September 3, 2018

समय सन्दर्भ

बाँकि समय सन्दर्भ
 

वातावरण र नखाएको विष

   'हरित अर्थतन्त्र: यसले के तपाईंलाई समावेश गरेको छ?' भन्ने नाराका साथ विश्व वातावरण दिवस मनाइँदै छ – आज जून ५ को दिन विश्वभर। संयुक्त राष्ट्रसङ्घको आह्वानअनुसार सन् १९७२ को जूनमा स्वीडेनको राजधानी स्टकहोममा वातावरणसम्बन्धी एक बृहत् अन्तर्राष्ट्रिय सम्मेलनको आयोजना भएको थियो। सम्मेलनबाट पारित प्रस्तावअनुसार १९७२ डिसेम्बर १५ तारिखका दिन बसेको संयुक्त राष्ट्र–सङ्घको साधारणसभाले प्रत्येक वर्ष जून ५ लाई विश्व वातावरण दिवसको रुपमा मनाउने निर्णय गरेपछि विश्वभर दिवस मनाउन थालिएको हो।
    वातावरण मानव अस्तित्वसँग मात्र होइन सारा चराचर जगतको अस्तित्वसँग प्रत्यक्ष सरोकार राख्ने विषय हो। पृथ्वीको तापक्रम वृद्धि, ओजन तह विनास, वायु प्रदूषणको विषय विश्वभरका जनताको जीवन–मरणको विषय हो, तसर्थ वातावरण दिवसले वातावरण विनासको कारण र कारकबारे संचेतना फैलाउनु सबभन्दा महत्त्वको कुरा हो।
    क्युवाली क्रान्तिका नेता फिडेल क्यास्ट्रोले गत जनवरीमा लेख्नुभएको संस्मरणको एक वाक्यले वातावरणीय परिवर्तनको खतराको गम्भीरतालाई अझ उजागर गर्छ – 'हामीलाई धेरै खतराहरूले चुनौती दिइरहेका छन्, तर आणविक युद्ध र वातावरणीय परिवर्तन ती चुनौतीमध्ये दुइटा निर्णायक छन् र ती दुवै स्थायी समाधानबाट धेरै टाढा छन्।' संसारको ५ प्रतिशतमात्र जनसङ्ख्या रहेको संरा अमेरिकाले २५ प्रतिशत कार्बनडाइअक्साइड ग्यास (हरित ग्यास) वायुमण्डलमा फाल्छ। वातावरण जोगाउन अन्तर्राष्ट्रिय प्रयासस्वरुप बनेको क्योटो अभिसन्धिमा संरा अमेरिकाले हस्ताक्षर गरेको छैन। यसलाई वातावरणवादीले मात्र होइन सबै मानव जगतले निन्दा गर्नैपर्छ।
    नखाएको विष लाग्दैन भन्छन्, तर वातावरण विनासमा कुनै भूमिका नभएका संसारका गरिब जनता यसको बढ्ता प्रभावित/शिकार भइरहेका छन्। मकै खाने मुसा, चोट पाउने भ्यागुतो भनेझैं विकसित र धनी देशको हरितगृह ग्यास उत्सर्जनबाट पृथ्वीको तापक्रम बढ्दो छ – परिणामतः समुद्री सतह बढेर समुद्र किनारका देशहरू डुब्दैछन्, हिमालका हिउँ पग्लिंदै छ, हिमताल फुटेर गाउँ डुबानमा पर्दै छन्, पहिरोले गाउँ–गाउँ बगाउँदै छ। नेपालबाट हरितगृह ग्यासको निष्काशन जम्मा शून्य दसमलव शून्य २५ प्रतिशत मात्रै हुन्छ। तर नेपालमा वार्षिक शून्य दसमलव ६ डिग्री सेल्सियसका दरले तापक्रम बढ्दै छ। हिमनदीहरू ३१ सेन्टिमिटरदेखि १ मिटरसम्म वार्षिक पग्लिनु, हिमतालमा पानी बढ्दै जाँदा फुटेर बाढीको खतरा बढ्नु, हिमरेखामाथि सर्दै जानु, बेसीमा पाइने वनस्पति पहाडमा, पहाडमा पाइने वनस्पति र जीवजन्तु अझ माथि हिमाली क्षेत्रमा पाइन थाल्नु, हिमाली वनस्पति र जीवन नास हुनु राष्ट्रिय र अन्तर्राष्ट्रिय चिन्ता र चासोको विषय हो।