September 3, 2018

समय सन्दर्भ

बाँकि समय सन्दर्भ
 

जनप्रदर्शन देशव्यापी बनाइनु जरुरी

देश विखण्डनको लागि पूर्वाभ्यास गर्ने नेका र माओवादी केन्द्र सम्मिलित दल र संयुक्त लोकतान्त्रिक मधेसी मोर्चामा आबद्ध दलको सक्रियतामा पेश गरिएको संविधान संशोधन प्रस्तावको विरोधमा राजधानीमा आयोजित जनप्रदर्शन देश र जनताको पक्षमा छ। त्यो प्रदर्शन देशभक्त जनताको प्रदर्शन हो। देशघाती काम गर्न खोज्दा, देशघाती नीति नियम तयार गर्न खोज्दा देशमा देशभक्तहरूको एकता र जनप्रदर्शन जरुरी छ, भइरहनुपर्छ। देशघाती कदमको विरोधमा हुने यस्ता प्रदर्शनलाई देशव्यापी बनाइनुपर्छ। देश जोगाउने काम देशभक्तहरूले नै गर्छन्। जनतामा देशभक्तिको भावना जगाएर सरकारलाई खबरदारी गर्न आयोजित जनप्रदर्शन देशभक्त जनताले स्वागत गर्नैपर्छ। यसको लागि कार्यक्रम आयोजकलाई धन्यवाद छ। 

देशभक्तहरूको यो जनप्रदर्शनलाई देशका मुख्य–मुख्य सहर र गाउँबस्ती हुँदै देशव्यापी बनाइनुपर्छ। सरकारले पुस २४ गते पेश गर्ने भनिएको सो संशोधित प्रस्ताव फिर्ता लिन लगाउन दबाब दिइरहनुपर्छ। संशोधन फिर्ता नलिई प्रक्रिया अघि बढाइएमा संसदमा असफल पार्नुपर्छ। सत्तारुढ दलका देशभक्त सांसदहरूले पनि प्रस्तावको विरोधमा मतदान गर्नुपर्छ या बहिष्कार गरेर अल्पमतमा पार्नुपर्छ। दल, मन्त्री र सांसदभन्दा देश ठूलो या महत्त्वपूर्ण हुन्छ। देशलाई दूरगामी असर पुर्‍याएर प्रस्तावमा समर्थन गर्नुहँुदैन। देशघाती काममा दलको प्रस्ताव भनेर आँखा चिम्ली समर्थन गर्नुहुँदैन। समर्थन गरिएमा त्यसले देशको लागि धोका सावित हुनेछ। 

नेकाको सरकारले प्रत्येकपल्टझैं नेपाल र नेपालीको भन्दा भारतको स्वार्थ हेरेको छ। भारतीय शासक वर्गको स्वार्थ पूरा गर्ने काम नेकाको सरकारले गरिरहेको छ। भारतीय शासक वर्गले खोलेकोजस्तो काम नेकाले गरिरहेको छ। नेपालमा भारतीय एकाधिकारी पूँजीको प्रभाव बढ्नु, नेपाल भारतनिर्भर हुनु र अरु छिमेकी देशसँग दौत्य सम्बन्धलाई सुदृढीकरण गरेर नेपालका लागि आवश्यक पूवाँधार तयार गर्न नसक्नुको कारण पनि नेकाकै भारतीय स्वार्थ हो। यसपटक नेका आफै अघि नसरी माओवादी केन्द्रलाई प्रयोग गरेर भारतीय शासक वर्गको स्वार्थ पूरा गर्नखोज्दैछ। त्यो स्वार्थ कुनै हालतमा पूरा गर्न दिनुहुँदैन। तसर्थ समयको मागअनुसार देशभक्तहरूको प्रदर्शन भइरहनुपर्छ, यसले राम्रो सन्देश छर्नेछ।–गौरव प्रधान