|
पार्टी विचार पदसित साट्नु गलत
गौरव प्रधान जनयुद्धको रगत नाता भएकोले होला, एमाओवादी अध्यक्ष पुष्पकमल दाहालमा धेरै अभिमानी छ। घमण्ड गर्ने नेतामा अध्यक्ष दाहाल एक नम्बरमा पर्छ। उनलाई एक नम्बरको घमण्डी नेता भने पनि फरक पर्दैन। कार्यक्रममा बोल्दा उनी बेलाबखत 'ठूला दलको अध्यक्षको नाता' ले भनी हैसियत जोड्छन्। एमाओवादी ठूलो दल भएकोले पनि उनी मातिएका हुन्। तर ठूलो दल हुनु र मातिनु या अभिमानी हुनु अर्काे पाटो हो। ठूलो हुँदैमा घमण्डी हुनुपर्ने होइन। ठूलोको नाता जोडेर घमण्ड गर्नु कुनै नेतालाई सुहाउँदैन। ठूलो दल एमाओवादी हल्लाको राजनीति गर्ने पार्टी हो। कामभन्दा हल्ला बढी गर्ने पार्टीमा एमाओवादी अग्रपङ्क्तिमै पर्छ। हल्लाको राजनीतिले सुरुमा जनतामा प्रभाव पार्नसक्छ तर त्यो दिगो हुँदैन। कति मानिसहरू कुनै नेताले टाउको हल्लाउँदै, घाँटी नै सुक्ने गरी ठूलठूलो स्वरमा भाषण गरेपछि मख्ख पर्छन्। सबै नेता तथा कार्यकर्ताहरू सद्बुद्धिका छन् भने सोच्नु दृष्टिदोष हुनेछ। कति नेता तथा कार्यकर्ताहरू आफ्नो नेताले बोलेका कुरा सही या गलत सोच्दैनन्, पार्टीको सिद्धान्तअनुसार राजनीति भइरहेको हो या होइन मतलब राख्दैनन्, भाषण सुनेरै रासन र राहत पाउने जस्तो ठानेर झूटको खेती गरे पनि अन्धो समर्थन गर्छन्। अहिले एमाओवादी फुटको संघारमा पुगेको हल्ला पिटिंदै छ। पार्टी एक हुने भए पार्टी अध्यक्ष पदबाटै छोड्न तयार भएको विचार दाहालले व्यक्त गरे। यसले एमाओवादीको विवाद चरमोत्कर्षमा पुगेको आङ्कलन गर्नसकिन्छ। तर यो माओवादी अध्यक्ष दाहालको हल्ला हो कि गुलियो पोतेको विष हो या वैद्यको आक्रोश र चरमोत्कर्षमा पुगेको अन्तरकलहलाई सेलाउने औषधि हो? एमाओवादी अध्यक्ष दाहालको उक्त भनाइ सोही पार्टीकै उपाध्यक्ष मोहन वैद्यलाई नै विश्वास छैन। उपाध्यक्ष वैद्य भन्छन् – उहाँ (दाहाल) मुखले गर्दिनँ, सक्दिनँ कहिल्यै भन्नुहुन्न, सधैं गर्छु नै भन्नुहुन्छ, तर व्यवहार भने ठीक उल्टो हुन्छ। पार्टी अध्यक्ष नै छोड्न तयार भएका दाहालले वैद्य पक्षले असार १ गते राष्ट्रिय कार्यकर्ता भेला बोलाउँदा दाहाल पक्षले किन सोही दिन देशभर सभाको कार्यक्रम राखेको हो? राष्ट्रिय कार्यकर्ता भेला राखेकै दिन जनसभा राख्नु अन्तरकलह मिलाउन होइन थप द्वन्द्व चर्काउन गरेको सजिलै अनुमान गर्नसकिन्छ। सारमा वैद्य पक्षको राष्ट्रिय भेला असफल पार्न दाहाल पक्षले पचहत्तरै जिल्लामा जनसभा कार्यक्रम राखेको हो। पार्टी एकताका निम्ति अध्यक्ष पद छोड्न सक्नेले अन्तरकलहको आगोमा घ्यु थप्दैन। यसरी एमाओवादी अध्यक्ष हरपल झूटको खेती गर्छन्। झूटको खेती गरेरै आफ्ना नेता तथा कार्यकर्तालाई थामथुम पार्छन्। दाहालको त्यो कुटील चालमा वैद्य पक्ष फस्छ या फस्दैन? यो समयले बताउनेछ। असल कम्युनिष्ट नेताहरू कसैको कुचालमा फस्दैनन्, पार्टीको सिद्धान्त बेचेर, थाँती राखेर जसरी भए पनि पार्टी ठूलो बनाउने काम गर्दैनन्। जसरी भए पनि पार्टी ठूलो र धनी बनाउने