September 3, 2018

समय सन्दर्भ

बाँकि समय सन्दर्भ
 

नेक्रायुसङ्घको पाँचौं राष्ट्रिय सम्मेलनमा सहभागी हुँदा–४

रामकृष्ण प्रजापति 

चैत २९ गते बिहान ५ बजे साथीहरूले उठाउनुभयो। उठेर स्नान गरें र रारा तालको छेउछेउमा घुुम्यौं। तालमा साबुन लगाई नुहाउन नपाइने, फोहर गर्न नपाइने आदि प्रावधानसहितका साइनबोर्डहरू राखिएका थिए। तालमै छेउतिर काठका कटेजहरू छन्। त्यसमा रारा तालको क्षेत्रफल, लम्बाइ, चौडाइ, उचाइ आदि लेखिएको थियो। डुङ्गामा बसेर फोटो खिच्यौं। रारा राष्ट्रिय निकुञ्जसँगै सैनिक क्याम्प थियो। त्यहाँको इन्चार्ज भक्तपुरको कटुञ्जेका सन्तोष ढुङ्गेल क्याप्टेन रहेछन्। उनी उद्धव सरका विद्यार्थी भएकाले र भक्तपुरबाट टोली आएको छ भनी सुनेर भेट्न आए। साथी प्रकाशले मलाई हिंड्न गार्‍हो भएकोले अघिल्लो टोलीसँग गइराख्न भने। म, रामकृष्ण धराला र कर्मा सर अगाडि हिंड्यौं। अरु सबै साथीहरू सैनिकहरूको सहयोगमा डुङ्गामा पालैपालो घुमेका रहेछन्। हामीमात्र छुट्यौं। रारा पुगेर डुङ्गामा बसेर रारा घुम्न नपाउँदा त्यतिको दुःख गरेर आएको खेर गएजस्तै पनि लाग्यो। त्यही एकदिन बढी बस्न पाए पनि हुन्थ्यो भन्ने लागेको थियो। पछि मनमा आयो – यो पहिलो र अन्तिम यात्रा नभएकोले पछि पनि जान सक्छौं।  

अलि तल आएपछि स्वास्थ्य उपचौकी र पसल पनि भेटियो। कुराकानीकै क्रममा दैलेखको एक टोली साथीहरू हिजो राति त्यहाँ बास बसेर बिहानमात्र हिंडेको थाहा पायौं। तल पुगेपछि खोल्सा देखियो। खोल्साको छेउबाट गए अलि लामो र सजिलो, जङ्गल हँुदै चुच्चेमाडेबाट गए बाटो छोटो हुने भनेकोले चुच्चेमाडेको बाटोबाट हिंड्यौं। जङ्गलको ठाडो उकालो कठिन थियो तर त्यो सकिने बित्तिकै हिउँले भरिएको हिमाल देखियो। त्यो चुच्चेमाडेको लेक थियो। त्यहाँ पुग्दासम्म उपेन्द्र दाइले हामीलाई भेटाउनुभयो। उहाँसँग क्यामेरा पनि थियो। हिउँ पग्लिरहेकोले बाटो हिलाम्मे थियो। हिउँ ढाकेको पहाड देखेपछि हामीलाई के चाहियो र हिउँमा खेल्दै फोटो खिच्दै अगाडि बढ्यौं। खानेपानी भने थिएन। पानी प्यास लागेर गाह्रो भएको थियो। साथी रामकृष्ण धरालाले सफा हिउँ लिएर आए र हामीले चाउचाउको मसला हालेर हिउँ खायौं। पानीको प्याससँगै भोक पनि मेटियो। पहाडको चुच्चोमा पुगेपछि राराताल जङ्गलको बीचमा हरियो गोलाकारमा देखियो।  

त्यसपछि बाईबाई रारा भन्दै अगाडि बढ्दै जाँदा हिउँको पहाड सकियो र त्यहाँबाट मुगु र जुम्ला सिमाना सुरु भएको जानकारी साथी रामकृष्ण धरालाले दिए। ओरालो लाग्दै गोरुसिंगे पुग्दासम्ममा २ बजेको थियो। त्यहाँ दैलेखका साथीहरू खाना खान सकाएर हिंड्नलाई तम्तयार बसेका भेटायौं। उनीहरू ३१ जना नेमकिपाका केन्द्रीय सदस्य बजिरसिंह विकको नेतृत्वमा थिए।  

खाना पसलमा पकाउन सहयोग गर्‍यौं। रामकृष्ण धरालाले भात पकाउनलाई दनादन काठ चिरीदिए। उपेन्द्र दाइले दाल पिन्नुभयो। मैले आलु पखालेर काट्न थालें। त्यसपछि गंगाराम ज्याख्व दाइसँगै आएका किसान सङ्घका दाइहरूले पनि सहयोग गरे। छिट्टै खाना पकाएर अगाडि नै खाएर हिंड्नमात्र के लाग्यौं, असिनापानी जोडले पर्‍यो। मलाई त हिउँ परेकोजस्तो लागेको थियो। अलि कम भएपछि ज्ञानु दाइ, म र कर्मा सर हिंड्यौं। पर पुगेपछि ठूलो असिना र पानी परेपछि पहाड नै हिउँले भरेको जस्तो सेताम्ये भएको थियो। पछि आएका साथीहरू बाटो ओरालो आएपछि चिप्लो भएर धेरै साथीहरू लडेको सुन्यौं।  

