September 3, 2018

समय सन्दर्भ

बाँकि समय सन्दर्भ
 

धार्मिक सहिष्णुताको उत्कृष्ट उदाहरण बाली एकराज पाठक

बाली (इन्डोनेसिया), २३ पुस। पच्चीस करोडभन्दा बढी जनसङ्ख्या रहेको विश्वको सबैभन्दा ठूलो मुस्लिम देश इन्डोनेसियाको बाली सहरमा देखिएको धार्मिक सद्भाव उदाहरणीय छ। जताततै मन्दिर र हिन्दू देवताहरूका मूर्ती रहेको बालीमा सबैको साझा मन्त्र हो 'ओम शान्ति'। वर्षेनी करिब आधा करोड पर्यटक पुग्ने सो सहर धार्मिक पर्यटनको एक उत्कृष्ट गन्तव्य पनि हो।  

सार्वजनिक कार्यक्रम हुन् वा विद्यालय विश्वविद्यालयका कक्षा कोठाहरूमा सबैले आफ्नो भनाइ राख्नुअघि गरिने मन्त्रोच्चारण हो 'ओम शान्ति' र 'स्वास्त्यास्तु'। बाली र विशेषगरी बाली आउने इन्डोनेसियाका अरु नागरिकले पनि देखाउने सद्भाव हो यो। यहाँ आउने मुस्लिम होस् वा कुनै नागरिकले पनि यो सदासयता देखाउने गर्छन्। यहाँ आउने पर्यटकको अर्काे चासो भनेको विश्वको सबैभन्दा ठूलो मुस्लिम देश इन्डोनेसियाको यो सहरमा के कसरी ठूलो सङ्ख्याका हिन्दू धर्मावलम्बी छन् र बालीमा कसरी यो संयोग मिलेको छ भन्ने पनि रहने गर्दछ।  

करिब ४५ लाख जनसङ्ख्या रहेको बालीमा अधिकांश हिन्दू धर्माबलम्बी छन्। सन् २०१४ को तथ्याङ्कअनुसार यहाँ कम्तीमा पनि ८४ प्रतिशत हिन्दू नागरिक छन्। उनीहरूमध्ये अधिकांशले गणेश र शिवको पूजा गर्छन्। अर्काे रमाइलो पक्ष त के छ भने उनीहरूले आफ्नो घरको मूलद्धार तथा छत्मा हिन्दू देवी देवताका मूर्ति राखेका छन् र सबै देवी देवतालाई उनीहरूले गणेशाा (गणेश) नै भन्ने गर्छन्।   

गत डिसेम्बर ८ मा इन्डोनेसिया सरकारले आयोजना गरेको बाली डेमोक्रेसी फोरमको नवौं सम्मेलन उद्घाटन गर्दा इन्डोनेसियाका राष्ट्रपति जोको बिदोदोले जब दुई हात जोडेर तीन पटकसम्म ओम शान्ति वाचन गर्नुभयो, त्यतिबेला हामी हिन्दू धर्मावलम्बी नेपाली र भारतीयहरूलाई आश्चर्य लाग्नु स्वाभाविकै थियो। सो सम्मेलनमा विश्वका ९४ देशका विदेशमन्त्री, मन्त्री एवम् प्रतिनिधिहरूको सहभागिता थियो। कार्यक्रमस्थल स्थानीय नुसा दुवास्थित वेस्टिन होटलको हल भरिभराउ थियो। उद्घाटनका क्रममा उहाँले बाचन गर्नुभएको ओम शान्ति र स्वास्त्यास्तु मन्त्रको अर्थ माइक्रोमोनमार्फत लगाइएपछि बोल्ने क्रममा विश्वका अधिकांश मन्त्री तथा प्रतिनिधिहरूमा पनि यही उच्चारण गरे।   

उहाँले आफ्नो सम्बोधनको क्रममा सुरुमा तीन पटक ओम शान्ति र 'ओम स्वास्त्यास्तु' मन्त्रोच्चारण गर्नुभयो। र सम्बोधनको अन्त्यमा पनि यसरी नै दोहोर्‍याउनुभयो। त्यसपछि कैयौं देशका प्रतिनिधिले आफूले बोल्ने क्रममा लवज नमिले पनि यो मन्त्रोच्चारणको प्रयत्न गरे। त्यस समयमा सो सभाहलमा धार्मिक सहिष्णुताको एक अनुपम नमुना देखिंदै थियो।  

