September 3, 2018

समय सन्दर्भ

बाँकि समय सन्दर्भ
 

अस्तव्यस्त राष्ट्रिय पुस्तकालय

नेपालको राष्ट्रिय पुस्तकालयको पुस्तकहरू बोरामा थन्किरहेको समाचार सुनेर तपाईंलाई कस्तो लाग्यो? पक्कै पनि यो खबर सुनेर मनमा च्वास्स घोचेको होला ! सुन्दा पनि अचम्म लाग्छ। तर विडम्वना देशमा भूकम्पको डेढ दुई वर्षपछि पनि पुस्तकालयको मर्मतसम्भार र पुनर्निर्माण हुन सकेको छैन। यो कटु सत्य हो। नेपालको “नेपाल राष्ट्रिय पुस्तकालय”का पुस्तकहरू अस्तव्यस्त छन्। त्यहाँका सबै पुस्तकहरू बोरा बोरामा थन्काइराखेको अवस्थामा छ। 

२०७२ सालको भूकम्पले थुप्रै भवनहरू भत्काएको थियो। त्यसैगरी पुलचोकस्थित पुस्तकालय पनि भत्केको थियो। जुन पुस्तकालय पहिले सिंह दरबारभित्रै खुलेको थियो। त्यहाँ करिब ४३ हजारभन्दा बढी किताबहरू थिए। अहिले त्यस पुस्तकालयका किताबहरू बोरामा खोज्नुपर्ने अवस्था छ। कसैले आज त्यहाँको किताब हेर्न चाहे भने पनि दुई–चार दिन लगाएर खोज्नुपर्ने स्थिति छ।  

जो धनी छ र जसलाई पढ्न रुचि छ सायद उनीहरूले आफ्नो कोठालाई नै पुस्तकालय बनाउँछन् र बनाए पनि होेला। तर पढ्न चाहने, पैसा नहुनेले के गर्ने? उनीहरूलाई त पुस्तकालयकै सहयोग लिनुपर्ने हुन्छ।  

अब सरकारको पुस्तकालयको यो हविगत देख्दा कसको मन दुख्दैन र ! सम्बन्धित निकायका अधिकारीहरूको व्यवहार भने 'सरकारको काम कहिले जाला घाम'भनेझैं छ। कतिपय भूकम्प पीडितले सरकारको अनुदान नपर्खिकनै ऋणसापट गरेरै घर बनाइसकेका छन्। यसरी घर बनाउँदा पनि सरकारले विद्यार्थीहरूका निम्ति अत्यावश्यक पुस्तकालय अहिलेसम्म नबनाउनुको कारण के होला त? अरु केमा व्यस्त भए सरकार र जिम्मेवार निकाय? साथै ती पुस्तकालयका व्यवस्थापन समितिले पनि यत्तिका दिनसम्म यसबारे केही पहल किन गरेन? प्रश्न उठेको छ।  

नेपालमा त्यसै त पुस्तकालय र पुस्तकको कमी छ।  पुस्तकालयका लागि जग्गा र भवनको अभाव छ। त्यसैले अब सरकारले नै यस विषयमा विशेष ध्यान दिनु जरुरी छ। 

हिना सुवाल