देशमा अर्को कालो दिन नआओस्
स्वतन्त्रता र लोकतन्त्रको अर्थ जसले जे पनि गर्न पाउने होइन। जसले गरे पनि मौन बस्ने या टुलटुल हेरेर बस्ने सरकारको कमजोरीको फाइदा विदेशी शक्ति राष्ट्रले लिइरहेको छ, मधेसी मोर्चामा आबद्ध दलका नेताहरूले लिइरहेका छन्। नेका र माओवादी केन्द्रसँग मोर्चाले गरेको सम्झौता, प्रधानमन्त्री पुष्पकमल दाहालले विदेशी भूमिमा गरेको देशविरोधी सम्झौता यसको पछिल्लो दृष्टान्त हो। बहुमतको नाउँमा देश विभाजित हुने संविधान संशोधन प्रस्ताव अघि बढाएर सरकारले आफूलाई इतिहासमा कालोसूचीमा दर्ज गर्ने काम गरेको छ। यस्तो संशोधन प्रस्ताव पारित गर्न पेस गर्नु नै देशघाती कदम हो। संशोधन प्रस्ताव पारित भए त्यो दिनलाई कालो दिनको रूपमा लिनुपर्छ, जनतामाझ उदाङ्ग्याउँदै जानुपर्छ।
मधेसी मोर्चाका एक नेताले संसदमा एक मधेस एक प्रदेश नरहे देशै नरहने चेतावनी दिएपछि सरकारले त्यो अभिव्यक्ति तुरून्तै फिर्ता लिन लगाउनुपर्थ्यो। तर सरकार मौन रह्यो। त्यस्तै देशविरोधी अभिव्यक्ति मोर्चाका नेताहरूले पछिल्ला दिनमा पनि उठाइरहे। देशको स्वतन्त्रता, सार्वभौमिकताको कुरा उठाउने सत्तारूढ दलका नेताहरू मुसुमुसु हाँसेर उल्टो बल पुर्याइरहेे। सांसदले कुनै शब्द बोल्दा आपत्ति जनाउँछ, शब्द फिर्ता लिन लगाउन सभामुखलाई आग्रह गर्छ र आग्रहपछि शब्द मेटाउने काम हुन्छ। तर देशविरोधी अभिव्यक्ति दिए पनि कुनै सरकारका मन्त्रीले आपत्ति जनाएनन्। सभामुख स्वयं लाचार भएर बसे। के यो सरकारको कमजोरी होइन? त्यस्तै सरकारको कमजोरीको फाइदा अरूले लिइरहेको छ। यसरी पछि हट्दै गयो, कमजोरी गर्दै गयो भने भोलिको नेपाल के होला? अनि कसरी बन्छ देश आत्मनिर्भर, कसरी बन्छ समृद्ध मुलुक।
कुनै दलले सरकारको नेतृत्व गर्नु ठूलो कुरा होइन, त्यो बहादुरीको परिचय पनि होइन। सत्ता पाउने लोभमा देशलाई बर्बादीको खाल्डोमा पुर्याउने सहमति र सम्झौता गर्नुहुँदैन। माओवादी केन्द्रले मधेसी मोर्चासँग गरेको सहमति सत्ताको नेतृत्व गर्ने लोभले नै भएको हो। मधेसी मोर्चामा आबद्ध दलहरू सुक्नुको कारण उनीहरूको सङ्कीर्ण विचार हो, पहाड र हिमाल अलग गरेर एक मधेस एक प्रदेश बनाउने कुप्रयास हो। सरकारको नेतृत्व गर्न पाएकोमा माओवादी केन्द्रलाई दङ्ग छ तर आफ्नो धोती फुस्केको चाल पाएको छैन। माओवादी केन्द्रलाई ढाल बनाएर नेकाले आफ्नो स्वार्थ पूरा गर्दैछ। यसले नेकाभन्दा माओवादीको बद्नाम हुन्छ र चालै नपाइकन माओवादीले कम्युनिष्टको सिद्धान्त र विचार छोड्दै छ। अतः गलत काम र विचारको जहिल्यै विरोध गरिरहनुपर्छ।
– दीनबन्धु केसी
|