|
भाग – एक संविधानसभा निर्वाचनमा नेपाल मजदुर किसान पार्टी (भक्तपुर जिल्ला विशेष) – १
सुन्दर राजचल १.१ शोधपत्रको परिचय यो शोधपत्रको शीर्षक 'संविधानसभा निर्वाचनमा नेपाल मजदुर किसान पार्टी' (भक्तपुर जिल्ला विशेष) रहेको छ। १.२ अध्ययनका उद्देश्यहरू: हरेक विषयको अध्ययनका आ–आफ्नै उद्देश्यहरू निर्धारण गरिएका हुन्छन्। संविधानसभा चुनावमा नेमकिपा (सन्दर्भ भक्तपुर जिल्ला विशेष) को अध्ययनको शीर्षकमा भएका केही उद्देश्यहरूलाई निम्नानुसार प्रस्तुत गर्नसकिन्छ। क) संविधानसभा आफ्नो पक्षलाई विजयी बनाउनका लागि नेमकिपाले केकस्तो भूमिका निभायो भनी व्याख्या गर्नु। ख) नेमकिपा केकस्ता एजेण्डाहरू लिएर चुनावमा गयो भन्नेबारे स्पष्ट पार्नु। ग) नेमकिपाद्वारा चुनावताका भए गरेका कार्यक्रमहरूबारे जानकारी गराउनु। घ) प्रतिगमनविरोधी आन्दोलनसँगै उठेको संविधानसभाको विषयमा नेमकिपाको धारणा स्पष्ट पार्नु। ङ) नेपालको कम्युनिष्ट आन्दोलनमा आफूलाई प्रकाशस्तम्भको रुपमा चिनाउँदै आएको र हालसम्मको इतिहासमा इमानदारिता र नैतिकताको राजनीतिलाई प्राथमिकता दिँदै आएको पार्टीको बारेमा केही कुराहरू स्पष्ट पार्ने। १.३ अध्ययनको महत्त्व नेपालको कम्युनिष्ट आन्दोलनमा अवसरवाद र संशोधनवादको विरोध गर्दै आएको नेमकिपा के हो? यसका चुनावी एजेण्डाहरू के के हुन्? भक्तपुर जिल्लामा यसको साङ्गठनिक संरचना कस्तो छ? इत्यादि विषयहरूमा जानकारी गराउन यो अध्ययनले महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास लिएको छ। यस हिसाबले यो अध्ययन 'संविधानसभा निर्वाचनमा नेमकिपा' (भक्तपुर जिल्ला विशेष) निकै महत्त्वपूर्ण रहेको छ। १.४ समस्या कथन संविधानसभा निर्वाचनमा नेमकिपा (भक्तपुर जिल्ला विशेष) भन्ने शीर्षक अनुसन्धान गर्ने योजना बनाउन निम्नलिखित प्रश्नहरूलाई समेट्नुपर्दछ। क) संविधानसभा निर्वाचनका लागि नेमकिपाको तयारी कस्तो रह्यो साथै उसले तयार गरेका चुनावी आधारहरू के रहे? ख) संविधानसभा निर्वाचनका लागि नेमकिपाको गतिविधिले के कस्तो परिणाम ल्यायो? ग) भक्तपुरमा नेमकिपाको चुनावी कार्यक्रम के कस्तो रह्यो? १.५ अध्ययन विधि यस विषयको अध्ययन पद्धतिको स्वरुप व्याख्यात्मक विधिमा आधारित छ। सकेसम्म बढी र सम्बन्धित साहित्यको अध्ययन यस विषयको स्रोतको रुपमा प्रयोग भएको छ। यसका साथै सम्बन्धित क्षेत्रका स्थानीय बासिन्दाहरूसँग आवश्यकताअनुसार अन्तर्वार्ता लिइएको छ। विषयवस्तुमा जानकार व्यक्तित्वहरूसँगको प्रत्यक्ष छलफललाई यस अध्ययनको थप स्रोत हो। यस अतिरिक्त सूचनाका स्रोतहरू मुख्यरुपमा पुस्तकालय, वेभसाइट, राष्ट्रिय तथ्याङ्क विभाग तथा निर्वाचन आयोगद्वारा प्रकाशित कृतिहरू छन्। १.