त्यसपछि अर्को पहाडबाट तल झर्न पानी परेकोले बाटो हिलाम्मे थियो। एकदम चिप्लो र ठाडो भएकोले भिरपाखाबाट घाँस समात्दै तल झर्‍यौं। हामी पाँच दसजना तल पुगेपछि ठूलो पानी पर्‍यो अनि हिउँ पर्‍यो। पछाडिका साथीहरू कसरी झर्ने होला भनेर तल ओढारमा आगो तापेर बस्यौं। त्यसपछि सबैै साथीहरूले एकदम कष्टका साथ जीवनमरणको सवाल, नयाँ जीवनदान पाएको, पुनर्जन्म भएको भन्दै कुरा सुनाए। त्यहाँबाट तल झरेर बोटा हुँदै गोटीज्युला, सिन्जामा रातको ९ बजे पुग्यौं। अरु साथीहरू १० बजेमात्र आइपुगे। सबभन्दा पछाडि प्रकाश र मिरा थिए। त्यस रात हामी त्यहीको एक होटलमा दैलेखको टोलीसँगै बास बस्यौं।  

चैत ३० गते बिहान सबेरै उठ्यौं। अलि तल बजार थियो। त्यहाँदेखि मोटर चल्ने फराकिलो बाटो भेटियो। तर गाडी चलिरहेको थिएन। बाटोमा ठूला खाल्डाखुल्डीहरू भएकोले र सेनाको स्वीकृतिविना गाडी चल्न नदिने भएकोले गाडी नचलेको रहेछ। बाटो ओरालो उकालो खासै नभएकोले र बाटो राम्रो भएकोले म पनि साथीहरसँगै सजिलै लखरलखर हिडँे। विराट, पेेलेचौर, पाण्डव गुफा, रोकाया गाउँ, हुँदै नराकोट पुगेर ११ः३० बजेतिर खाना खायौं। नराकोट गाविस नेमकिपाको गाविस अध्यक्षदेखि वडाअध्यक्षसम्म जित्ने ठाउँ भन्ने जानकारी मिल्यो। त्यो ठाउँमा अलि राम्रो, सफा र अङ्ग्रेजी माध्यमबाट पढाइ हुने संस्थागत विद्यालय पनि भेटायौं। त्यहाँ पसलमा सीडीएमए फोन भएकोले धेरैले घरमा र साथीहरूलाई फोन गरे। हामीले खाना खाएको पसलका साहुजी अमृतबहादुर बुढा नै पार्टी जिल्ला सदस्य र संविधानसभा निर्वाचनमा दाङबाट पार्टीको उम्मेदवार हुनुभएका रहेछन्। साथी प्रकाशले परिचय गराएपछि मात्र हामीले थाहा पायौं। खाना खाएर त्यहाँबाट हामी फेरि हिँड्यौं। दिनभर हिंँडेर बेलुका ५ः३० बजेतिर नाग्मबजार पुग्यौं। साथी प्रकाशले साथीहरूका निम्ति पुग्ने गरी लजहरूमा कोठा खोजे। प्रकाश, म, रामकृष्ण धराला, राजन कोजू, सुविन सितिखु र महिला साथीहरू एउटा लजमा बसेका थियौं। त्यसदिन नयाँ वर्षको आगमनको दिन थियो। खाना खाई सकेपछि नयाँ वर्षको योजना के छ? भन्ने विषयमा छलफल भयो। सबैले आ–आफ्ना योजना सुनाए। त्यहाँ मजस्ता विनायोजनाका यात्रु पनि थिए। ११ः०० बजेतिर हामी सुत्न गयौं। 

२०६९ वैशाख १ गते बिहान ४ः०० बजे उठेर स्नान गरें। नाग्मबाट ५ः३० बजे हिंड्यौं। कालीकोटको मान्मामा ११ः०० बजेतिर नै पुगियो। त्यहाँबाट तल झरेर तिला नदी किनारमा ११ः१५ मा पुगेर खाना पकाएर खाना खायौं। मान्मबजारमा चितवनका विद्यार्थी भाइ रविन प्रधान छुटेको कसैलाई होसै पाएन। खाना खाइरहेको बेला आएको पजेरोबाट उनी ओर्ले पछिमात्र हामीलाई उनी छुटेको थाहा भयो। दैलेखको राकम, तल्लो डुंगेश्वर हँुदै माथिल्लो डुंगेश्वरमा बेलुका ८ः३० बजे पुग्यौं। त्यहाँ नेपाल क्रान्तिकारी महिला सङघका केन्द्रीय सदस्य गोमा साउद दिदी भेटेर हामी लज खोज्न गयौं। सबै साथीहरू ३/४ वटा लजमा मिलेर बास बस्यौं। 

वैशाख २ गते विहान ५ः०० बजे नै तयार हुँदा पनि ६ बजेमात्र हिंड्यौं। सुर्खेतको बुलबुले तालमा गएर खाना पकाएर खायौं। त्यहाँ धेरै साथीहरूले नुहाउनुभयो र मैले पनि नुहाएँ। बाटोमा आउँदै गर्दा भोलिदेखि ३ दिने बन्दको हल्ला सुनियो। त्यसपछि दिन र रात गरेर पनि काठमाडौं पुग्नुपर्ने कुरामा सबैको जोड रह्यो। चार पाँच घण्टा बस गुडाएर बसका गुरुजीलाई ज्ञानु दाइले पनि सहयोग गर्नुभयो। बेलुका दाउनेमा खाना खाएर रातभर गाडी गुडाउँदै बिहान ६ बजे भक्तपुर आइ पुग्यौं। 

समाप्त