|
संविधानसभा निर्वाचनमा नेपाल मजदुर किसान पार्टी (भक्तपुर जिल्ला विशेष) – २
सुन्दर राजचल भाग दुई भक्तपुर जिल्ला एक परिचय २.१ भक्तपुर जिल्लाको ऐतिहासिक पृष्ठभूमि सिङ्गो नेपालको इतिहास नै प्रामाणिक रुपमा लिपिबद्ध नभएको सन्दर्भमा भक्तपुरको इतिहास त्यसबाट फरक रहन सक्दैन। अनुमान गरिएअनुसार विशाल जलाशयको रुपमा रहेको उपत्यकाको पानीको निकाससँगै भक्तपुर इलाकामा पनि बस्तीको विकास भएको पाइन्छ। गोपाल तथा महिषपालहरूको लागि यो एक उपलब्धिमूलक इलाका थियो। किरातकालसम्म आइपुग्दा भक्तपुरमा खोप्रिङ्ग नाममा बस्तीको विकास व्यवस्थित भइसकेको पाइन्छ। सिन्धुलीगढी हुँदै भारत जाने मार्ग तथा कुढी भएर तिब्बत जाने व्यापारिक मार्ग यस जिल्लाबाट सजिलो हुने हुनाले यसको विकासक्रम छोटो पाइन्छ। जसले गर्दा लिच्छविकालसम्म आइपुग्दा यो जिल्ला व्यापारिक केन्द्रको रुपमा विकास भयो। मध्यकालमा राजधानीको रुपमा विकास भएको यस जिल्लालाई राजनीतिक, धार्मिक र सांस्कृतिक केन्द्रको रुपमा स्थापित गर्ने श्रेय राजा आनन्ददेवलाई जान्छ। ई.सं. १४८२ अर्थात् उत्तर मध्यकालमा उपत्यकाका राज्यहरूको विखण्डनपश्चात् भक्तपुर स्वतन्त्र रुपमा उदायो। १७६९ मा गोर्खालीहरूको अधीनमा परेपछि एकीकृत नेपालको विभिन्न पन्ध्र एकाइमध्ये भक्तपुर एक रहेको मानिन्छ। वि.सं. २०१८ मा नेपाललाई चौध अञ्चल ७५ जिल्लामा विभाजन गरिसकेपछि नेपालको सबैभन्दा सानो जिल्लाको रुपमा यसले अलग्गै पहिचान बनाउन सकेको छ। २.२ भक्तपुरको भौगोलिक परिचय भक्तपुर नेपालको सबैभन्दा सानो जिल्ला हो। यो मध्यमाञ्चल विकास क्षेत्रको बागमती अञ्चलको काठमाडौं उपत्यकाभित्र रहेको छ। यस जिल्लाको कूल क्षेत्रफल ११९ वर्ग किलोमिटर रहेको छ। भक्तपुर नगरीको साथै सूर्याेदय हेर्नका लागि प्रख्यात नगरकोट एवं कलाकृतिले विकसित अनेकौं मन्दिरहरूका कारण यो जिल्लाले पर्यटकीय महत्त्व बोकेको छ। यो जिल्ला २७ डिग्री ३६ मिनेटदेखि २७ डिग्री ४४ मिनेट उत्तरी अक्षंाशसम्म र ८५ डिग्री २१ मिनेट पूर्वदेखि ८५ डिग्री ३१ मिनेट पूर्वी देशान्तरसम्म फैलिएर गएको छ। यस जिल्लाको पूर्व पश्चिम लम्बाइ १६ किलोमिटरमात्र रहेको छ। यस जिल्लाको उत्तरी सिमाना मनोहरा नदी, पूर्वमा महादेव पोखरी डाँडाको श्रृङ्खला, दक्षिणमा सूर्यविनायकको पहाड खण्ड, पश्चिममा मनोहरा नदी र दुर्गे खोला रहेको छ। यस जिल्लाको पूर्वमा काभ्रेपलाञ्चोक जिल्ला, पश्चिममा काठमाडौं र ललितपुर जिल्ला, उत्तरमा काठमाडौं र काभ्रेपलाञ्चोक जिल्ला र दक्षिणमा ललितपुर जिल्ला रहेका छन्। भौगोलिक बनावटको दृष्टिकोणले यो जिल्ला पहाडी उपत्यका क्षेत्र मिलेर बनेको छ। यो जिल्लाको उत्तर, पूर्व र दक्षिण भेग महाभारत श्रृङ्खलाले ढाकेको छ। उचाइका हिसाबले यो जिल्ला समुद्री सतहबाट १३७२ देखि २,१९१ मिटरको उचाइमा रहेको छ। यस जिल्लाको कूल भू–भाग मध्ये पहाडी र उपत्यकाले आधा– आधा हिस्सा ओगटेको छ। उपत्यकाको समथर भू–भाग उर्वर दोमट माटोले बनेको छ। त्यसकारण यस जिल्लाको उत्पादकत्व अत्यन्त राम्रो छ। जिल्लाको कूल १२.