|
काठमाडौंको प्रदूषण र प्रमलाई साइकल
काठमाडौं उपत्यकाको प्रदूषणबाट चिन्तित र वातावरण जोगाउन काम गर्ने केही सामाजिक संस्थाहरूले चन्दा सङ्कलन गरेर २० हजार रुपैयाँ बराबरको साइकल प्रधानमन्त्रीलाई उपहार दिएका छन् – विश्व वातावरण दिवसको अवसर पारी राजधानीमा आयोजित एक समारोहमा। सिंहदरबार परिसरमा एकक्षण साइकल डोर्याउने रहर पुर्याए प्रधानमन्त्रीले। राजधानीको बढ्दो वातावरण प्रदूषणको सन्दर्भमा साइकलको प्रयोग बढाउन र सडकमा साइकल लेन बनाउन माग गर्दै प्रमलाई साइकल उपहार दिनुले साङ्केतिक अर्थ राख्छ। प्रमले उपहारकर्ताको मागबारे आवश्यक सहयोग गर्ने औपचारिकता पूरा गरे तर यतिले केही होला भन्ने विश्वास जनतामा छैन। विगतका कैयौं आश्वासनका पोको कहिल्यै नखोलिंदा जनताले यसो सोच्नु गलत भएन। समाचारबारे टिप्पणी गर्दै एक मित्र भन्दै थिए, सिंहदरबारमा थन्काइने २० हजार रुपैयाँको साइकल चन्दा सङ्कलन गरी प्रमलाई दिनुभन्दा आफूलाई दिइएको भए साइकल चलाएर वातावरण जोगाउँथें। काठमाडौंलाई मानिसको निम्ति बस्नयोग्य बनाउन गरिएको प्रयास 'साइकल अभियान' का साथीहरूलाई शुभकामना छ। आर्थिक रुपले मात्र होइन वातावरणीय रुपमै साइकल राम्रो छ। इन्धनको परनिर्भरताले देशकै अर्थतन्त्र थिल्थिलो बनेको अवस्थामा परनिर्भरताबाट केही राहत पाउने उपाय हो – साइकल। वातावरणवादीहरूका अनुसार यदि मोटर गाडीमा यात्रा हरेकले हप्ताको एकदिन मात्र साइकल चलाएमा २ लाख ५० हजार लिटर तेल बच्छ। यति फाइदाजनक परिणामको निम्ति नीति/योजना बनाएर लागू गर्नुपर्ने हो। लामो समयदेखि माग गरिएझैं राजधानीमा साइकल मार्ग बनाउने हो भने मानिस आफै सचेत भएर मोटरसाइकल/गाडी छोडी साइकल यात्रा गर्थे। नीति निर्माता र कार्यकारी पदधारीको घैंटोमा घाम कहिले लाग्ने हो कुन्नि ! रास, भक्तपुर |