|
नेपाल क्रान्तिकारी युवा सङ्घको पाँचौं राष्ट्रिय सम्मेलन, जुम्लामा सहभागी हुँदा–२
रामकृष्ण प्रजापति
सम्मेलनको नारा 'सार्वभौमिकता र भु–अखण्डता रक्षाकोे निम्ति नवउदारवादको विरोध गरौं नेपाल क्रान्तिकारी युवा सङ्घको पाँचौ राष्ट्रिय सम्मेलन सफल पारौं' तय गरिएको थियो। चैत २२ गते पाँचौं राष्ट्रिय सम्मेलनको लागि जुम्ला जान बिहान ३ बजे नै उठेर स्नान गरें। त्यसपछि कमलविनायकबाट सहकारी समाजका साथीहरूसित जाने जिम्मा मलाई दिएकोले सोही बसमा त्यहाँबाट बिहान ५ः३० बजे हिंड्यौं। कलङ्कीमा जुम्लाका पत्रकार साथी भिम नेपालीलाई लिएर मुगलिङ बजारमा चिया खाई चितवनमा खाना खायौं। दिनभरको यात्रापछि कोहलपुरमा राति ९ बजे पुगियो। सुर्खेत पुग्ने लक्ष्य भए पनि कोहलपुरबाट ३ घण्टा थप लाग्ने भएकोले कोहलपुरमै बास बस्ने निधो भयो। त्यहाँका स्थानीय साथीहरू खाना र लजको निम्ति हिंड्नुभयो। बस पार्क वरिपरिका लजहरूमा २ वटा गाडीका साथीहरू मिलेर बस्यौं। २३ गते बिहान ४ः०० बजे उठें र ५ः१५ बजे त्यहाँबाट गाडी गुड्यो। सुर्खेत पुगेर चिया नास्ता खाई अगाडि बढ्यौं। सहकारी साथीहरूले सुर्खेतबाट उता नयाँ ठाउँ हुँदै गएपछि बाटोकोबारे र त्यस वरपर अगाडि कुन गाउँ ठाउँ आउनेबारे जानकारी दिदैं जाने भनी जुम्ला यात्रामा निस्केका थियौं। त्यसरी पाइएन भनी गुनासो गर्दा मेरो मन खल्लो भयो। हुन त मलाई सहकारीका साथीहरू लिएर जाने भन्ने बित्तिकै त्यसबारे अध्ययन गरी बताउन सक्नेगरी तयार हुनुपर्ने थियो। आर्थिक सहयोग उठाउन जानुपर्ने, नगरको वडावडामा बैठक, भेला आदिको कार्यव्यस्तताका कारणले त्यस विषयमा तयारी गर्ने समय नै भएन। मेरो लागि पनि कोहलपुर उता जुम्लासम्मै नौलो ठाउँ नै थियो। तर हाम्रो बसमा जुम्लाका पत्रकार हुनुहुन्थ्यो। उहाँले आफूसँगैको साथीहरूलाई धेरै जानकारीमूलक कुरा बताउँदै हुनुहुन्थ्यो। मैले उहाँलाई अगाडि बसाएर सबैलाई बताउन अनुरोधमात्र गर्नसकेको भए धेरै जनालाई जानकारी प्राप्त हुने थियो। दैलेखको सिस्नेरी गाउँमा खाना खायौं। त्यसपछिको बाटो कच्ची, साँघुरो, उकालो ओरालो, घुम्तीबाटो थियो। कहिं कहिं कालोपत्रे भएको पनि पायौं। जुम्ला जानुअघि वृत्तचित्र 'मृत्यु मार्ग' हेरेका थियौं। कालीकोटको मान्मसम्म पुग्दा बाटो त्यस्तै पायौं। त्योभन्दा पनि झन् डरलाग्दो खतरायुक्त महसुस गर्यौं। जति जोखिमयुक्त त्यति नै उच्च भीरपाखा र पहाडले मनोरञ्जन पनि दिइरहेको थियो। कर्णाली नदीमा बगेको पानीको धुनसँगै निर्मल, निश्चल पानी बगिरहेको देख्दा काठमाडौं उपत्यकामा भइरहेको पानीको हाहाकारलाई सम्झ्यौं। धेरै साथीहरूले हामीतिर यसरी