्भ
 

बाली सुकेर कृषकहरु मर्कामा


    जेठ १४ भित्र नयाँ संविधान बन्ने धेरैको विश्वास थियो। संविधान बन्ने भो भन्ने नेताहरूको मात्र होइन जनताको पनि विश्वास थियो। तर संविधान बन्ने जनताको विश्वासमा तुषारापात भयो। संविधान बनाउनको निम्ति नेताहरूको राजनीति तातिरहेको थियो। तर अन्तिम समय या ठीक मध्यरातदेखि तातेको त्यो राजनीति एकाएक सेलायो र देशको राजनीति नै अर्कैतिर मोडियो। सारमा भट्टराईको सरकारले जनतामा विश्वासघात गर्‍यो, झूटको राजनीति गर्‍यो र चार वर्षको राजनीति र मेहनत सबै बगायो। राजनीतिक तताइ चिसियो। नेता, जनता सबै जिल्ल परे।
    राजनीतिक तताइ त सेलायो तर मौसमको तताइ बढ्यो। गर्मी बढेको बढ्यै छ। गर्मीले बसिनसक्नु भइसकेको छ। पानी परेको छैन। लगाइएको मकै, खोर्सानी, काँक्रो आदि बाली सुक्न थालेको छ। बढेको गर्मीले माटो सुकेको कारण धानको बीउ राख्न सकेको छैन। राखिएको बीउ उमि्रएको छैन। प्रत्येक वर्ष बढ्दै गएको यो तापक्रम र सुख्खाले गर्दा विशेषगरी कृषकहरू मर्कामा परेका छन्। लामो समयसम्म पानी नपरेकोले खोला सुक्दै छ, पानीका मुहानहरू सुक्दै छन्। कुलो र इनारमा पनि पानीको अभाव हुनथालेको छ। सारमा खेतीपातीको लागि मात्र होइन खानेपानीको हाहाकार भएको छ। यसले सबै उपभोक्तामा मार परेको छ। कृषकहरूको श्रम, समय र करोडौं मूल्य बराबरको बाली खेर जाने भएको छ।
    मकै सुक्न थालेपछि अर्काे के बाली लगाउने भन्नेबारे कृषकहरू अन्योलमा छन्। फेरि अर्काे मकै छर्न माटो नै पोलेको छ, मकै लाग्ने स्थिति नै छैन। खोर्सानी र अन्य बालीको पनि त्यस्तै हविगत छ। धानको बीउ राखौं उमि्रने स्थिति छैन। नराखौं बीउ हाल्न ढिलो हुन थालेको छ। बीउ हाल्न ढिलो हुनुको अर्थ रोपाइँ पछि पर्नु हो। समयमा रोपाइँ नभएपछि उत्पादन कम हुन्छ।
    उत्पादन कम भएपछि खाद्यान्नकै समस्या हुन्छ। यसको परिणाम कृषिप्रधान देशमा खाद्यान्न नै अरु मुलुकको भरमा बस्नुपर्ने हुन्छ। यसले देशको अर्थतन्त्रमा असर पार्छ। एकातिर सरकार दोहोरो खर्चको मार खप्दै फेरि संविधानसभाको निर्वाचनको घोषणा फुक्छ अर्काेतिर सुख्खा र अनावृष्टिका कारण खाद्यान्न कम उत्पादन हुने सम्भावना छ। अन्ततः यसले देशको अर्थतन्त्र डावाडोल बनाउनेछ। सरकार र मौसमले साथ नदिंदा जनता अन्योल, अनिर्णयको बन्दीमात्र होइन हाहाकारको स्थितिमा पुग्न बेर लाग्दैन।