September 3, 2018

समय सन्दर्भ

बाँकि समय सन्दर्भ
 

पाण्डोबजार सडक निर्माणमा किन पक्षपात?

उसो त निर्माण सुरु भएको करिब दुई वर्षपछि बल्ल करिब ७०–८० प्रतिशतमात्र कार्य सम्पन्न भयो पाण्डोबजार सडक। यसको सडक निर्माणले ढिलासुस्तीको सीमा नाघेको छ। सम्बन्धित सडक विभाग तथा ठेकेदार एवम् स्थानीय समितिका पदाधिकारीहरुले सडक निर्माण कार्यमा पक्षपातपूर्ण व्यवहार गरिरहेकको गुनासो अझै सेलाएको  छैन। 

पाण्डोबजार सडक निर्माण गर्न वि.स. २०७१ को चैत अन्तिमतिर सडकको दुईछेउको घरहरुको पेटी भत्काइएको थियो। त्यसको केही हप्तामा नै २०७२ साल वैशाख १२ गते विनासकारी भूकम्प गएको सम्पूर्णमा विदित्तै छ। एकातिर घरछेउको पेटी भत्काउनु र अर्कोतिर भूकम्प जानाले घरको जगसमेत हल्लिने त्रासले गर्दा पाण्डोबजारवासी त्रसित थिए। सम्भावित क्षति न्यूनीकरणको लागि तत्काल खाँचो परेका घरछेउमा पर्खाल लगाउन स्थानीयको सडक विभागमा डेलिगेशन जाने काम पनि भयो। सडक विभागका इन्जिनियरले पर्खाल लगाइदिने आश्वासन त दिए तर पर्खाल लगाउने कामको नाममा स्थानीय खानेपानी उपभोक्ता समितिका जिम्मेवार व्यक्तिको निर्देशनमा जहाँ आवश्यक नै थिएन त्यहाँ पर्खाल लगाइयो। अति आवश्यक परेको घरहरुमा बजेट छुट्याइएको छैन भन्दै बनाइदिएन। तत्पश्चात् असार–साउनको वर्षा र जङ्गलको भेलले भत्काइएको पेटी बगाउने र भासिने क्रम सुरु भयो। भेलको पानी पुरै खोलाजस्तै बग्ने हुनाले पेटी भासिएर  जग नै जानेस्थितिसम्म पुग्दा पनि सम्बन्धित निकायले वास्ता गरेन। पछि सामान्य तालतुल गरियो। तर सोही खानेपानी उपभोक्ता समितिका जिम्मेवार पदाधिकारीको घरको गेटसम्म गिट्टी, डण्डी राखेर ढलान गरिदिएर सडक विभागले पक्षपातपूर्ण व्यवहार देखायो। सडक निर्माण भइरहँदा कुन घर छेउ कस्तो किसिमको निर्माण गर्ने भन्दै तिनै व्यक्तिहरु सक्रिय थिए। ती जिम्मेवार पदाधिकारी र आसेपासेहरुका घरका पेटीहरु इँटा विछ्याइएको छ। बाँकी अरु टोलवासीको आँगन अझसम्म व्यवस्थित गरिदिइएको छैन। के उपभोक्ता समिति सीमित व्यक्तिको लागि मात्र हो?, के सडक विभाग कुनै विशेष व्यक्तिको निर्देशनमा चल्ने हो?                              पृथ्वी