September 3, 2018

समय सन्दर्भ

बाँकि समय सन्दर्भ
 

प्रस्तर मूर्तिकलाका अनुप नमुना – इताछें गणेश

ओम धौभडेल 

नेवार वस्तीको एउटा पहिचानको रुपमा त्यहाँका टोल वस्तीमा पाइने गणेशको मूर्ति कुनै नौलो विषयवस्तु होइन। कुनै पनि शुभकार्य गर्दा सुरुमा पुजिने गणेशको मूर्ति हुनु अनिवार्य मानिन्छ। यसकारण भक्तपुरमा साना ठूला प्रायः टोल/इलाका/वस्तीमा गणेशको मूर्ति प्रशस्त स्थापना भएको देख्न सकिन्छ। अझ कतिपय टोल/इलाका/बस्तीकै नाम गणेशसँगै जोडिएर आउनु चाहिँ महत्त्वपूर्ण मान्न सकिन्छ। जस्तो गोलमढी गणेश, याछें गणेश, सकोलान (सँला) गणेश, इटाछे गणेश, च्वङ्गापाखे गणेश। त्यसमा पनि भक्तपुर वडा नं. १५ स्थित इताछें गणेशको आफ्नै महत्त्व छ, विशेषता छ। भक्तपुरमा मात्र नभई नेपालकै मूर्तिकलाको इतिहासमा इताछें गणेशको सबैभन्दा ठूलो विशेषता भनेको यो गणेशको नृत्यरत रुप हो। त्यसो त भक्तपुरमा यस्ता नृत्यरत अन्य गणेशहरू नभएको होइन। तलेजु पस्ने स्वर्णढोकासँगैको पध्वाखा गणेश होस् या हनुमानघाटस्थित विशाल शिवलिङछेउको तीनमुखे गणेश होस् या क्वाछेस्थित चण्डी भगवतीसँगैको गणेश ती सबै यसका उदाहरणहरू हुन्। तर इताछें गणेशको उल्लेख नगरी ती अन्य गणेशहरूको चर्चा गर्नु सान्दर्भिक हुन आउँदैन। 

भक्तपुर दरवार क्षेत्रभन्दा पश्चिमतर्फ पर्ने टोल इलाकामा खौमा र इताछें हुन आउँछ। त्यसमा पनि इताछें भक्तपुरका मल्लकालीन २४ टोल इलाकामा एक प्रमुख टोल इलाका हो। यहाँ 'इता' शब्दको घर बनाउने इँटा बुझाउँदैन। यसले त दिशा जनाउँछ। इतापाखे, इताछें, इतबुँ यसको उदाहरण हो। दिनभरि सूर्यको प्रकाश लाग्ने ठाउँको दक्षिणतर्फको भागलाई 'याता' भनिन्छ भन्ने त्यसको उत्तरतर्फको भाग 'इता' हो। दोक्छे, तेखाचो, वंशगोपाल, तापालाछीजस्ता ठाउँहरूबाट अलि उकालोमा परेर दिनभरि घाम लागे तापनि मूल बाटो (प्रदक्षिणा मार्ग) भन्दा उत्तरतर्फ बाक्लो बस्ती नै इँताछे कहलिन्छ। जहाँ उक्त बस्तीको समीप भिरालो परेको ठाउँमा उही मूलबाटोसँगै जोडिने गरी दक्षिणाभिमुखमा इताछें गणेश स्थापना गरिएको छ। यही इताछें गणेशसँगै पछि पाटीसहितको देवगृह (द्यःछे) निर्माण भयो। उक्त देवगृह हाल निर्माणाधीन छ। 

