किन मौलायो 'बाख्राकाने' संस्कृति?
िलक्ष्मीकान्त पौडेल
हामीले समय समयमा आन्दोलन गर्यौं। ती आन्दोलनबाट उपलब्धिहरू पनि भए। राणाशासन फालियो। पञ्चायती तानाशाही व्यवस्था फालेर राजालाई संवैधानिक बनाउने काम भयो। प्रजातन्त्रलाई लोकतन्त्रले ०६३ सालको आन्दोलनले प्रतिस्थापित गर्यो र हामी अहिले लोकतान्त्रिक गणतन्त्रमा छौं। यति द्रुतगतिमा राजनीतिक परिवर्तन विश्वका कमै देशमा भएका होलान्।
राजनीतिक परिवर्तनहरू फगत राजनीतिज्ञहरूको रूप बदल्नको लागि जस्तो देखिन पुगे जुन राम्रो होइन, न त उनीहरूले भन्ने नयाँ–नयाँ सिद्धान्तहरू केवल जनताले सुन्नको लागि हो। राजनीतिक परिवर्तन समाजको आर्थिक परिवर्तनको लागि हुनुपर्छ। हरेक राजनीतिक परिवर्तनसँगै विकास हुनुपर्छ। विकासको फल गरिब जनताले राम्रोसँग उपभोग गर्न पाउनुपर्छ। जनताको जीवनस्तर उठ्नुपर्छ। गाँस, बास, कपास, स्वास्थ्य, शिक्षा, राम्रो पर्यावरण आजका आवश्यकता हुन्। त्यस क्षेत्रमा हाम्रो बलबुत्ताले केही काम हुन सकेको छैन। हामीले गरेका कुनै पनि साना विकासको काम पनि आफ्नो स्रोतको आधारमा भएका छैनन्। हामी विदेशीको भरमा विकास गर्दछौं। त्यो विकासमा पनि भ्रष्टाचार गरेर कमाउने र काम भने नराम्रो गर्ने गरेको आरोप आउने गर्दछ।
हामीलाई सहयोग गर्ने देशहरूमध्ये धेरै त हामीसँगै विकास भएका र कति त हामीभन्दा पनि पछि विकास भएका छन्। भारत र चीन हामीसँगै विकास भएका देश हुन्। दक्षिण कोरिया हामीभन्दा पनि पछाडि विकास भएको हो। हामी उनीहरूसमेतको सहयोगमा बाँचेका छौं भन्दा हुन्छ। उनीहरूको आर्थिक सहयोग र उनीहरूले दिएको रोजगारीबाट घरघरमा जीवन धान्ने काम भएको छ। के हामी यसैमा गर्व गर्ने? छोराछोरी दक्षिण कोरियामा काम गर्न जान पाउने भए। त्यसैमा हामी दङ्ग छौं। के विदेशले काम र विकास गर्न पैसा दिएकै भरमा हामी बाँच्ने हो?
अहिलेको यो अहम् सवालको उत्तर खोज्नुपर्दछ। हामीले गर्व गर्ने विषय के हो र हामी गर्व केमा गरिरहेका छौं भन्ने पनि ध्यान दिन आवश्यक भएको छ। अर्थमन्त्रीमध्ये कुन अर्थमन्त्रीले विदेशबाट बढी पैसा सहयोग, ऋण आदिको रूपमा ल्याउन सक्दछ, त्यो राम्रो र क्षमतावान भन्नुपर्ने बाध्यता छ। वास्तवमा तत्कालको समय र समस्यामा अर्थमन्त्रीले त्यो गर्नु बाध्यात्मक उपयुक्त काम पनि हो। तर, समाधान होइन। पाकिस्तानकी पूर्वप्रधानमन्त्री स्वर्गीय बेनजिर भुट्टोले विदेशी सहयोगलाई पेनकिलर भनेकी थिइन्। त्यो सहयोग पाइँञ्जेल राम्रो हुन्छ, दर्द पनि हुँदैन। तर, अर्काको भर पर्ने बानी बढेकोले सहयोग पाउन छोडेपछि आत्मनिर्भरतामा र्हास आएको महसुस हुन्छ। त्यसले गर्दा पछि बाँच्नै गार्हो हुन्छ।
आजका मितिमा नेपाललाई विदेशले सहयोग नगरे मुद्रास्फीति आकासिन्छ। विकास ठप्प हुन्छ। कर्मचारीको तलब दिन पैसा हुँदैन। स्थानीय निकायलाई पैसा दिन सकिंदैन। सामाजिक सुरक्षामा पर्ने वृद्धभत्ता, एकल महिला आदिले पाउने भत्ता आदि ठप्प हुन्छन्। हामीसँग मल किन्नेसमेत पैसा पुग्दैन। अभावले गर्दा चोरी, डकैती, लुटपाट, अशान्ति मच्चिन्छ। त्यतिबेला देश गृहयुद्धमा जान सक्छ। ज्यान जोगाउन आतुर मानिसको राष्ट्रियता क्षीण हुन्छ। उनीहरू जसले ज्यान बचाउँछ उसैको पछि लाग्छन्। यस सन्दर्भलाई समयमा नै ध्यान नदिएर देशको सम्बन्धमा सचेत नहुने हो भने हामी जुन समयमा पनि अप्ठ्यारोमा पर्नसक्छौं। यो देशको राजस्वबाट उठ्ने रकम लगभग रू. ५ खर्ब ५० अर्बमात्र हो। विकासबाहेकका अन्य नगरि नहुने खर्च अहिले ७ खर्ब ५० अर्बजति छ। विदेशले सहयोग नगरेमा नभइनहुने २ खर्ब कहाँबाट ल्याउने? त्यसको उत्तर त महँगी, मुद्रास्फीति र परिणाम अराजकता नै हुन्छ।
