|
नरदेवीको श्वेतकाली नाच भक्तपुरमा
रु ओम धौभडेल
काठमाडौं महानगरपालिकाको वडा नम्बर १८ नरदेवी टोलस्थित नरदेवी मन्दिरबाट लोकप्रिय रहदैं आएको ठाउँ हो। जुन नरदेवीलाई यहाँको स्थानीय नेपालभाषामा ङतमरु अजिमाबाट चिनिन्छ। साथै उत्क अजिमाले सेतो वस्त्र धारण गरेकी हुँदा श्वेतकालीले समेत प्रख्यात छ। नेपालका धार्मिक तथा परम्परागत नाचहरूमा एक महत्त्वपूर्ण नाच श्वेतकालीको नाच मानिन्छ। यो नाच प्रत्येक वर्ष पिशाच चतुर्दशीको समयमा भव्य रुपले काठमाडौंको नरदेवीलगायत ठाउँ–ठाउँमा प्रदर्शन गर्ने चलन छ। यो नाच प्रत्येक वर्ष नरदेवीबाट सुरु भई टेंगल, असन, वंगल, मखन, काष्ठमण्डप, न्हुघ, कोहीटी, भीमसेनस्थान, प्याफल, यटखा हुदैं पुनः नरदेवीमा देखाउने परम्परा छ। काठमाडौंको महत्त्वपूर्ण चाड मानिने पशाचरेको प्रमुख आकर्षण नै यो नाच भएको सन्दर्भमा यो नाचको अझ महत्त्व हुन्छ। यसै सन्दर्भमा प्रत्येक बार्ह वर्षको एकपटक यो नाच काठमाडौंबाहेक अन्य स्थानहरूमा पनि देखाइने गर्दछ। यसमा बार्ह वर्षको एक पटक सो नाच भक्तपुर दरवार अर्थात् तलेजु अगाडि नचाउने प्रथा छ। जुन नाच देखाउने क्रममा नाचगणका कलाकार एवम् वाद्यवादकलगायत व्यवस्थापकहरू नाच देखाउने अघिल्लो दिन नै भक्तपुर प्रस्थान गर्छ। भक्तपुर आउने क्रममा सल्लाघारी हुदैं सिद्धपोखरी आइपुग्छ। सिद्धपोखरीबाट एकैचोटि नगर प्रवेश गर्दैन। त्यहाँस्थित सत्तलपाटीमा विश्राम गर्छ र गुह्य रुपमा गर्नुपर्ने पुजादि कार्य सम्पन्न गर्छ। सबै देवगणहरूले आ–आफ्नो पोशाक गरगहना लगाइसकेपछि बाजागाजाका साथ नगर प्रवेश गर्छ। भक्तपुरको इटाछें , खौमा भई दरवार क्षेत्र पुगेपछि दरवारको सम्मुख रहेको लामो सत्तलमा देवगणहरू आसनग्रहण गर्दछ। त्यहाँ पुनः पूजाकार्य हुन्छ। जसमा बलिसमेत दिइन्छ। बलि अन्य पशुपन्छीको नभई नेपाली भेंडा थुमा नै चाहिन्छ। तत्पश्चात् श्वेतकाली अजिमाको परम्परागत नाच सुरु हुन्छ।
यो नाचको मूल कथा देवीको हातबाट चण्डासुर दैत्यको बध हो। एक समय चण्डासुर दैत्यको प्रेमपाशमा श्वेतकाली अजिमाकी छोरी कुमारी पर्छे। जुन कुरा श्वेतकालीलाई अति मन पदर्ैंन। यसको लागि उत्क दैत्यको बध कुमारीकै हातबाट गर्ने सङ्कल्प गर्छ। यसैबीच चण्डासुर र कुमारीको नाच हुन्छ। तर श्वेतकालीले सोचेबमोजिम कुमारीले आफ्नो प्रेमी चण्डासुरको बध गर्नसक्दैन। त्यसपछि श्वेतकालीले चण्डेश्वरी देवीको आह्वान गर्छ। चण्डेश्वरी देवी पनि नाच्न आइपुग्छ। यहाँ कुमारीको