०५७ हेक्टर क्षेत्रफलमध्ये ९,५६७ हेक्टर क्षेत्रफल खेतीयोग्य र बाँकी २४०० हेक्टर भिर पाखो रहेको छ। यस जिल्लाको उत्तरी, पूर्वी र दक्षिणी खण्डमा विभिन्न किसिमका धातु तथा खनिज पदार्थहरू रहेको अनुमान गरिएको छ। जलवायुको दृष्टिकोणले यो जिल्ला प्रायः समशीतोष्ण हावापानी भएको जिल्ला हो। यहाँको औसत तापक्रम २० देखि २४ डिग्री सेल्सियस छ भने ग्रीष्ममा अधिकतम ३२ डिग्री सेल्सियससम्म पुग्ने गरेको छ। जिल्लाको वार्षिक औसत वर्षा ५६ मिलिमिटर रहेको छ। जलस्रोतको दृष्टिले यो जिल्लामा हिमालबाट हिउँ पग्ली बगेर आउने स्थायी प्रकृतिको नदीनाला छैनन्। यहाँका मुख्य नदीहरूमा मनोहरा, खासाङ खुसुङ, गोदावरी, डोर्खु, सिस्नेरी, चंखु र हनुमन्ते रहेका छन्। यसका साथै यहाँ भाजु पोखरी, र कमलपोखरी जस्ता स–साना ३५ वटा पोखरीहरू रहेका छन्। २.३ भक्तपुर जिल्लाको जनसङ्ख्या स्थिति राष्ट्रिय जनगणना २०५८ अनुसार जिल्लाको कूल जनसङ्ख्या २,२५,४६१ रहेको छ। कूल जनसङ्ख्यामध्ये १९–४५ वर्ष उमेर समूहमा ३५.९१ प्रतिशत रहेको छ। यो उमेरको जनसङ्ख्या हेर्दा जनसङ्ख्या वृद्धिदर प्रत्येक वर्ष बढ्दै आएको देखिन्छ। कूल जनसङ्ख्या ५०.९ प्रतिशत पुरुष र ४९.०९ प्रतिशत महिला रहेका छन्। जिल्लाको सरदर जनघनत्व १८९५ वर्ग कि.मि., जनसङ्ख्या वृद्धिदर २.७१ प्रतिशत र साक्षरता ५९.१४ प्रतिशत रहेको छ। दुईवटा नगरपालिका रहेको भक्तपुर जिल्ला अधिकांश ग्रामीण क्षेत्रले ओगटेको भए तापनि ५३.४ प्रतिशत जनसङ्ख्या सहरी क्षेत्रमा बसोबास गर्दछन् भन्ने ग्रामीण क्षेत्रको विभिन्न समस्याका कारण सहरी क्षेत्रमा बसाइसराइ गर्नेको सङ्ख्या क्रमिक रुपमा बढ्दै गइरहेको छ। २.४ राजनीतिक अवस्था २.४.१ वि.सं.२००७ सालको आन्दोलनमा भक्तपुर वि.सं. २००७ सालभन्दा अगाडि जतिबेला नेपालमा जहाँनिया राणा शासकहरूले शासन सत्ता हातमा लिइराखेका थिए, त्यतिबेला राजनैतिक पाटर्ीेहरू प्रतिबन्ध थियो। मानिसहरू राजनीतिक कुरा त के कुनै पनि विषयमा २/४ जना भेला भएर कुनै पनि कुरा गर्नसमेत प्रतिबन्ध थियो। तत्कालीन भक्तपुर जिल्लाका अग्रजहरू सूर्यबहादुर पिवा, भुवनबहादुर प्रधानाङ्ग र गजसुन्दर प्रधानलगायतकाले विद्यालय स्थापना गर्न कसरत गरको भए तापनि शिक्षाविरोधी राणाहरूले कुनै विद्यालय स्थापना गर्न दिएनन्। सरकारले शिक्षा