६ अध्ययनको सीमा संविधानसभा निर्वाचनमा नेमकिपा शोधपत्र म अध्ययनकर्ताको हैसियतले सकेसम्म भक्तपुरका सम्पूर्ण क्षेत्र समेट्ने जमर्को गरेको छु। यो अध्ययन तथ्याङ्कीय आधारमा भक्तपुर जिल्लाभन्दा बाहिर जानेछैन। १.७ साहित्य समीक्षा कुनै पनि विषयको शोधपत्र तयार गर्नु अत्यन्त कठिन विषय हो। शोधपत्र मूलतः अनुसन्धान पद्दतिसँग सम्बन्धित भएको हुन्छ। यस हिसाबले शोधपत्र तयार गर्ने कुनै पनि शोधकर्ताले आफूले रोजेको विषयमा प्रकाशित लेख, रचना, पुस्तक, पर्चा, समाचारपत्र पत्रिकाहरूको अध्ययन अनिवार्य हुन्छ। त्यसअनुरुप यो शोधपत्र तयार गर्न पनि प्रकाशित पुस्तक, पत्रपत्रिका, बुलेटिन, पर्चा, अन्तर्वार्ता, भनाइ एवम् ऐन नियमको अध्ययन गरिएको छ। साथै पुस्तकालय, पार्टी प्रकाशन र पार्टीसँग सम्बन्धित धेरै मानिसहरूको सहयोगमा यो शोधपत्र तयार गरिएको हो। यसक्रममा संविधानसभा निर्वाचनको सन्दर्भमा नेमकिपाको दृष्टिकोण बुझ्नका लागि नेमकिपा केन्द्रीय समितिद्वारा प्रकाशित पार्टी अध्यक्ष नारायणमान बिजुक्छेंको अन्तर्वार्ताको सङ्ग्रह साहित्यको रुपमा लिइएको छ। नेमकिपाले विभिन्न मितिमा प्रकाशित गरेका पर्चा, पम्प्लेटहरू र भक्तपुरबाट प्रकाशित हुने 'मजदुर' दैनिक र 'श्रमिक' साप्ताहिकमा आउने संविधानसभा र नेमकिपासँग सम्बन्धित लेख, रचना, समाचारहरूको अध्ययन र प्रतिगमन विरोधी आन्दोलनमा का. रोहित भन्ने सोही प्रकाशन समितिको पुस्तकले नेमकिपाको वैचारिक र वर्गीय राजनीति अनि सामन्तवादविरोधी आन्दोलनका विभिन्न पक्षहरू र संविधानसभासँग सम्बन्धित केही राजनैतिक पक्षहरूलाई उठाएको पाइन्छ। डा. रत्न कमल वैद्य, परशुराम घिमिरे, हस्तबहादुर के.सी., काशीराज दाहाल, मधु आचार्य, प्रा. लोकराज वराल, सुनिल प्रजापतिलगायत दर्जनौं लेखकहरूका लेख, रचना र संविधानसभासँग सम्बन्धित पुस्तकहरूमा संविधानसभाबाट नयाँ संविधान निर्माण गर्ने प्रक्रिया, सम्भावनाहरू, ध्यान दिनुपर्ने प्रमुख कुराहरू, संविधानसभासँग सम्बन्धित विविध पक्षलाई विश्लेषण गरिएको भए तापनि संविधानसभा व्यापक जनताको हितमा कुन अवस्थाबाट अगाडि बढेको खण्डमा हुनसक्छ भन्ने नेमकिपाको विचारलाई समेट्ने कार्य अत्यन्त न्यून देखिन्छ। यही कुरालाई मध्यनजर गरी नेमकिपाले विगत १८ वर्ष अगाडिदेखि 'श्रमिक' साप्ताहिक र विगत १३ वर्षदेखि 'मजदुर' दैनिक पत्रिका प्रकाशित गर्नुका साथै पार्टीका भातृ सङ्गठनहरूले बेला बेलामा प्रकाशित बुलेटिन, पत्रपत्रिका तथा नेमकिपा केन्द्रीय प्रकाशन विभागले प्रकाशित गरेको सयौं पुस्तकहरू भए तापनि एकीकृत