हातको खड्ग चण्डेश्वरीले लिई दैत्यको बध गर्छ। नाच समाप्त हुन्छ। यसबाहेक यसमा सिघ्रीनी, व्याघि्रनी, भैरव, बाराही, महालक्ष्मी, वैष्णवी, इन्द्रायणी, रुद्रायणी, ब्रम्हायणी पनि हुन्छ। प्रत्येक बार्ह वर्षको एकपटक भत्कपुर तलेजु भवानीसमुख नाच देखाउने परम्परा यस वर्ष पनि आयोजना हुँदैछ। यसमा यो नाच कहिलेदेखि किन यसरी भक्तपुर ल्याई देखाउने परम्परा बन्यो, महत्त्वपूर्ण प्रसङ्ग हुन आउँछ। बार्ह वर्षको एकपटक हुने सो नाचको बारे त्यति भरपर्दो सूत्रहरू प्रकाशमा आएको छैन।
यो नाच भक्तपुरको प्रसिद्ध नवदुर्गा नाचझैं धार्मिक एवम सांस्कृतिक नाच भएको सन्दर्भमा नेपालमण्डलको हरेक बस्तीहरूको स्थापनासँग जोडिएका नाचहरू रहेको देखिन्छ। यसमा आ–आफ्ना बस्तीहरूमा परम्परादेखि चल्दै आएका नाचहरू प्रत्येक वर्ष आ–आफ्नै बस्तीभित्र देखाउने प्रथा छ। यसबाहेक प्रत्येक बार्ह वर्षको एकचोटि आफ्नो बस्तीभन्दा बाहिर पनि देखाउने वा नचाउने गर्दछ। चाहे त्यो भक्तपुरको प्रख्यात नवदुर्गा नाच होस्, पाटनको हरिसिद्धीको नाच होस्, काठमाडौंको पचलीभैरवको नाच होस् वा नरदेवीको श्वेतकालीको नाच होस्। यस्ता थुप्रै नाचहरू छन जो बार्ह वर्षको एकपटक एक अर्काको ठाउँमा लगी प्रदर्शन गरिन्छ। यसमा श्वेतकालीको नाच पनि यसरी नै बार्ह वर्षको एकचोटि नरदेवी र वरपरमात्र नभई काठमाडांै दरवार क्षेत्र, भक्तपुर दरवार क्षेत्र, कीर्तिपुर दरवार क्षेत्र, ललितपुर दरवार क्षेत्र, बनेपा दरवार क्षेत्रजस्ता ठाउँहरूमा लगी देखाउने गर्छ। नाच अन्य टोल बस्तीमा नभई सिधै नगर प्रवेश गरी तलेजु भवानी तथा तत्कालीन राजदरवार समीपमात्र देखाउने पहिलेदेखिको चलन हो। त्यसो त भक्तपुरको लायकुमा यसरी बार्ह वर्षको एकपटक श्वेतकालीको नाचमात्र नभई अन्य नाचहरू पनि ल्याइन्छ। त्यसमा काठमाडौंकै पचली भैरवको नाच तथा भद्रकालीको नाच पनि पर्छ।
यता पाटनको हरिसिद्धीको जँलाप्याखँ पनि बार्ह वर्षको एकपटक भक्तपुर दरवार क्षेत्रमा ल्याउने चलन छ। यसको एउटा मल्लकालको प्रमाण छ। ने.स.८०० आषाढकृष्ण तृतीया आइतबारको दिन हरिसिद्धीको जँला प्याखँ मूलचोकमा देखाएको टिपोट छ। यता पचली भैरवको नाच वि.स. २०४३ सालमा भक्तपुर तलेजुसमीप देखाएको थोरै याद छ। त्यसको १२ वर्षपछि वि.स.२०५५ सालमा पुनः भक्तपुर लायकुमा ल्याएको पनि धेरैलाई थाहा होला। तर त्यसपछि पचली भैरवको नाच भक्तपुरमा ल्याएको देखिंदैन। त्यस्तै काठमाडौंकै भद्रकालीको बार्ह वर्षे नाच वि.स.