जनआन्दोलनको माग सरकारले सुन्नुपर्छ
म मृत्यु कुरेर बसिरहेको मान्छे। यहाँ आएको छु। देशलाई विदेशीले खाँदा हाम्रा बाजे के गरेर बसेको होला भनी मलाई मेरा सन्तानले नधिकारोस्। त्यसैले आएको हँु।' असी वर्ष नाघेका, आधा जिन्दगी शिक्षण कार्यमा बिताएका, आफ्ना बाजेका उमेरका वयोवृद्ध लक्ष्मण राजवंशीले भावकु भई यी वाक्यहरू बोलिरहँदा हामी युवा विद्यार्थीहरू स्तब्ध भयौं। पूरै माहोल भावुक भयो। स्थान भृकुटीमण्डप। पुस २२ गते। दिउँसोको पारिलो घाम। सबै शारीरिक सकस खेपेर जम्मा भएका हजारौं देशभक्तहरू। टुँडिखेल एवं रत्नपार्क फेरो मार्दै जोडजोडले नारा लगाउँदै जुर्मुराएका न्याना शरीरधारी देशभक्तहरू देशको निम्ति केही गरेको भावना गर्वले शिर उँचो पारिरहेका थिए। देशघाती संविधान संशोधन विधेयक फिर्ता लिनुपर्ने मागसहित मध्य मंसिरदेखि सुरु भएको आन्दोलनको एउटा उत्कर्ष हो यो दृश्य भृकुटीमण्डपमा भएको आन्दोलनरत नौ दलको यो आमसभा।
भारतद्वारा थोपरिएको नाकाबन्दीको सामना गरिरहेको ओली सरकारलाई उल्टाइ बनेको प्रचण्ड सरकारको जन्म आफैमा शङ्कास्पद थियो। भारत भ्रमणताका प्रम प्रचण्डले देशको परराष्ट्र नीतिलाई भारतको पुच्छर बनाउने २५ बुँदे विज्ञप्ति जारी गरेपछि यो सरकार पूर्णतः भारतीय स्वार्थपूर्वी गर्न समितिबाहेक केही होइन भन्ने हामी युवा विद्यार्थीमाझ छर्लङ्ग भयो। विदेशी दानापानी खाई आफ्नै देशविरुद्ध नाकाबन्दी लगाउने देशद्रोही एवं कथित मधेसवादी दलहरूका भागलाई 'सम्बोधन गर्ने' नाममा प्रचण्ड सरकारले मंसिर १४ गते संविधान संशोधन विधेयक ल्यायो। नेक्राविसङ्घले देशभर विधेयकका विरुद्ध आन्दोलन सुरु गर्यो। पछि यसमा अन्य सरकार बाहिरका दलका युवा –विद्यार्थी सङ्गठनहरू जोडिन आइपुगे।
यी संविधान संशोधन विधेयक पास भएको के हुन्छ? आम सभामा नेमकिपाका केन्द्रीय सदस्य एवं सांसद प्रेम सुवालले बडो 'गज्जब ले यसको व्याख्या गर्नुभयो। उहाँले भन्नुभयोः दश बजे विदेशबाट ल्याएकी बुहारीले एघार बजे नेपाली नागरिकता पाउँछिन् र बार्ह बजे निर्वाचनमा भाग लिन्छिन्र १२–२ बजेसम्म मन्त्रीसम्म बन्न सक्छिन्।' कार्यक्रमको अन्तमा एमाले अध्यक्ष केपी ओलीले यसमा थप्नुभयो–'साँझ मन्त्रीको झण्डावाल पजेरोमा हिंड्छिन्।' यस अर्थमा यो संशोधन सोझै आत्महत्या हुनेछ। कुनै पनि नेपाली आमाले बोल्ने हिन्दी भाषालाई सरकारी कामकाजको भाषा बनाउने काम कि त सन्कीले गर्छ कि गर्छ एक दासले। बस् यिनै देशघाती बुँदालाई खारेज गर्न हामी युवा विद्यार्थी, किसान, शिक्षक, आमाहरू जम्मा भएका थियौं शहिदगेटमा, नेपाल मजदुर किसान पार्टीको झण्डामुनी। कोणसभासँगै सुरु भएको राताम्य जुलुस नाराबाजी र करतल ध्वनीसँगै टुँडिखेल, रत्नपार्क आसपास गुञ्जिन थाल्यो। पूरै काठमाडौं यो देशघाती संविधान संशोधन विधेयक फिर्ता लिन माग गर्दै थियो। सडक छेउ भेला भएको मानव सागरले समेत आन्दोलनमा समर्थन जनाए।
सुगौली सन्धिपछि नै नेपाल विदेशी शक्तिहरूको चेपाइमा छ। यसपटक भारतले नेपालै टुक्र््याउने हिसाबले प्रस्तुत भयो, नेपाललाई भारतीय जनताको बाढीमा डुबाए। अङ्ग्रेज–नेपाल युद्धमा जस्तै शत्रुको सामना गर्न नेपालीहरूपछि हट्ने छैनन् भन्ने सुदृढ सन्देश दियो सभाले। राष्ट्रिय जनमोर्चाका पाका नेता चित्रबहादुर केसीका शब्दमा 'हामीले भियतनामको देशशक्ति आन्दोलन देख्यौं, अरु देशका स्वतन्त्रता आन्दोलन पढ्यौं। यस्ता थुप्रै लडाइँ हामी नेपाली देशभक्तहरूले लड्दै जानुपर्छ। खासगरी अब नयाँ पुस्ताले यो लडाइँलाई अघि बढाउनुपर्छ।– सुरेश परियार
|