पानी भइदिएको भए हुन्थ्यो भनी र्याल पनि काढे। कालीकोटको सिमाना सुरु भएपछि विभिन्न ठाउँमा स्वागतद्वारहरू बनाएर बाटोमा स्वागत गर्ने साथीहरू भेट्यौं। जसले गर्दा टिकोटालोले हाम्रो निधारै रातो भएको थियो। राति १० बजे कालीकोटको सदरमुकाम मान्मबजार पुग्यौं। पार्टीका जिल्लाध्यक्ष कामरेड नन्दबहादुर शाहीलाई सम्पर्क गरेर लज खोजेर खाना खाएर सुत्यौं। २४ गते विहान ५ बजे उठेर ६ बजे जुम्लाको निम्ति हिंड्यौं। दिउँसो ४ बजेतिर जुम्लाको खलङ्गा पुग्यौं। गाडीमा लागेका सामानहरू झार्यौं। कठिन बाटोमा सकुशल ल्याइदिनु भएकोले गुरुजीहरूलाई धन्यवाद दियौं। जुम्लाको उद्योग वाणिज्य सङ्घको हलमा पार्टीका श्रद्धेय अध्यक्ष का. रोहितको प्रमुख आतिथ्यमा पत्रकार सम्मेलन सकेको जानकारी प्राप्त भयो। पत्रकार सम्मेलनमा पनि सयौंजनाको जना सहभागिता र त्योभन्दा पहिला जुम्ला एअरपोर्टमा सयौं पार्टी कार्यकर्ता र जनताले का.रोहितलगायतलाई स्वागत गरिएको र बिहान सरसफाई कार्यक्रम भएको कुरा साथीहरूबाट सुन्दामन अत्यन्त हर्षित भयो। राष्ट्रिय सम्मेलनको पूर्वसन्ध्यामा शुभकामना मैनबत्ती र्याली भयो। त्यसमा सहभागी भई बजार परिक्रमापछि स्थानीय साथीहरूले व्यवस्था गरेको मेशमा मिठो खाना खायौं। त्यसपछि नेक्रायुसङ्घको पाँचौं राष्ट्रिय सम्मेलन तयारी समितिको बैठक बेलुका ८ बजे सुरु भयो। बैठक भोलिको उद्घाटन र्याली, उद्घाटन समारोह सफल पार्ने, प्रतिवेदन, भावी कार्यक्रमबारे छलफल भएको थियो। बैठकले र्यालीलाई व्यवस्थित बनाउन स्वय्मसेवकको जिम्मा मलगायत साथीहरूलाई दियो। राती ११ बजे बैठक सकाएर सुत्न गयौं। थकानले ओछ्यानमा पल्टिनासाथ गहिरो निद्रामा पुगें। चैत्र २५ गते बिहान सबेरै उठें। बिहान ७ बजे काठमाडौं उपत्यका र पूर्वका साथीहरूको निम्ति उद्योग वाणिज्य सङ्घको सभाहलमा जुम्लामा नेमकिपाको सङ्गठन र सङ्घर्षबारे प्रशिक्षण कार्यक्रम राखिएको थियो। उक्त सभाहल भरिभराउ थियो। कार्यक्रम मैले नै सञ्चालन गरंे भने नेक्राकिसङ्घका केन्द्रीय अध्यक्ष एवं नेमकिपाका केन्द्रीय सदस्य डिल्लीप्रसाद काफ्लेले जुम्लामा २०३५ सालमा सङ्गठन स्थापनाकालदेखि अहिलेसम्म भए गरेको पार्टी इतिहासबारे बताउनुभयो। नेमकिपाका अर्का केन्द्रीय सदस्य जयबहादुर शाहीले जुम्ला जिल्लाको परिचय र त्यहाँको उत्पादन, पार्टी सङ्गठनको विकासबारे, जिल्लाको विकास कार्यक्रमबारे बताउनुभयो भन्ने अर्का केन्द्रीय सदस्य बुद्धिकुमार गोसाईंले जुम्ला सङ्गठन गर्दाखेरि दुःख पाएका कुरा त्यतिबेलाको सङ्घर्षबारे संस्मरण सुनाउनुभयो। पछि जिविस र जिशिकाको किताबहरू अध्ययनबाट जुम्लाबारे