२०४७ साल र वि.स.२०५९ सालमा भक्तपुर ल्याएको भएतापनि वि.स.२०७१ म्ाा ल्याएन। यसक्रममा नरदेवीको श्वेतकालीको नाच त विगत ३० वर्षदेखि नै भक्तपुर आएको देखिंदैन। केही समय अगाडिबाट नरदेवी श्री श्वेतकाली संरक्षण तथा व्यवस्थापन समिती गठनपश्चात् रोकिराखेको १२ वर्षै नाच पुनः सञ्चालनमा ल्याउन पहलकदमी सुरु भएको छ। केही समयदेखि १२ वर्षे नाच ठाउँ ठाउँमा देखाउने क्रममा काठमाडौंको नरदेवीबाट सुरु भई काठमाडौं तलेजु अगाडि, नासलचोक, कालभैरवस्थानको पछाडि, कुमारीघर अगाडिको डवलीमा देखाइसकेको छ। त्यस्तै पाटन दरवार अगाडि र कीर्तिपुरमा पनि देखाइसकेको छ। अब यही पौषको २४ र २५ गते भत्कपुर लायकुमा यो नाच देखाइसकेपछि बनेपामा देखाइनेछ। यी सबै ठाउँमा श्वेतकालीको नाच प्रदर्शनपश्चात पुनः काठमाडौंको नरदेवीमा देखाएपछि १२ वर्षे नाच सम्पन्न हुन्छ।
१२ वर्षको हाम्रो धर्म संस्कृतिमा ठूलो महत्त्व छ। भगवान राम १२ वर्ष नै बनबास गएको थियो। १२ वर्षमा बगेको खोला पनि फर्कन्छ भन्ने उखान छ। १२ वर्षलाई एउटा युग नै मानिन्छ। त्यसैले जन्मेको १२ वर्षमा भव्यरुपमा जन्म दिन मनाइन्छ। १२ राशी , १२ महिना, १२ नारायणका रुप, हाम्रो महत्त्वका विषय हुन्। यसैबीच हामीकहाँ १२ वर्षको एकपटक जात्रा, मेला तथा नाच देखाउने एउटा परम्पराले ठूलो स्थान पाउँदै आएको छ। भक्तपुरको प्रसिद्ध नवदुर्गा नाच १२ वर्षको एक पटक काठमाडौंको नर हाँडीगाउँमा देखाउने चलन छ। यहाँस्थित मनमानेश्वरीलाई मानी नवदुर्गा नाच प्रत्येक वर्ष जान नसके तापनि १२ वर्षको एकपटक भएपनि यसरी जाने गरेको देखिन्छ। त्यस्तै १२ वर्षको एकपटक ललितपुरको गोदावरीमा मेला लाग्छ भन्ने त्यस्तै १२ वर्षको एकपटक काभ्रेपलान्चोकको पनौतीमा मकर मेला लाग्छ। यी दुवै ठाउँको मेला ६―६ वर्षको फरकमा लाग्ने गर्दछ। यता भक्तपुरमै रहेको चण्डेश्वरी देवीको जात्रा हरेक वर्ष चण्डेश्वरी देवीको इलाकामा मात्र हुने गर्छ। तर १२ वर्षको एकपटक सो देवीको जात्रा पुरै नगरभरि हुन्छ। ललितपुरको प्रसिद्ध मछिन्द्रनाथको जात्रा हरेक वर्ष पाटनको गाबहालबाट सुरु भई जावलाखेलमा सम्पन्न हुन्छ।