प्रचारमा प्रतिबन्ध लगाए पनि तिनीहरूलेे भूमिगत अवस्थाबाटै पठनपाठन गर्ने गराउने अभिप्रायले शान्तिभक्त हाइस्कूलको स्थापना गरिछाडे। हालको कन्या मावि नै हिजोको शान्तिभक्त हाइस्कूल थियो। जहाँ लुकीलुकी पढ्नुपर्ने बाध्यता थियो सो समयमा। विद्यालय स्थापना गरेर राजनीतिक छलफलहरू गर्नु र नेपालमा राणाशासनविरोधी आन्दोलन अगाडि बढाउनु तिनीहरूको उद्देश्य थियो। कुनै एउटा निश्चित स्थानमा विद्यालय सञ्चालन गर्न नसक्ने अवस्था रहेकोले कहिले नारायणचोक त कहिले कुन मन्दिरमा कक्षा सञ्चालन गर्नु तत्कालीन स्थितिको बाध्यता थियो। यति हुँदाहुँदै पनि सरकारका सी.आइ.डी.हरू विभिन्न मन्दिरहरूमा प्रवेश गरी पक्राउ गर्न र अमानवीय यातनाहरू दिन राणाशासकहरू पछि परेनन्। 'पञ्चायत मुभमेन्ट' नामकरण गरी भित्र भित्र राणा शासकहरूविरुद्ध प्रशिक्षणहरू चलाउने क्रममा तत्कालीन विद्यार्थीहरू विष्णु जोन्छे, धर्मसुन्दर र शिवसुन्दर लगायतकालाई पक्राउ गरेर यातना दिएको थियो। २/२ जनाको समूहमा मात्र जुलुस गर्दै पक्राउ दिँदै राणा शासनविरुद्ध गतिविधिहरू भएका थिए। भक्तपुर जिल्लाले राणाविरोधी आन्दोलनमा महत्त्वपूर्ण भूमिका निभाएको थियो। काठमाडौं र पाटनमा राणाविरोधी आन्दोलन अगाडि बढ्न नसकेको कुरालाई समेत ध्यानमा राखी भक्तपुरबाट ती स्थानमा गएर पनि आन्दोलनलाई अगाडि बढाएको थियो। सन् १९४७ मा भारतमा भारतीय स्वतन्त्रता आन्दोलन भइरहँदा नेपालमा राणाविरोधी आन्दोलन सुरु भइसकेको थियो। तर त्यसले उत्कर्षता हासिल गर्न सकिरहेको थिएन। कारण त्यतिबेलाका नेताहरूमा हिन्दुस्तान स्वतन्त्र नभएसम्म नेपालमा राणाविरोधी आन्दोलन सफल नहुनेमा दृढ थिए। तसर्थ नेपालमा भारतीय स्वतन्त्रता आन्दोलनलाई महत्त्वका साथ हेर्ने गरेको समेत पाइन्थ्यो। नभन्दै सन् १९४७ अगष्ट १५ मा भारत स्वतन्त्र भएको घोषणा भयो। त्यसको भोलिपल्ट नेपालका विभिन्न ठाउँहरूमा जुलुसहरू भए। 'प्रजातन्त्र – जिन्दावाद', 'राणाशाही – मुर्दावाद' का नाराहरू लगाएर देशका कुनै–कुनै ठाउँमा हतियारसहित जुलुस प्रदर्शन भयो। भक्तपुर जिल्लामा नासमनाबाट सुरु भएको जुलुस टौमढी पुग्दा नपुग्दै प्रहरीसँग भिडन्त हुन पुग्यो। जहाँबाट धेरै आन्दोलनकारीहरू घाइते भए। सो समयमा जेलपरेका भक्तपुरका अग्रज व्यक्तित्व सूर्यबहादुर पिवालाई ३ महिनासम्म उठ्नै नसक्ने गरी अमानवीय यातना राणाशासकहरूले दिएका थिए। यसरी देशका विभिन्न ठाउँमा झै भक्तपुरमा पनि राणाविरोधी आन्दोलन अगाडि बढ्यो। यसैक्रममा वि.