बालीको कराम्बितान जिल्लामा पुगेका उक्त कार्यक्रमका विशिष्ट पाहुनाहरूको स्वागतार्थ यहाँको विद्यालयका ससाना नानीहरूले प्रस्तुत गरेेको एक कार्यक्रमले पनि यसैगरी विश्वका नेताहरूको ध्यान खिच्यो। बालीको धार्मिक सहिष्णुताको यो अर्काे एउटा उदाहरण थियो। यो विद्यालयको नाम हो बाली बिना इन्सानी इस्लामिक बोर्डिङ स्कुल। इस्लामिक सो विद्यालयमा हिन्दू धर्मका बारे पनि अध्यापन हुने रहेछ। एउटै विद्यालयमा हिन्दू र मुस्लिम धर्मग्रन्थबारे पढाई हुन्छ र आ–आफ्ना संस्कृति अनुसारका कार्यक्रम पनि गर्ने गरिन्छ।  

करिब २०० विद्यार्थी रहेको सो विद्यालयमा आधा जति हिन्दू विद्यार्थी रहेछन्। त्यस्तै १६ जना इस्लाम र त्यति नै सङ्ख्यामा हिन्दू शिक्षक छन्। इन्डोनेसिया र बालीको संकृति, पर्यटन र कलाकारिताका बारेमा यहाँ पढाउने गरिन्छ। यहाँका विद्यार्थीले देखाएको मञ्जुश्री नाचले बालीमा हिन्दू धर्मको बलियो प्रभावका बारेमा दृष्टान्त नै प्रस्तुत गरेको थियो। त्यस्तै हिन्दू र इस्लाम धर्मको अध्ययन गरिरेहका साना नानीहरूले आ आफ्नो संस्कारका कला प्रस्तुत गरेका थिए।  

यहाँ अध्यापन गराउने हिन्दू धर्मकी शिक्षिका सुरादानी पुत्रीले यस विद्यालयलाई इन्डोनेसियाको धार्मिक सहिष्णुताको एक उत्कृष्ट उदाहरण भएको बताउनुभयो। उहाँले धर्मका आधारमा कुनै विद्यार्थी वा शिक्षकलाई भेदभाव नगरिएको जानकारी दिनुभयो। सर्वधर्म सम्मान र धार्मिक तथा सामाजिक सहिष्णुताका बारेमा धेरैजसो पाठ्यक्रमहरू राखिएको जानकारी पनि उहाँले दिनुभयो। त्यस क्षेत्रमा हिन्दू र इस्लाम नागरिकको बसाई रहेको छ र उनीहरू आपसमा मिलेर बसेका छन्।  

इन्डोनेसियाका धार्मिक मामिलासम्बन्धी मन्त्री फिरी मेदीले उक्त विद्यालय इन्डोनेसियामा विद्यमान धार्मिक सहिष्णुताको एक उदाहरण हो भन्नुभयो। उहाँले बालीमा अधिकांश हिन्दू धर्मावलम्बी छन् र देशको अरु क्षेत्रमा पनि अधिक मुस्लिम र अरु धर्मका व्यक्ति भए पनि धार्मिक सद्भावको पाठ बालीबाट नागरिकले सिकुन् भन्ने उदाहरण सरकारले सधैं प्रस्तुत गर्ने गरेको उहाँले बताउनुभयो। 

बालीबाट साउनको सोमबार नेपालको पशुपतिनाथमा बोलबम आउने गरेको पनि बालीबासी बताउँछन्। त्यस्तै शिवरात्रिमा नेपाल आउने नागरिक पनि रहेका छन्। नेपालबाट आएको भनेपछि उनीहरूले हिन्दू पिपुल भनेर विशेष सम्मान गर्ने। तर पनि यत्रो ठूलो हिन्दूको सम्बन्धलाई नेपालसँग जोड्ने प्रशासनिक र कूटनीतिक संयन्त्र भने यी दुईबीच भेटिएन।  