तर १२ वर्षको एकचोटि सो जात्रा बुंगमतीबाट सुरु हुन्छ। भक्तपुरको व्यासी टोलमा एउटा नाच छ जुन महाभारतबाट प्रभावित छ। यो नाचको एउटा विशेषता के छ भने नाच सुरु भएपछि कुनै पनि पात्र, वाद्यवादक बस्न पाउँदैनन्। चारैतिर दीप बाली प्रस्तुत हुने यो नाचलाई खःप्याखँ भनिन्छ। जुन प्रत्येक १२ वर्षको एकपटक भक्तपुरको लायकु, टौमढी, नासमना र तचपालको डवलीमा देखाइन्थ्यो। तर अचेल यो नाच नदेखाएको लामो समय भइसक्यो। भक्तपुरकै बोडेको अर्को प्रसिद्ध नाच नीलबाराहीको पनि एउटा चलन १२ वर्षसँग जोडिएको छ। नीलबाराही नाचमा बाल्ने निगालो १२ वर्षलाई पुग्ने गरी एकपटकमात्र नीलबाराहीको जङ्गलबाट लिन पाइन्छ। भनैको मतलव हरेक वर्ष निगालो लिन मिल्दैन। ललितपुरको खोकनाको प्रसिद्ध रुद्रायणीको नाच पनि प्रत्येक १२ वर्षको एकपटक काठमाडौं र ललितपुरको टोल टोलमा प्रस्तुत गर्ने प्रथा छ। जुन वैशाख वा जेठको आइतबार वा बिहीबारबाट सुरु हुन्छ।
काठमाडौंको स्वयम्भू भुइँखेलमा १२ वर्षको एकचोटि भव्य रुपमा सम्यक दान गर्ने परपरा छ। यता थेचोको प्रसिद्ध नवदुर्गा नाच पनि १२ वर्षको एकपटक साउन कृष्ण त्रयोदशीबाट सुरु भई एक महिनासम्म देखाउने गर्छ। खोजी हेरे यस्ता थुप्रै थुप्रै १२ वर्षको चलनले हाम्रो धर्म संस्कृति धनी छ। किरात काल तथा लिच्छवी कालको पुर्वाद्धमा निर्माण भएका नेपालमण्डलका बस्तीहरूजस्तै ख्वोप्रिङ्ग, युप्रिङ्ग, थेर्म्मिङ्ग, कुप्पार्सी, किचप्रिचिङ ,खकम्पि्रङ, खुलप्रिङ, चुस्तुङ, थंतुरी, दुप्रङ, नालङ पुठप्रिङ, माटिङ, लेम्वटीं जोप्रिङ ज्ञात अज्ञात बस्तीहरू होस् वा भक्तपुर, काठमाडौ, ललितपुर, बनेपा , पनौती, साङ्गा, नाला, चौकोट, श्रीखण्डपुर, धुलिखेल, थिमी, बोडे, नगदेश, लुभु, हरिसिध्दी, खोकना, बलम्बु, टोखा, फर्पिङ्ग, दोलखा, साँखु, कीर्तिपुर, चित्लाङ्ग, पालुङजस्ता वस्तिहरूको निर्माणसँगै मातृकादेवीहरूको पनि स्थापना भएको इतिहास छ।
नेपालमण्डलका प्रायः यी बस्तीहरूमा एक न एक धार्मिक एवम ऐतिहासिक नाचहरू छ। उदाहरणको लागि भक्तपुरको नवदुर्गा नाच, साँखुको देवी नाच, बनेपाको मुकुण्डो नाच, बोडेको नीलबाराहीको नाच, नगदेशको महाकाली नाच, हरिसिद्धीको हरिसिद्धी नाच, फर्पिङको कार्तिक नाच, दोलखाको मुकुण्डो नाच, पनौतीको देवी नाच, पाटनको गण नाच, थेचोको नवदुर्गा नाच, कीर्तिपुरको बाघभैरव नाच, चित्लाङको मुकुण्डो नाच, टिस्टुङको मुखुण्डो नाच, खोकनाको सिकाली नाच, पाटनको कार्तिक नाच, काठमाडांैको भद्रकाली नाच, काठमाडौं नरदेवीको श्वेतकाली नाच, हल्चोकको भैरव नाचजस्ता थुप्रै नाचहरू आआफनै विशेषता एवम् महत्त्वको छ। अनि जीवित देवदेवीको रुपमा पुजित छ। आ–आफनो बस्ती इलाकाभित्र आ–आफ्ना नाचहरू प्रत्येक वर्ष देखाउने परम्परा छ।