रुपमा नेमकिपा र भक्तपुर जिल्लामा यसले निभाएको भूमिका बुझ्न सजिलो सङ्ग्रह नभएकोले शोधकर्ताले यस विषयमा कलम चलाएको हो। नेपालको राजनीतिमा प्रकाशस्तम्भको रुपमा इमादानरीपूर्वक नैतिकताको राजनीतिलाई अगाडि ल्याउँदै नेपालको कम्युनिष्ट आन्दोलनमा आफ्नो छुट्टै धार स्थापित गर्न सफल नेमकिपाका कुराहरूलाई लेखक, बुद्धिजीवी, प्राध्यापक, शिक्षक तथा विद्यार्थीहरूमाझ पुर्याउने हेतुले शोधकर्ताले यो शोधपत्र तयार गरी उक्त काममा सहयोग गर्न खोजिएको हो। १.८ शोधपत्रको सामान्य परिचय संविधान देशको मूल कानुन हो, अन्य सम्पूर्ण कानुनहरू संविधानसँग बाझिएको हकमा स्वतः खारेज वा अमान्य हुन्छ। संविधानले जनताका मौलिक हकअधिकार सुनिश्चित गर्नुका साथै सरकारको स्वरुपको निर्धारण गर्दछ र सरकारी अङ्गहरूको रुपमा रहेको कार्यपालिका, व्यवस्थापिका र न्यायपालिकाको शक्ति निर्धारण गर्दछ। संविधानको निर्माण प्रक्रिया हेर्दा मूलतः दुई प्रकारका संविधान रहेको पाइन्छ र दुई किसिमबाट यसको निर्माण हुने गरेको पाइन्छ। संविधानसभाबाट र आयोग वा समितिबाट। विभिन्न समयमा विभिन्न देशका संविधानहरू कुनै देशमा विदेशीहरूसहितको टोलीबाट नयाँ नयाँ सविधानहरू बनेको पाइन्छ। नेपालले धेरैवटा संविधानको निर्माण गरिसकेको भए तापनि संसदबाट बन्न लागेको यो पहिलो संविधान हो। संविधानले सरकारको स्वरुप टुङ्गो लगाउनुका साथै सरकारको स्थापना गर्न महत्त्वपूर्ण भूमिका खेलेको हुन्छ। यसैको लागि नेपालमा संविधानसभाको चुनाव सफलताका साथ सम्पन्न भएको छ। यस शोधपत्र संविधानसभा निर्वाचनमा नेमकिपा (भक्तपुर जिल्ला विशेष) मा सम्पन्न भएका नेमकिपाका गतिविधिहरू र संविधानसभा निर्वाचनबारे नेमकिपाको धारणा, चुनावी आधारहरू र परिणामहरूबारे प्रकाश पार्न खोजिएको छ। १.९ अध्ययनको संरचना यस शोधपत्रलाई ७ भागमा विभाजन गरी तल उल्लेखित शीर्षकअन्तर्गतको ढाँचामा राखी अध्ययन गरिएको छ:― यस परिच्छेदमा शोधपत्रको भाग एकमा शोधपत्रको परिचय भाग दुईमा भक्तपुर जिल्ला एक परिचय भाग तीनमा नेमकिपाको छोटो परिचय भाग चारमा नेपालमा संविधानसभाको विकासक्रम भाग पाँचमा नेमकिपाको गतिविधि र चुनावी कार्यक्रमहरू भाग छमा संविधानसभा निर्वाचन र परिणामहरू भाग सातमा निष्कर्ष र सुझावहरू प्रस्तुत गरिएको छ। (त्रिभुवन विश्वविद्यालय राजनीतिशास्त्र केन्द्रीय विभाग कीर्तिपुरको स्नातकोत्तरका विद्यार्थी सुन्दर राजचलले संविधानसभा निर्वाचनमा 'नेपाल मजुदुर किसान पार्टी (भक्तपुर जिल्ला विशेष)' विषयमा अनुसन्धान गरी त्रिविलाई प्रस्तुत गर्नुभएको शोधपत्र पाठकको अध्ययनको निम्ति प्रस्तुत छ – सम्पादक)
|