दाहालको कार्यनीतिकै कारण अहिले एमाओवादीभित्र अन्तर्द्वन्द्व चर्केको हुनुपर्छ। त्यसो त माओवादीभित्र धेरैपटक अन्तर्द्वन्द्व भयो, धेरैपटक 'एकता' भएको घोषणा गरियो। पार्टी 'फुटेको छैन' पनि भन्ने अनि पार्टी 'एकता' भएको दाबी गर्ने प्रवृत्ति संस्थापन पक्षको नानीदेखिको बानीजस्तै भइसकेको छ। पार्टी नफुटिकन कसरी एकता हुन्छ? तर एमाओवादीभित्र पार्टी नफुटे पनि धेरैपटक 'एकता' भइसकेको छ। नफुटेको एमाओवादी अब कहिले एकता भएको खबर प्रकाशमा आउने हो? एमाओवादी संस्थापन पक्षले असार १५, १६ र १७ गते बोलाएको पार्टीको विस्तारित बैठकले कतै पार्टी एक भएको सन्देश बाँड्ने त होइन? एमाओवादीको संस्थापन पक्ष आत्मसमर्पणवादी र क्रान्तिकारी बाटो छोडेको संशोधनवादी र संसदवादी पार्टी हो भने असन्तुष्ट पक्षले कुनै पदसित सम्झौता गर्नु कम्युनिष्टको परिचय होइन। पार्टी उपाध्यक्ष वैद्यलाई अध्यक्ष बनाइएमा र महासचिव रामबहादुर थापालाई प्रम बनाउँदैमा आत्मसमर्पणवादी र संशोधनवादी नहुने होइन। के वैद्यको नेतृत्वमा एमाओवादी आएपछि पार्टी क्रान्तिकारी हुन्छ? के रामबहादुर थापालाई प्रम बनाएपछि देशको राजनीतिक निकास खुल्छ? पार्टीको सिद्धान्त र विचारलाई नै तोडमरोड गर्ने, सिद्धान्त नै थाँती राखेर अवसरवादी राजनीति गर्ने प्रवृत्तिको अन्त्य कसैलाई प्रम पद भिडाएर सम्भव हुने होइन। सिद्धान्त र विचारको मामिलामा पदको सर्त राख्नु उचित होइन। फेरि कसैले माग्दैमा वैद्य अध्यक्ष हुने र रामबहादुर प्रम हुने होइन। यस अस्थिर र सङ्कटपूर्ण राजनीतिमा सहमतिको सरकार बन्छ, बन्नुपर्छ भनिरहेको छ। सहमतिबाट प्रम छान्दा रामबहादुर पर्छ कि श्यामबहादुर पर्छ भन्न गार्हो हुन्छ। हो, खोटो सिद्धान्त र विचारको विरोध गर्नुपर्छ तर पदसँग साटिनु ठीक छैन। पदको मायाले मोहन वैद्य पक्षले पार्टीभित्र अन्तर्द्वन्द्व गरिरहेको हो भने सिद्धान्ततः त्यो गलत छ। सङ्गठन विभागको जिम्मा लिएका वैद्यले पदको निम्ति पार्टी फुट्नसक्नेसम्मको चेतावनी दिनु ठीक होइन। सङ्गठनभित्र देखिएको खोटो विचारविरुद्ध पद भए पनि नभए पनि विरोध गरिरहनुपर्छ। पद पाउने बित्तिकै पार्टीको गलत विचार र सिद्धान्त स्वीकार्नु या त्यसलाई समर्थन गर्नु कम्युनिष्ट पार्टीका कुनै पनि नेतालाई सुहाउँदैन। माओवादी सरकार असफल भइसकेको सन्दर्भमा फेरि माओवादीकै अर्का नेतालाई प्रम बनाउने वैद्य पक्षको दाबी ठीक होइन। पार्टी अध्यक्ष आफूले चाहेर लिने दिने होइन। पार्टी अध्यक्ष चाहने बित्तिकै हुन पाउने होइन। यो व्यक्तिको इच्छा या चाहनामा हुने होइन। पार्टी अध्यक्ष बन्न सम्मेलन या अधिवेशन गर्नुपर्ने हुन्छ। सम्मेलन या अधिवेशनले निर्वाचित गर्नुपर्ने हुन्छ। तर यहाँ वैद्य पक्षका एक नेता नेत्रविक्रम चन्दले पार्टी अध्यक्ष मोहन वैद्य र प्रम रामबहादुर थापालाई दिए पार्टीको विवाद मिल्ने विचार पदलोभीमात्र होइन खोटपूर्ण पनि छ। खोटपूर्ण विचार दाहालको होस् या वैद्यको सबैले त्याग्नुपर्छ। |