विधेयक फिर्ता नलिंदासम्म विरोध चालू राख्नुपर्छ
रु गोरख जंग शाही
प्रचण्ड नेतृत्वको दलाल सरकारले भारतीय विस्तारवादको दबाबमा मंसिर १४ गते राती संसदमा दर्ता गरेको संविधान संशोधन विधेयकविरुद्ध नेपाल मजदुर किसान पार्टीलगायत विभिन्न नौ राजनीतिक दल आयोजनामा भएको विशाल जनसभामा सहभागी हुन पाउँदा अत्यन्तै खुसी लाग्यो। नेमकिपाको नेतृत्वमा सहिदगेटबाट सुरु भएको विशाल र्याली रत्नपार्क, पुतलीसडक हुँदै प्रदर्शन मार्गम्ा बृहत जनसभामा परिणत भयो। जनसभामा हजारौं राष्ट्रप्रेमी जनताको उत्साहजनक सहभागिता भएको थियो।
सरकारले दर्ता गरेको संविधान संशोधन विधेयकमा नेपाल र नेपाली जनताको हितविपरीत हिन्दी भाषालाई नेपाली कामकाजको भाषा बनाउने, नेपाली नागरिकसँग विवाह भएका भारतीय महिललाई तत्काल अङ्गिकृत नागरिकता दिने र उनीहरूलाई राष्ट्रपति, प्रधानमन्त्री, सेनापतिजस्ता देशका प्रमुख अङ्गमा प्रतिनिधित्व गर्न दिने र नेपालजस्तो भौगोलिक रुपले विविधता भएको देशमा भूगोललाई वेवास्ता गरी जनसङ्ख्याको आधारमा निर्वाचन गर्ने अझै तराई क्षेत्रलाई अलग गर्ने जस्ता कुराले हाम्रो देश अब नेपाल रहनेकी नरहने भन्ने राष्ट्रभक्ति जनतालाई चिन्ताको विषय बनेको छ।
उक्त राष्ट्रघाती विधेयक फिर्ता नलिएसम्म देशलाई माया गर्ने राजनीतिक दलले संसदमा निरन्तर सङ्घर्ष गर्नुपर्ने आजको आवश्यकता छ। देशभक्ति भावना भएका सम्पूर्ण नेपाली जनताले विधेयक फिर्ता नहुँदासम्म यस्तै जनप्रदर्शन नियमित गर्नुपर्छ। नत्र भने यो संशोधन विधेयकले भारतीय विस्तारवादले पाकिस्तानबाट बङ्गलादेश टुक्रा पारेजस्तै नेपालको तराईलाई अलग गर्ने अन्तत नेपाललाई सिक्किम जस्तै भारतमा गाभ्ने निश्चित छ। देश रहेमा हामी जनता रहुँला भन्ने भावना राखेर यो विधेयक फिर्ता नलिंदासम्म नेपाली जनताले निरन्तर विरोध गर्नुपर्छ।
|