September 3, 2018

समय सन्दर्भ

बाँकि समय सन्दर्भ
 

रासायनिक मलको आपूर्ति कहिले?

नेपाल कृृषिप्रधान देश हो। यहाँ धेरैजसो जनता कृषि पेशामा आबद्ध छन्। देशको कुना काप्चासम्मका जनता कृषि पेशामै निर्भर छन्। कृषिप्रधान देशमा जुन सरकार आए पनि रासायनिक मल समयमा कहिल्यै पनि उपलब्ध हुँदैन। किसानलाई गहुँ छर्ने र रोपाइँ गर्ने बेलामा समयमै मल नआएर हरेक वर्ष किसानहरू हैरानमा परिरहेका छन्। आखिर यस्तो दुःख किन दिएको होला? हामी सबैका लागि खेतीबाट फलेका फलफूल, अन्न, तरकारी, दैनिक उपभोग्य वस्तुमा पर्छ। जुन चिजविना हामी बाँच्नै असम्भव हुन्छ। त्यसैले किसानहरूको लागि आवश्यक मल समयसमयमा पूर्ति गर्नुपर्छ। किसानलाई प्रोत्साहनस्वरुप अग्रीम रुपमा मलको साथसाथै अरु बीउबिजन, सिंचाइ साथै अन्न, बीउ, फलफूल भण्डारको उचित व्यवस्था गर्नुपर्ने हो। बजारमा यी चिजहरूको उचित मूल्य तोकी बजार व्यवस्थापन गर्नुपर्ने हो। तर जुन सरकारले यस्तो कार्यप्रति जागरुकता देखाएको छैन। 

भाषणमा सबैलाई सबै चिज पुर्‍याउने आश्वासन दिइन्छ। तर व्यवहारमा उल्टो किसानको हकहितभन्दा पनि शोषण हुन्छ। नानाथरीको कुरा गरी आफू चोखिन खोजिन्छ। मलको नाउँमा मोटामोटा रकम, कमिशनको खेल खेल्छन्। किसानको लागि कहिले नक्कली मल त कहिले वर्षौं पुरानो र अपुग मल भित्र्याएर ठगिरहेका छन्। 

त्यस्तो कार्य गर्ने व्यापारीहरूलाई कारबाही गरिंदैन। 'कम्युनिष्ट' सरकार आएपनि क्रियाकलाप पूँजीपति वर्गको हितको निम्ति कार्य भयो। अहिले पनि तराई बन्दले मल नआएको कुरा बताइन्छ। अहिले मल आउँदैन, दुईतीन महिनापछि मात्र आउँछ भन्दैछन्। यदि यो कुरा साँचो हो भने तत्काल मल पूर्ति गर्ने उपाय सोच्नुपर्‍यो, नत्रभने सरकारको नेतृत्व गर्ने पार्टी किसानमारा हुनेछ। कृषकहरू आन्दोलित हुनेछन्। सरकारको लागि त्यो इतिहासमै कलङ्क लाग्नेछ। 

– कृष्णराम सुवाल