September 3, 2018

समय सन्दर्भ

बाँकि समय सन्दर्भ
 

काठमाडौं बस्न अयोग्य भएछ

   हामी आज वातावरण दिवस मनाइरहेका छौं। वातावरणका तथ्याङ्क भने निराशाजनक छ। कारण हामीले फेर्ने हावामा धुलोका कणहरूको मात्रा बढ्दो छ। वातावरण, विज्ञान तथा प्रविधि मन्त्रालयले स्थापना र सञ्चालन गरको वायुप्रदूषण अनुगमन केन्द्रहरूको तथ्याङ्कलाई केलाएर हेर्दा निष्कर्षमा पुग्न करै लाग्छ – काठमाडौं बस्न अयोग्य भएछ। यहाँको वायुमण्डलमा अति सूक्ष्म धूलोका कणहरूको मात्रा अत्याधिक छ, यस्ता कणहरू श्वासप्रश्वासको माध्यमद्वारा सजिलै मानिसको फोक्सोसम्म पुग्छन्। पार्टिकुलेट म्याटर अर्थात पीपीएम टेन भनेर चिनिने यस्ता धूलोका कणहरू काठमाडौंको शहरी क्षेत्रहरूमा ज्यादा छ। जसका कारण सबैभन्दा प्रताडित छन् पैदल यात्री, सडक छेउछाउ व्यापार व्यवसाय गर्नेहरू र मोटरसाइकल/साइकल चालकहरू। यी धूलोका कणहरू विश्व स्वास्थ्य संगठनले तोकेको मापदण्डभन्दा धेरै नै बढी छ। संसारका धेरै विकसित मुलुकमा यति धेरै मात्रामा प्रदूषण भएको खण्डमा विद्यालयदेखि कार्यालयहरू पनि बन्द गरेरै भए पनि प्रदूषण घटाउनु जरुरी हुन्छ।
    वातावरणविज्ञहरूको धारणामा उपत्यकामा दिउँसो सवारी साधनहरूले धूलो वायुमण्डलमा फैलाउँछन्। चिसोमा रातमा शीतका कारण दिउँसो उडेको धूलो सतहमा आउँछ फेरि भोलिपल्ट त्यो वायुमण्डलमा नै फैलन्छ। जुन धूलोका कणहरू श्वास प्रश्वासका माध्यमबाट सोझै फोक्सोमा पुग्छ। वातावरणीय प्रदूषणको स्वास्थ्यमा असर बारेमा यहाँ खासै उल्लेखनीय अनुसन्धानहरू भएको पाइँदैन। यतातिर हाम्रो सरकार र दाताको शरणमा बाँचेको वातावरण र स्वास्थ्य दुवै मन्त्रालयको प्राथमिकतामा पर्न सकेको छैन। नेपालमा वातारण संरक्षणको लागि एउटा ऐन पनि कार्यान्वयनमा छ भन्नुपर्ने अवस्था छ। यो वातारण संरक्षण ऐन २०५४ हो। यसका मर्महरूलाई कार्यरुपमा रुपान्तरण गर्न वातावरण संरक्षण नियमावली २०५४ पनि जारी भएको थियो। तर यी ऐन र नियमावली कार्यान्वयनको अवस्था हेर्दा लाग्छ यी नियम कानुनहरू उल्लङ्घन गर्नकै लागि हुन्।
– निमेष रेग्मी