नेपालमा सबैभन्दा बढी पाइने मूर्तिहरूमा गणेशको पनि पर्छ। तापनि नृत्यरत गणेशका मूर्तिहरू थोरैमात्र छन्। जुन मूर्तिहरू विशेषगरी शिवको ताण्डव नृत्यसँग मिल्दोजुल्दो हुन आउँछ। बायाँ खुट्टाले मात्र टेकी नृत्यरत यो गणेशको मूर्तिका अङ्गहरू अत्यन्त सुन्दर छ। चारवटा हातले सुसज्जित यो मूर्तिमा माथिल्ला दुई हातहरूमा परशु र अक्षमाला छ भने तल्लो दुई हातहरूमा लड्डू र एक दन्त छ। यी आमुध र मुकुटले मूर्ति अत्यन्त सजीव देखिन्छ। यज्ञोपवित अर्थात् जनै नागलाई मानिएको छ। छेउमा बाहन मूसा रहेको छ। अत्यन्त सन्तुलित रुपमा उभिएको यो मूर्तिमा अन्य नृत्यरत गणेशमा झैं पिडौंलामा तीनकुने चाँप कुँदिएको देखिंदैन। विशेषगरी नेपाली मूर्तिकारहरूले नृत्यरत गणेशको मूर्ति बनाउँदा पछिल्ला प्रायः मूर्तिहरूमा पिडौंलामा चाँप कुँदिएको भए तापनि भक्तपुरको इताछें गणेशमा सो नदेखिएको हुँदा यो मूर्ति प्राचीन ठहरिन आउँछ। अझ स्पष्ट भाषामा भन्ने हो भने चाँप कुँदिने प्रचलन सोर्‍हौं सत्रौं शताब्दीतिरको भएको सन्दर्भमा इताछें गणेश सोभन्दा अगाडिकै मूर्ति ठहरिन्छ। लिच्छविकालमा यहाँ प्रशस्त उमामहेश्वरका मूर्ति बनाउने क्रममा फलकमा नृृत्यरत गणेशसहित शिव–पार्वती परिवारको समूहमा मूर्ति बनाउनेबाट पछि एक्लै नृत्यरत गणेशको मात्र मूर्ति बनाउने क्रममा इताछें गणेशको निर्माण भएको आँकलन गर्नसकिन्छ। हाम्रा शास्त्रहरूमा समेत नृत्य, गायन र वादन अर्थात् नृत्य, गीत, सङ्गीतमा समेत गणेशको स्थान भएको सन्दर्भमा महान् कलाकारहरूले विना कुनै आधार यस्ता मूर्तिहरू अवश्य बनाएका होइनन्। कृष्णले कालिय दमनपश्चात् नागमाथि आसन जमाई नृत्य गरेझैं शिव (नटराज) ले दाहिने खुट्टाले भार थामी अपस्मारमाथि नृत्य गरेझैं यहाँ इताछें गणेशले चोर प्रवृत्ति र अरुको विघ्न गर्ने प्रवृत्तिमाथि दमन गरी ताण्डव नृत्य गरिरहेको देखिन्छ।  

वास्तवमा इताछें गणेशको यो आकर्षक मूर्तिको दर्शनपश्चात् हरेकलाई मनमा आनन्दता अनि प्रशन्नता उत्पन्न भई आफैं नृत्य गरुँ गरुँ झैं लाग्नसक्छ। यत्रो सजीव एवम् सुन्दर मूर्ति बनाउने मूर्तिकार अज्ञात भए पनि महान् थियो भन्न कर लाग्छ। भनिन्छ, इताछें गणेशको यो सुन्दर मूर्ति बनाइसकेपछि उक्त मूर्तिकारको हात काटियो रे। पलाञ्चोक भगवती, नाला भगवती, शोभा भगवती, नक्साल भगवती, उग्रचण्डी भगवती तथा भैरवका मूर्तिहरूसँग पनि यही कथा जोडिएको छ। तसर्थ इताछें गणेश माथि उल्लेखित मूर्तिहरूकै दाँजोको मूर्ति रहेछ भन्ने स्पष्ट हुन्छ। त्यसबाहेक इताछें गणेश इताछें टोलको हालको स्थानको लागि नभई कुनै अर्कै ठाउँको लागि बनाएको गणेश मानिन्छ। सो अज्ञात स्थानमा लैजाँदै गर्दा इताछेंको हालको स्थानमा गर्‍हुँगो भई बिसाएको रहेछ। पछि उठाउन खोज्दा ज्यान गए पनि उठाउन नसक्दा सोही स्थानमा स्थापना भयो भन्ने मान्यता छ। वास्तवमा इताछें गणेश आकर्षक भएको कारण यो कहावत चलेकेा अनुमान गर्नसकिन्छ। जे होस् स्थानीय जनताबीच ज्यादै ठूलो महत्त्व र लोकप्रियता रहेको कारणले गणेशको नामाकरण नै इताछें गणेश कहलिनु अत्यन्त सान्दर्भिक देखिन आउँछ। स्थानीय टोलवासीहरूले जुनसुकै शुभकार्य गर्दा सुरुमै पूजा गर्नुपर्ने यो गणेशलाई बिस्केटको समयमा द्यःक्वाहाँ बिज्याकेगु, द्यःस्वगं बियेगु अनि द्यः थाहाँ बिज्याकेगु जात्रा गरिन्छ। नवदुर्गा भवानीको ङा लाकेगु इताछें टोलमा गरिंदा नवदुर्गा भवानीले समेत भक्तिभाव देखाउने भएकोले यसको महत्त्व अरु बढेको र भक्तपुर प्रदक्षिणा मार्गमा रहेकेा हुँदा भक्तपुरमा मनाइने प्रायः जात्रा संस्कृति सोही गणेशको सम्मुख गएर गरिने अर्को महत्त्वपूर्ण विशेषता हो।