|
वृद्ध वृद्धाहरूलाई समयमै भत्ता वितरण गर्नुपर्यो
गएको बिस्केट जात्रा अगाडि नै वृद्ध भत्ता पाएर वृद्ध वृद्धाहरू रमाउन खोजिरहेका थिए। तर निराशामा परिणत भए।सुनिन्छ, अरु जिल्लामा वृद्ध भत्ता बाँडिसक्यो तर भक्तपुरमा मात्र किन ढिलाइ भएको? पहिले वडा–वडामा भत्ता वितरण गर्दा उनीहरूले विनाकठिनाइ समयमा भत्ता पाएका थिए। अहिले बैङ्कबाट भत्ता वितरण गर्ने कुरा छ। समयमा भत्ता वितरण गर्नुपर्दछ। वृद्ध वृद्धाहरू कहिले वडा कार्यालयमा त कहिले बैङ्कमा धाउँदै छन्। वृद्ध भत्ता वितरण गर्न किन ढिलाइ भएको भनेर एक समर्थकको हैसियतले बुझ्दा कहिले नगरपालिकाको प्रशासन प्रमुख नभएको भनेर गुनासो आउँछ, कहिले जिल्ला विकासबाट रकम निकासा नभएकोले ढिलाइ भएको कुरा सुनिन्छ। वृद्ध वृद्धाहरू कति आसामा बसेका हुन्छन्। वृद्ध भत्ताबाट आफ्नो केही आवश्यकता पूरा होस् भनेर पर्खिरहेका छन्। उनीहरूमा नैराश्यता छाइसक्यो। भत्ता पाउँदैन कि कसो भनेर उनीहरू अँध्यारो मुख लाएर बसिरहेका छन्। यसैले वृद्ध वृद्धाहरूले पाउनुपर्ने भत्ता यथाशीघ्र निकासा गराइदिनुहुन हामी भक्तपुर जिल्ला विकास समितिको ध्यानाकर्षण गर्न चाहन्छौं। उनीहरूको समस्यालाई समयमा निराकरण गरिदिनुहुन हामी हार्दिक अनुरोध गर्दछौं।
– न्हुछेरत्न बुद्धाचार्य, निवृत्त शिक्षक तथा साथीहरू, भक्तपुर
|