सं. २००४ सालमा भएको नेपाली काङ्ग्रेस र २००६ सालमा स्थापना भएको नेपाल कम्युनिष्ट पार्टीको स्थापनाले राणाविरोधी आन्दोलनले तीव्रता पायो। २००७ साल कार्तिक २६ गते राजा त्रिभुवन सपरिवार दिल्ली सवारी हुनु र नेपाली काङ्ग्रेसको सशक्त आन्दोलनको घोषणाले राणाहरूलाई नितान्त एक्लो बनायो। देशका विभिन्न सहरहरूमा झैं भक्तपुर जिल्लामा पनि भूमिगत शैलीमा आन्दोलन अगाडि बढ्यो र २००७ साल फागुन ७ गते मुलुकमा १०४ वर्ष लामो राणाशासनको अन्त्य भयो र नेपालको इतिहासमा पहिलोपल्ट प्रजातन्त्रको स्थापना भयो। नेपालमा निरङ्कुश राणा शासन अन्त्य भई प्रजातन्त्रको स्थापना हुनु २००७ सालको क्रान्तिको महत्त्वपूर्ण उपलब्धि थियो। त्यसपछि नेपाली काङ्ग्रेस र राणाहरूको तर्फबाट ५/५ जना गरी १० जनाको मन्त्रिमण्डल गठन गरी पहिलोपल्ट शासनमा जनताको हिस्सेदारी प्राप्त भयो भने भक्तपुर इनाचोका हरिप्रसाद प्रधानलाई प्रजातान्त्रिक नेपालको न्यायालयको पहिलो न्यायाधीश बन्ने श्रेय मिल्यो। यो क्रान्तिपछि पहिलोपल्ट नेपालीहरूले नागरिक स्वतन्त्रता पाए। राजनीतिक सङ्गठन स्थापना गर्ने, राजनीतिक मतको प्रचार प्रसार गर्ने, सभा सम्मेलनको आयोजना गर्नेजस्ता प्रजातान्त्रिक मुलुकका जनताले उपभोग गर्ने यावत स्वतन्त्रता नेपाली जनताले पाए। शिक्षामा व्यापक प्रसार भयो। भक्तपुरकै सन्दर्भमा भादगाउँ इ. स्कूलबाट पद्म हाइस्कूलको विस्तार भयो भने लुकीलुकी भूमिगत शैलीमा पठनपाठन गराउनुपर्ने वातावरणको अन्त्य भयो। राणातन्त्र जनतालाई अज्ञानता, अचेतना र अन्धकारमा राखी शासन गर्ने व्यवस्था थियो। प्रजातन्त्रको स्थापनाले त्यसको अन्त्य गरिदियो। २००७ सालको क्रान्तिले शिक्षामाथिको सरकारको कठोर प्रतिबन्ध समाप्त भयो। गाउँघर, सहरबजार, तराई जहाँसुकै शिक्षा प्रसारको ठूलो भेल आयो। शिक्षाप्रतिको यो जनअभिरुचि क्रान्तिको अत्यन्त उल्लेेखनीय उपलब्धिको रुपमा मान्नसकिन्छ। २.४.२ वि.सं २०१७ सालको आन्दोलनमा भक्तपुर जहानियाँ राणा शासनको विरुद्ध लामो समयसम्म चलेको आन्दोलनले अन्ततः राणा सरकार ढल्यो र २००७ फागुन ७ गते प्रजातन्त्रको स्थापना भयो। वि.सं.२०१५ सालको पहिलो आमनिर्वाचनमा १०९ स्थानमा काङ्ग्रेसले विजय प्राप्त गर्यो र ने.कां.का नेता वी.पी. कोइरालाको अध्यक्षतामा मन्त्रिमण्डल गठन भयो। तर यस अवधिमा राजनैतिक दलहरू र तिनका नेताहरूले राजनैतिक परिपक्वता प्रदर्शन गर्नसकेन। पदलोलुपता र गुटगत स्वार्थले अधिकांश राजनैतिक दलहरू सत्ताको फोहोरी खेलमा लागे। यस अवधिमा ने.कां.को एकमना सरकार, राजाको प्रत्यक्ष शासन, राष्ट्रिय प्रजापार्टीको सरकार, प्रजापरिषद् र राष्ट्रिय प्रजातान्त्रिक पार्टीका सरकारहरू बने। नेपाल कम्युनिष्ट पार्टी प्रतिबन्धित भयो। ती कुनै पनि पार्टीले जनताको चाहनाअनुसार सरकार बनाउन सकेन। अझ ने.कां.