थप जानकारी प्राप्त भयो। उद्घाटन कार्यक्रमलाई बाधा नपुर्याउने हेतुले चाँडै कार्यक्रम सकाएर मेशमा खाना खाई उद्घाटन स्थलमा पुग्यौं। त्यहि स्थानबाट उद्घाटन र्याली सुरु गर्ने भनिए तापनि ठाउँ अभावले गर्दा नेक्राशिसङ्घका केन्द्रीय उपाध्यक्ष पूर्णप्रसाद धिताल सरले जुम्ला बसपार्कबाट सुरु गर्ने भन्नुभयो। बिहान ११ बजे सुरु गर्ने भनेको र्याली साथीहरूको निरन्तर आगमनको सूचनाले १२ बजे पछिमात्र सुरु गर्न सक्यौं। गाउँ गाउँबाट जुलुसहरू आउने क्रम जारी थियो। र्याली व्यवस्थापनको योजनामा सुरुमा १० जना स्वय्मसेवकले बाटो क्लियर गर्ने, माइकिङ टोली, त्यसपछि स्थानीय पञ्चेबाजा टोली, पार्टी केन्द्रीय सदस्य बुद्धिकुमार दाईले पार्टीको झण्डा र ५/५ जना स्वय्म सेवक उल्टो भी आकारमा स्कर्टिङ गर्ने, पाँच वटा नेक्रायुसङ्घको झण्डा पाँच जिल्ला जुम्ला, हुम्ला, बाजुरा, मुगु र अछामका युवा सङ्घका जिल्ला अध्यक्षलाई बोक्न दिने, मूल व्यानर केन्द्रीय समितिका महिला सदस्यहरूले बोक्ने, व्यानरपछि केन्द्रीय समितिका पदाधिकारी र सदस्यहरू बस्ने, त्यसपछि भक्तपुर, काठमाडौंलगायतको बाजागाजा टोली राख्ने, जुम्ला र कालीकोटबाट ५०/५० जना गरी १०० जना युवाकोे मार्चपास, विभिन्न जिल्लाका प्रतिनिधि र पर्यवेक्षकका साथै सहभागी युवा साथीहरू बस्ने, अन्य सदस्य, पार्टी सदस्य र जनवर्गिय सङ्गठनका सदस्यका साथै शुभचिन्तकहरू, प्रमुख अतिथि, अतिथि र पार्टी केन्द्रीय सदस्यहरू राख्ने र प्रमुख अतिथिको सुरक्षाको लागि १० जना स्वय्मसेवक राख्ने बन्दोवस्त थियो। ठूलो जनमानसको तुलनामा स्वयम्सेवकको सङ्ख्या कम हुन गयो र र्याली व्यवस्थापन केही कमजोर हुन पुग्यो। तैपनि र्याली राम्रै गरी अगाडि बढ्यो र करिब २ घण्टाको नगर परिक्रमापछि र्याली उद्घाटन स्थल पुगेको थियो। उद्घाटनस्थलमा साउण्ड सिस्टम र उद्घाटन कार्यक्रमको व्यवस्थापन निकै कमजोर देखियो। अत्यन्त ठूलो जनसागरका निम्ति आवाज पुगेको थिएन, प्राविधिक कमजोरीले गर्दा त्यहाँ लगिएका ध्वांग र एउटा साउण्ड सिस्टम बिग्रिसकेको थियो, अर्को व्यवस्था नभएकोले बाँकी ध्वाङ र साउन्ड सिस्टम चित्त बुझाउन सबै सहभागी बाध्य थिए। प्रमुख अतिथि नेपाल मजदुर किसान पार्टीका अध्यक्ष का.रोहितले संविधानसभामा संविधान लेखनमा ठूला दलहरूले गरेको बदमासीहरू, समाजवाद, पूँजीवाद र समसायिक विषयमा गहकिलो मन्तव्य राख्नुभयो भने अतिथि एवं पार्टी केन्द्रीय सदस्य का.प्रेम सुवालले माओवादीहरूका विगतदेखिको क्रियाकलापले तिनीहरू भारतीय विस्तारवादका दलाल र गैरकम्युनिष्ट भएको प्रमाणित हुने विचार व्यक्त गर्नुभयो। |