बालीमा नेपाली भाषासँग मिल्ने कैयौं शब्दहरू पसल वा व्यवसायको विज्ञापनका लागि राखिएका बोर्डहरूमा देखियो। अंग्रेजी अक्षरले रोमनमा लेख्ने उनीहरूको भाषामा नाम नेपालीसँग मिल्दाजुल्दा जस्तै पुष्पा, शान्ता, पुष्पिता, मन्दिरा, मिरा, परिबता (पार्वता), मेघावती आदि देखियो। महिलाको नामको अन्तिममा प्रायः पुत्री शब्द जोड्ने रहेछन्। त्यस्तै पुरुषका नाममा हरिबोल, रामा(राम), मेघनाथ, रामायण, बलदेव, बली, आदित्य, विष्णवे, आदिपुत्र, गणेशा (गणेश) धेरै आउने रहेछ।  

बिदा मनाउन वर्षेनी विश्वका लाखौं पर्यटक यहाँ आउने गर्छन्। इन्डोनेसिया सरकारको तथ्याङ्कमा गत वर्षमात्र बालीमा ४६ लाखभन्दा बढी पर्यटक आएका थिए। सरकारले बालीलाई अन्तर्राष्ट्रिय सभा सम्मेलनस्थलका साथै पर्यटकीय हबका रुपमा विकास गरिरहेको छ। बाली डेमोक्र्यासी फोरम पनि इन्डोनेसिया सरकारले वर्षेनी आयोजन गर्ने गरेको एक कूटनीतिक मञ्च हो। यस वर्ष आयोजित उक्त मञ्चको नवौं सम्मेलनको नारा प्रजातन्त्र, धर्म र बहुलवाद थियो। यस थिममा पनि धार्मिक साम्प्रदायिकताका कुराहरू थिए। बालीमा हाल रहेको पूर्वाधारको संरचनाले उनीहरू दुई वर्षभित्रै यहाँ कम्तीमा पनि एक करोड पर्यटक भित्र्याउने योजनामा छन्। सरकारी अधिकारीहरू यो महत्त्वाकाङ्क्षा पूरा गर्नेतर्फ लागेको बताउँछन्।  

पर्यटकीय आकर्षणका हिसाबले संसारकै प्रसिद्ध यस नगरमा नेपालको भक्तपुरमा जस्तै पुराना र ऐतिहासिक महत्वका मठमन्दिरहरू छन्। यहाँ आउने पर्यटकहरूको मुख्य आकर्षण पनि यही नै हो। साथै चित्ताकर्षक समुद्री किनारा यहाँ पर्यटक रमाउने अर्काे एक अति सुन्दर गन्तव्य हो। त्यस्तै सयौं र हजारौं वर्ष पुराना हिन्दू धर्म एवम् पूरातात्विक महत्व र विविध शैलीका मठमन्दिहरू यहाँको अर्काे आकर्षण हो। उलु वातु, तानालत, विष्णु गरुडा, बातुबोलोन, महाभारत, तीर्थगंगा यहाँका प्रसिद्ध पर्यटकीयस्थलहरू हुन्। यी स्थल विश्वका पर्यटकका लागि आकर्षण मात्र नभएर धार्मिक आश्थाका केन्द्र पनि हुन्।  

यसलाई बाली मात्र नभनेर बाली दीप भनिन्थ्यो। यो इन्डोनेसियाको दक्षिणी भू–भागमा अवस्थित टापू हो र यसैमा पछि सहर बसेको छ। करिब २ हजार ईशापूर्वमा बिसीमा पत्ता लागेको यस बाली टापूमा ब्रम्हा, बिष्णु, महेश्वरको नै उपस्थिति रहेको विश्वास छ। त्यसैले प्राचीन समयदेखि नै यहाँ हिन्दू धर्म, कला र संस्कृतिको प्रभाव रहेको पाइन्छ। बाली नाम पनि बली राजाको उपस्थिति वा सुग्रिभ र बालीको शासन रहेको हुनाले राखिएको पनि धार्मिक विश्वास छ। बालीमा १६ औं शताब्दिमा युरोपेलीको प्रवेश भएको इतिहास छ। इन्डोनेसिया एक मुस्लिम राष्ट्रका रुपमा स्थापित भएको भए पनि हिन्दू धर्मको प्रभाव भने यहाँ अमिट रहेको छ। आज पनि इन्डोनेसियाले विश्वमा बालीलाई एक हिन्दू धार्मिक नगर र धार्मिक सहिष्णुताको उदाहरणका रुपमा प्रस्तुत गर्ने गर्दछ।  

रासस (विभिन्न एजेन्सीको सहयोगमा)