जनपद प्रहरीका महानिरीक्षक उपेन्द्रकान्त अर्यालले बेरोजगारीले गर्दा अपराध बढ्ने हुँदा चाडपर्वमा प्रहरी अझ सक्रिय हुनुपर्ने बताएका रहेछन्। उनको प्राविधिक भनाइ अत्यन्त राम्रो हो। तर, अपराध घटाउन त रोजगारी र आम्दानी चाहिने रहेछ र जनताका न्यूनतम आवश्यकता पूरा हुनुपर्ने रहेछ भन्ने त हामीले बुझ्ने नै विषय भयो। हुन पनि चोरी, डाँकाजस्ता अपराधमध्ये अधिकतम आर्थिक अभावका कारणले वा आर्थिक अभावकै कारणले परिवारले राम्रो शिक्षा दिन नसकेकोले हुने गर्दछन्।
वास्तवमा हामी 'बाख्राकाने' संस्कृति विकास गरिरहेका छौं। देशमा कुनै एनजीओले बाख्रापालनलाई प्रोत्साहन गर्न बाख्राको कानमा ट्याग लगाएर किसानलाई वितरण गरेको रहेछ। बाख्रा अचानक मरेमा अर्को बाख्रा दिने व्यवस्था पनि रहेछ। त्यसका लागि मरेको बाख्राको कानको ट्याग देखाउनुपर्ने रहेछ। एकजना किसानले एनजीओलाई ठग्ने क्रममा बाख्रो काटेर मासु र रक्सी खाने र कान लग्दै कहिले भीरबाट बाख्रो लड्यो भन्ने, कहिले खोलाले बगायो भन्ने, कहिले बिरामी भएर मर्यो भन्ने आदि गर्दै बाख्रा लाने गर्दोरहेछ। यस्तो काम अरूले पनि गर्दारहेछन्। उनले एनजीओलाई ठगे कि आफैं ठगिए भन्ने सवाल महत्वपूर्ण छ। उनी काम नगर्ने भएकाले सबैभन्दा पहिला उनी नै ठगिए, एनजीओले सहयोग नगरेमा पनि उनमा काम नगर्ने बानी बस्यो। उनले एनजीओलाई त सीधै ठगे। त्यो बाख्रो अर्कोलाई मिल्दथ्यो, त्यसैले अर्कोलाई पनि ठगे। ठग्ने उनको प्रवृित्त बन्यो।
राज्यले जनताका लागि रोजगारीमूलक पेसामा अभिप्रेरित गर्न लगानी लगाउन आवश्यक भएको छ। देशमा के किन्नका लागि पैसा बिदेसिन्छ भन्ने हेरेर त्यही उत्पादन गर्ने प्रकृतिको रोजगारीमा प्रोत्साहित गर्नु अपरिहार्य भएको छ। विदेशिने पैसा रोक्नको निम्ति कुन रोजगारीको पहल गर्नु उपयुक्त हुन्छ भन्नेमा ध्यान दिनैपर्छ। यी तथ्यमा पहलकदमी लिनसक्ने हो भने लाखौं रोजगारी यसै देशमा सिर्जना गर्न सकिन्छ। हाल विदेशबाट कागतीमात्र अर्बौं रूपैयाँको आयात हुन्छ। केरा, स्याउजस्ता नेपालमा उत्पादन सजिलैसँग हुनसक्ने वस्तुमा नै खर्बौं पैसा विदेसिएको छ।
विदेशी सहयोग र ऋण लिएर कम दुःख गरेर वा दुःख नगरी खाने प्रवृित्त पनि बाख्राकाने प्रवृत्तिमा पर्न सक्दछ। जनतालाई विकास र समानताको पूरकको रूपमा आन्तरिक स्रोतको परिचालनमा आधारित स्वरोजगारीलाई प्रेरित गर्न र प्रधानता दिन आवश्यक छ। राज्यले दलको आधारमा जनतालाई सस्तो राजनीति गरेर फुटाउने, चर्का पूरा नहुने कुरा गरेर सजिलोसँग पैसा कमाउने अल्छी बनाउने काम नगरी सही धरातलको आधारमा राजनीति गर्न आवश्यक हुन्छ। माहात्मा गान्धीले भनेका छन् कि श्रमविहीन सम्पत्ति र सिद्धान्तविहीन राजनीति पाप हुन्। अहिलेको राजनीतिको सिद्धान्त सत्ता र सजिलोसँग सम्पत्ति कमाउने भएको छ। श्रम नगरी कमाउने ठूलो बन्ने गरेका छन्। यसको अन्त्य आवश्यक छ।
|