दूधमा परेको झिङ्गाझैं फालिएला है !
रवीन्द्र ज्याख्व
(नेपाल मजदुर किसान पार्टीको आयोजनामा २०६९ जेठ १५ गते दत्तात्रयमा भएको जनसभामा नेपाल क्रान्तिकारी विद्यार्थी सङ्घ दसौं राष्ट्रिय सम्मेलन तयारी समितिका संयोजक रवीन्द्र ज्याख्वद्वारा व्यक्त मन्तव्य – सम्पादक)
आज जेठ १५ गते गणतन्त्र दिवस। नेपाली जनता इतिहासमा सबैभन्दा बढी खुशी भएको दिन थियो आजको दिन। अढाइ सय वर्ष पुरानो शाहवंशीय निरङ्कुश राजतन्त्रलाई बिदाइ गरेर गणतन्त्र घोषणा गरिएको थियो। तर हिजोको दिन जनताका लागि सबैभन्दा दुःखको दिन बन्यो। नेपाली जनताले ठूलो आशा र विश्वासले जिताएर पठाएको संविधानसभा जनतालाई संविधान नदिएरै हिजो विघटन भयो।
हिजो सम्पूर्ण जनताको ध्यान बानेश्वरको संविधानसभा हलमा केन्द्रित थियो। सारा जनता व्यग्रतापूर्वक नयाँ संविधानको पर्खाइमा थिए। तर त्यहीबेला बानेश्वर भवनमा भने सभासद्हरूको सङ्ख्या पातलो थियो। चार शासक दलका मुख्य नेताहरूको भौतिक शरीर सिंहदरबार वरपर भए तापनि मन भने लैनचौरको भारतीय दूतावास र दिल्लीको साउथ ब्लकतिर थियो। जीवनभरि भारतीय विस्तारवादको दलाली गरेका नेताहरू हिजो पनि मालिकको आशीर्वादमा चमत्कार हुने आशामा थिए। तर विचरा मालिक, आफैले तयार गरेका र पालेका कुकुरहरू धेरै भए, कसलाई मात्र हड्डी फाल्ने र कसलाई मात्र थम्थमाउने? आखिरमा संविधानसभाको 'स्पट डेथ' भयो।
गरिब नेपाली जनताले ६०१ जनाको जम्बो संविधानसभालाई कठिनतापूर्वक चार वर्ष पाले। संविधानसभाको निर्वाचन र त्यसपछि संविधानसभा सञ्चालनका लागि आफ्नो रगत पसिना बगाएर सङ्कलन गरेको ९ अर्ब सरकारी राजस्व नेपाली जनताले खर्चे। विदेशी दातृ निकायहरू र अन्तर्राष्ट्रिय गैससहरूले पैसाको खोलो बगाएको अलग्ग छ। जम्माजम्मी संविधानसभाको लागि २१ अर्ब रुपैयाँ खर्च भएको बताइन्छ। यति धेरै रकम विद्युत उत्पादनमा लगानी गरिएको भए नेपाली जनता दैनिक १८ घण्टे लोडसेडिङको मारबाट मुक्त हुन्थे कि? शिक्षामा लगानी गरिएको भए कक्षा १२ सम्मको निःशुल्क शिक्षा सबै जनताले पाउँथे कि? सडक निर्माणमा खर्चेको भए कोटेश्वरदेखि बार्हबिसेसम्मको अरनिको राजमार्ग ६ लेनको फराकिलो बन्थ्यो कि?
यसको अर्थ संविधानसभाले केही गरेन भन्ने होइन। संविधान निर्माणका धेरै विषयहरू टुङ्ग्याइसकिएको थियो। तर संविधान निर्माणको अन्तिम ठेक्का चार शासक दलका ४, ५, ६, ७ नेताहरूमा सीमित गरिंदा संविधानसभा पङ्गु बन्यो, अन्य सभासद्हरू बेरोजगार बने। परिणामतः आज नेपाली जनताले नयाँ संविधान पाउन सकेनन्। तसर्थ चार शासक दलका नेताहरूको अकर्मण्यता, अदूरदर्शिता, सत्ता स्वार्थको सङ्कीर्णता र नेपाली जनतालाई विश्वास गर्नुको सट्टा भारतीय एकाधिकार पूँजी र विस्तारवादको दलाली गरेकै कारण संविधानसभाको देहावसान भयो। शासक दल र तिनका नेता विश्वासघाती हुन्, जनविरोधी हुन्। शासक दलका 'शीर्ष' भनाउँदा नेताहरूले अब आफैलाई असक्षम घोषणा गरेर नेपाली जनतासामु माफी माग्नुपर्छ र राजनीतिको नाउँमा देशलाई भड्खालोमा पार्ने कामबाट सन्यास लिनुपर्दछ। जनतामा अझै डर छ, निर्वाचनको नाममा जनतामाझ फेरि पनि भ्रमको खेती गरेर यिनीहरूले देशका नदीनाला, प्राकृतिक स्रोतहरू बेच्ने त होइनन्? सिक्किमलाई भारतमा विलय गर्ने लेण्डुप दोर्जेको नयाँ संस्करण यी नेताहरू त बन्दै छैनन्? शङ्का गर्नु स्वाभाविक छ। कोशी, गण्डकी, महाकाली, कर्णाली र नौमुरे बेच्ने नेताहरू यिनै हुन्। देशको ६० हजार हेक्टरभन्दा बढी जमिन भारतले अतिक्रमण गर्दा मूकदर्शक बन्ने नेताहरू यिनै हुन्। नेपाल र नेपाली जनताको हितविपरीत भारतीय एकाधिकार पूँजीको स्वार्थअनुकूल बिप्पा सम्झौता गर्ने नेताहरू पनि यिनै हुन्। त्यसैले शासक दलका अकर्मण्य नेताहरू बेलैमा पाखा लागे जाती हुन्छ, नभएर ज्ञानेन्द्रलाई नारायणहिटीबाट नागार्जुनमा थन्क्याउने क्रान्तिकारी नेपाली जनताले यी राजाशाही नेतालाई थन्क्याउन एक इञ्च पनि नेपाली भूमि नदिने निश्चित छ।
शासक दलका चार खम्बा नेताहरूलाई नेपाली कामदार जनताको तर्फबाट बेलैमा सचेत गराउन चाहन्छु। तिमीहरू चुनावमा अनेक हर्कत गरेर ठूलो दल बन्ने बित्तिकै र सरकारमा जानेबित्तिकै स्वघोषित भगवान बन्न खोज्यौ र जसले जे मागे पनि तथास्तु भन्दै हिंड्यौ। व्यवहारमा कसैका कुनै पनि माग पूरा नगर्ने तर तथास्तु भन्दै हिंड्ने तिमीहरूको स्वघोषित भगवान बन्ने होडबाजीले आज देशमा अराजकता मच्चिने सम्भावना छ, जातीय र क्षेत्रीय द्वन्द्वको बिजारोपण भएको छ, हिंसात्मक गतिविधि बढेको छ। यसबाट नेपाली जनताबीचको आपसी सद्भाव खल्बलिएमा र देशको सार्वभौमिकता गुम्ने खतरा बढेमा यसको सम्पूर्ण जिम्मेवारी तिमीहरूले नै लिनुपर्छ। त्यतिबेला देशभक्त एवं क्रान्तिकारी जनताले तिमीहरूलाई दूधमा परेको झिङ्गालाई जस्तै गरी फाल्नेछन्।
|