त्यसमा विशेषतः आफ्नो प्रभुत्व भएको ठाउँमा यसरी प्रत्येक वर्ष तोकिएको समयमा नाच देखाउने परम्परा भएको एक स्पष्ट उदाहरण भक्तपुरको नवदुर्गा नाचले दिन्छ। नवदुर्गा नाच भक्तपुरको टोल टोलमा देखाउनु यसैको द्योतक नै मान्नुपर्छ। तर यो नाच काठमाडौंको देवपतन, टोखा, बुढानीलकण्ठ, थिमी, बोडे, नगदेश, कविलास, टुप्या,चपरिगुं, गोकर्ण, साँखु, चाँगु, साङ्गा, बनेपा, धुलिखेल, श्रीखण्डपुर, पनौती, चाकाथा (कतिपय ठाउँमा बन्द भइसक्यो) जस्ता टाढा टाढासम्म देखाउनुबबाट यी ठाउँहरूमा धार्मिक रुपमा होस्, सांस्कृतिक रुपमा होस् वा राजनैतिक रुपमा होस् भक्तपुरको प्रभाव थियो। यक्ष मल्लपछि मूल थलो भक्तपुर टुक्रिदै जाँदैं गर्दा विश्व मल्लले नेस. ६६३ मा नवदुर्गा नाचलाई पुनःजिर्वीत गरी आफ्नो अधिकार भएको इलाकाभित्र प्रत्येक वर्ष नवदुर्गा नाचको चलन चलाएको थियो। पछि भक्तपुर, ललितपुर र कान्तिपुरबीच धार्मिक सांस्कृतिक रुपमा एक अर्कालाई हस्तक्षेप नगर्ने बरु सम्मान गर्ने नीतिअनुरुप कान्तिपुरको नाच भत्कपुर र ललितपुर लगी देखाउने , ललितपुरको नाच भत्कपुर र कान्तिपुर लगी देखाउने परम्परा बन्यो।
यसको दाँजोमा भत्कपुरको नाच कान्तिपुर र ललितपुर लगी देखाउने परम्परा भन्ने देखिएन। यसरी कान्तिपुर र ललितपुरभन्दा बरु १२ वर्षको एकपटक हाँडीगाउँ लगी देखाउने परम्परा छ। यसमा नवदुर्गा भवानीले मान्नुपर्ने तलेजु भवानी अनि तलेजु भवानीले समेत मान्नुपर्ने मनमानेश्वरी देवी हाँडीगाउँमा रहेको कारण यसरी प्रत्येक वर्ष नभए पनि १२ वर्षको एकपटक भक्तपुरबाट नवदुर्गा भवानी हाँडीगाउँ लैजाने चलन बन्यो। मूल तलेजु एवम् मूल प्रशासनिक केन्द्र त्रिपुर भक्तपुर नै भएको हुँदा नवदुर्गा भवानी कान्तिपुर र ललितपुरमा नगएको देखिन्छ। यसको साटो कान्तिपुरको भद्रकाली, पचली भैरव तथा श्वेतकाली नाच र ललितपुरको हरिसिद्धी नाच १२ वर्षको एकपटक मूल तलेजु तथा त्रिपुरप्रति सम्मान जनाउने उद्देश्यले १२ वर्षे नाचमा सहभागिता जनाउँदै आएको छ। यो परम्पराले बृहत् सांस्कृतिक स्वरुप अँगालिसकेको अवस्थामा यस्ता १२ वर्षे नाचहरूबारे गहन अध्ययन हुनु जरुरी छ। यसमा हालैका दिन भत्कपुरमा देखाउँदै गरेको काठमाडौं नरदेवीको श्वेतकाली देवीको नाच पनि पर्न आउँछ। तसर्थ यसको राम्रो अवसर अहिले बनेको छ। श्वेतकाली नाचबारे हरेक भक्तपुरवासीलाई थाहा पाउने अवसर अहिले छ। यही पुस २४ र २५ गते भक्तपुर दरवार क्षेत्रमा हुन गइरहेको श्वेतकाली अजिमाको नाच हेरी यसबारे जिज्ञासा मेटाउन सकिन्छ। |