September 3, 2018

समय सन्दर्भ

बाँकि समय सन्दर्भ
 

के तिम्रो निन्द्रा अझै खुलेको छैन?

 कति सुतिरहन्छौ, अब बिउँझ। सुत्ने बेला होइन यो। तिम्रो सपनालाई हाम्रा नेताहरूले चकनाचुर बनाइसके। तैपनि सुतिरहन्छौं अब पनि उठ्दैनौ भने कहिले उठ्छौ? सपनीमा रम्ने होइन, विपनीमा रम्न सिक। यहाँ सपना देखेर केही हुँदैन। सपना साकारको निम्ति लड्न सिक। हाम्रो सपनाको मोल माग। त्यो लामो पर्खाइको व्याज माग। हामीले दिइएको भोटको परिणाम माग। उठ जाग नेपाली जनता।
    दुई वर्षभित्र संविधान बनाउँछु भनेर वाचा गरेका हाम्रा नेताहरू पटकपटक संविधानसभाको म्याद थप्दा पनि समयमै संविधान बनाउन सकिन। दुई वर्ष भनेर चार वर्षको लामो अवधि पार गर्दा पनि समयमै संविधान बनाउन नसकेर सरकारले संविधानसभा नै भङ्ग गर्नुपर्ने अवस्थाको सिर्जना गर्‍यो। नेपाली जनताले जेठ १४ मा संविधान आउँछ भनेर विश्वास गरेका थिए तर आएन। संविधानमार्फत् सबै जनताको सुख, शान्ति, खुसी, आफ्नो अधिकार सुनिश्चित हुन्छ भनेर आशा गरेका थिए। तर संविधानसभा नै भङ्ग भयो र आशा निरासामा परिणत भयो।
    त्यसैले उठ जाग नेपाली जनता। गाउँ–गाउँ, बस्ती–बस्तीबाट उठ। सपना देखाएर सपना तोड्नेविरुद्ध। हाम्रो रगत पसिनाको मोल नबुझ्नेविरुद्ध, सहिदको बलिदानलाई नसम्भि्कने विरुद्ध, आफ्नो मात्र दुलो सोझाउनेको विरुद्ध। हामीलाई आपसमा अडाएर आफू रमाउनेको विरुद्ध, जातीय कुरा ल्याई जातीय सद्भाव बिथोल्ने विरुद्ध, राजनीतिलाई पैसा कमाउने जागिर बनाउनेको विरुद्ध, कुर्सीको निम्ति जनताको आकाङ्क्षालाई लत्याउनेहरूको विरुद्ध आवाज बुलन्द गरौं। उठ बिउँझ सुत्ने बेला होइन यो। नेताको चिला कुरामा होइन यथार्थलाई बुझौं। देशको अस्तित्व रक्षाको निम्ति उठ जाग।
– अज्नवी