को सरकारमा कोशी र गण्डक सम्झौताहरू भए। सत्तामा रहेको काङ्ग्रेसले मनोमानी गर्न थाले। राजा त्रिभुवनको शेषपछि राजा महेन्द्र सत्तामा आए। उनले राजाको सल्लाहकारमा भारतीय नागरिकलाई नियुक्ति गर्ने परम्परा तोडे। काङ्ग्रेस पार्टीलाई फुटाएर मातृकालाई आफू नजिक बनायो भने कम्युनिष्ट पार्टीलाई उक्साएर भारत र काङ्ग्रेसको विरोध गर्न लगाए साथै नेपालको उत्तरतिरको चेकपोष्ट हटाउन लगाए। सोही समयमा तत्कालीन कम्युनिष्ट पार्टीमा दुई चिरा भयो। एकातिर राजाको समर्थनमा डा.केशरजङ्ग रायमाझीलेे नेतृत्व गरेको कम्युनिष्ट पार्टी र अर्कोतिर पुष्पलालले नेतृत्व गरेको कम्युनिष्ट पार्टी। त्यतिबेला नेमकिपाको स्थापना भइनसकेको हुँदा नेमकिपाका नेता तथा कार्यकर्ताहरू पुष्पलाल नेतृत्वको खेमामा उभिएर जनताको राजनैतिकस्तर माथि उकास्न सक्रिय भूमिका खेले। सो समयमा भक्तपुर जिल्लामा सामन्तवादको वर्चस्व थियो। सामन्तवादी पक्षधरहरू भक्तपुर जिल्लालाई अन्धकारमा राख्ने र पञ्चायती व्यवस्थाको विरुद्ध उभिन नदिने पक्षमा दृढ थिए। कम्युनिष्टहरूको विरोधमा तिनीहरू लागिपरेका थिए भने नारायणमान बिजुक्छें, गोविन्द दुवाल, बुद्धिकुमार गोसार्इं, ज्ञानबहादुर न्याईच्याईं, कुलबहादुर कवां, नारायणप्रसाद वैद्य, कृष्णराम खत्री, बाबुकाजी बासुकलालगायतका नेताहरू पुष्पलाल पक्षधरहरूले भूमिगत अवस्थामै भए पनि राजनैतिक आन्दोलन अगाडि बढाएका थिए। जनतालाई राजनैतिक शिक्षा दिने हेतुले रात्री कक्षाहरू सञ्चालन गर्न तिनीहरू दिनरात खटेका थिए। पार्टी प्रतिबन्ध भए तापनि जुलुस, पर्चा, पम्प्लेटहरू टाँस्ने काम रोकिएन। पञ्चायतविराधी गतिविधिमा लागेको आरोपमा पुलिसहरूसँग भिडन्त हुन्थ्यो। जनताको राजनैतिक चेतनास्तर अत्यन्त न्यून थियो। सोही कारणले हुनसक्छ २०१७ साल पुस १ गते राजा महेन्द्रले निर्वाचित सरकारलाई अपदस्थ गरी निरङ्कुश पञ्चायती व्यवस्था स्थापना गर्दा भक्तपुरमा दीपावलीसमेत भएको पाइयो। तर विस्तारै तिनै भक्तपुरका आन्दोलनका अगुवाहरूले सुस्तालाई भारतीय सरकारले आफ्नो कब्जामा लिएको विरोधमा सुस्ता बचाउ आन्दोलनमा 'भारतीय विस्तारवाद– सुस्ता छोड' नारा लगाउँदै आएको जुलुसमा पहिलोपल्ट भक्तपुरका जनताले प्रहरीसँग मुठभेद गरेका थिए। तर पछि जनताको अधिकार विस्तारै कटौती गर्दै लग्नसक्ने सम्भावनाहरू देखेर भक्तपुरमा राजा महेन्द्रको शाही घोषणाको विरोध भयो र आन्दोलनमा जनताको सहभागिता क्रमिक रुपमा बढ्दै गयो। यसरी राजा महेन्द्रको कदमले २००७ सालमा जनताले पहिलोपटक सङ्घर्षबाट प्राप्त गरेका प्रजातान्त्रिक अधिकार गुमाएको थियो भने राजा महेन्द्रले नेपालमा बढ्दै गएको भारतीय प्रभावलाई कम गर्दै लान महत्त्वपूर्ण भूमिका खेलेको थियो। |