September 3, 2018

समय सन्दर्भ

बाँकि समय सन्दर्भ
 

अनियमित विद्युत कटौती कहिलेसम्म?

 
    लोडसेडिङ घट्यो। अब हप्ताको ४९ घण्टामात्रै लोडसेडिङ हुन्छ भनी विद्युत प्राधिकरणले पत्रपत्रिकामा लोडसेडिङको समयतालिका प्रकाशित गर्‍यो।
    अन्य जलस्रोतको धनी राष्ट्रमा विद्युतको विकास भएको छ भने नेपालमा लोडसेडिङको विकास भएको छ। उपभोक्ताहरूले केही दिनमात्र विद्युत महसुल तिर्न ढिलाइ गरेको खण्डमा जरिवाना लगाइन्छ तर विद्युत काटिंदा त्यसको नोक्सानीको क्षतिपूर्ति उपभोक्ताले माग्दैन, त्यसैले पनि यस्तो भएको हुनसक्छ।
    यसरी लोडसेडिङबाहेक अनियमित रुपमा विद्युत काटिने कारण दैनिकझैं कम्प्युटरहरू बिग्रने, त्यसका सफ्टवेयरहरू बिग्रने आदि कारण कैयौं साइबर व्यवसायी घाटामा गएका छन् र साइबर बन्द भएका छन्। अनियमित विद्युत कटौतीका कारण घरको विभिन्न विद्युतीय उपकरण चीम, टेलिभिजन आदि पनि बिग्रने गरेको छ। कुन समयमा प्राधिकरणले विद्युत काट्छ थाहा हुँदैन। के यो प्राधिकरण सरकारी कर्मचारीको खेलौना हो? जतिखेर मन लाग्यो निभायो र जतिखेर मन लाग्यो बाल्यो।
    अनियमित विद्युत कटौतीका कारण दैनिक लाखांैको आर्थिक घाटा सर्वसाधारणलाई भइरहेको छ। अचानक विद्युत काटिन्छ, निभाउन बिर्सिन्छन् र विद्युत आउने समयमा अनावश्यक रुपमा ती उपकरण सञ्चालित अवस्थामै रहेको हुन्छ। यसको कारण पनि विद्युत खेर जान्छ, आगलागी हुने सम्भावना पनि बढेको छ। यस्तो घटना नघटेको पनि होइन। यसबारे पनि सोच्नुपर्छ।
    विद्युतको विकासविना कुनै पनि औद्योगिक विकास हुन सकिंदैन। लोडसेडिङ सदाको लागि अन्त्य होस् भन्ने सम्पूर्ण जनताको इच्छा छ। अबको बजेटले जलविद्युत आयोजनालाई हौसला दिइयोस् – यही छ सचेत जनताको आकाङ्क्षा।
    मौनताको निश्चित सीमा हुन्छ। त्यो सीमा पार भएपछि के हुन्छ त्यो कसैलाई थाहा हुँदैन। लोडसेडिङ परम्पराझैं बनिसकेको छ।
    अतः अनियमित विद्युत कटौती गर्नै परेको खण्डमा पूर्व सूचना दिनुपर्छ। सरकारी संस्थान भनेको जनताको सुविधाका लागि हो न कि डुबाउनका लागि।
– गरिमा, भक्तपुर