September 3, 2018

समय सन्दर्भ

बाँकि समय सन्दर्भ
 

अमेरिकाका नेपालीहरूमा सम्बन्ध विच्छेद बढ्दै

 विजय थापा, वाशिङ्गटन डीसी  

विजय थापा विल रगर्सले भनेका छन्, जबसम्म हामी अरुको अधिकारको सम्मान गर्न जान्दैनांै तबसम्म हामीले साचो सभ्यता प्राप्त गर्नसक्दैनौ। सामाजिक विकासको साथ साथै मानवीय इच्छा बढ्दै जान्छ। यसको असर हाम्रो पारिवारिक सम्बन्धमा पर्दछ। 

यसैले होला, अमेरिकन सभ्यता र जीवन शैलीमा जीवन ढाल्दै अघि बढिरहेको नेपाली समुदायका परिवारमा विवाहविच्छेद सुस्तगतिमा वृद्धि हुँदै जादैछ। सामाजिक, धार्मिक, राजनैतिक, कानुन, संस्कार तथा परम्पराले गर्दा महिलालाई मानसिक रुपमा पनि कमजोर बनाइएको छ। अझ पनि महिलालाई पुरुषको चाहनाअनुसार प्रयोगमा ल्याइएको वस्तुसरह पनि ठान्ने गरिन्छ। 

अमेरिकामा पचास प्रतिशत वैवाहिक सम्बन्ध पार पाचुके हुन्छ भनी एक आँकडाले भन्छ। नेपाली समुदायको अमेरिका बसोबास वृद्धिसँगै अमेरिकाका विभिन्न राज्यहरूमा सम्बन्ध विच्छेद घटना सतह बाहिर आउँदै छन्। 

आयश्रोत तथा शिक्षाका कारण विवाह विच्छेद: 

एक अध्ययनअनुसार आनुवंशिक, आयस्रोत तथा शिक्षाका कारण विवाह–विच्छेद हुने ज्यादा जोखिम हुने हुन्छ। सम्बन्ध विच्छेद सत्तरी र असीको दशकताका निकै उच्च भएको भए पनि त्यो प्रवृत्ति नभई केवल ऐतिहासिक अवैधता हुन गएको उल्लेख गरेको छ। 

करिब सत्तरी प्रतिशतको हाराहारीमा अमेरिकामा सत्तरीदेखि नब्बेको दशकमा जुन जोडीले पन्ध्रांै वार्षिक उत्सव मनाएका छन् त्योभन्दा पछि अर्थात् सन् २०११ पछिका विवाह गर्ने जोडीको विवाहविच्छेदमा कमि हुँदै आएको देखाएको छ। 

एक आँकडाअनुसार जति परिपक्व भएर विवाह गर्ने जोडीको विवाह सम्बन्ध लामो समयसम्म टिकेको देखिएको छ। हाल औसतमा अमेरिकामा पुरुष २७ बर्ष र महिला २६ वर्षमा विवाह गर्ने भएकोले वैवाहिक सम्बन्ध सुमधुर रहेको र विवाह विच्छेदमा र्‍हास हँुदै गएको देखिएको छ। तर पचासको दशकदेखि असीको दसकमा पुरुषले २३ र महिलाले २० वर्षको उमेर औसतमा विवाह गर्ने भएकोले कच्चा उमेरको कारण पारपाचुके अधिकतम रहेको थियो। 

पारिवारिक विविधता, असमानता, सामाजिक तत्त्वको कारण सम्बन्ध बिच्छेद: 

कोहेन्सको पुस्तकअनुसार पारिवारिक विविधता, असमानता, सामाजिक तत्त्व तथा सामाजिक परिवर्तनको कारण विवाह विच्छेदको कारण बताएको छ। जो व्यक्ति कम शिक्षा हासिल गरी वैवाहिक सम्बन्धमा बाधिन्छ उसको सबैभन्दा छिटो सम्बन्ध चिसिने र पृथक हुने हुन्छ भन्दै महाविद्यालयमा नपुग्ने युवा युवतीमा विवाहविच्छेद ज्यादै हुने गरेको देखाएको छ। 

यिनै कारण र अन्य विविध कारणले गर्दा अमेरिकामा पनि नेपाली समुदायमा वैवाहिक सम्बन्ध न्यूनतम रुपमा बिग्रिदै जाने गरेको छ। अधिकांश रुपमा महाविद्यालय तथा विश्वविद्यालयमा अध्ययनरत विद्यार्थीहरूमा यस्तो प्रवृत्ति झागिदै गइरहेको छ किनभने वातावरणले त्यस्तो परिस्थिति बनाइदिएको हुन्छ। चौतर्फी अमेरिकन रहनसहन, सभ्यता, आचरण, व्यवहार आदिले नेपाली समुदायका बालबालिकाहरू पनि यसको नकारात्मक प्रभाव पर्न देखिन थालेको छ। 

अमेरिकामा पुरुष र महिला समान हुन्छन् भन्ने भनाइ रहे तापनि अमेरिकामा साचो बराबर हुन ७१ वर्ष लाग्ने एक अध्ययनले जनाएको छ। महिला सशक्तीकरण भएकोले अमेरिकामा महिला तथा पुरुष दुबैको अधिकार र आवाज दुबैको समान हुन्छ। अमेरिकाको संविधानले वाक् स्वतन्त्रता दिएकोले त्यसको प्रभावले नेपाली समुदायलाई पनि छोएको हुँदा लोग्ने स्वास्नीबीच विवाद बढ्दै जादा विवाहविच्छेदमा परिणत भएका प्रशस्त भेटिन्छन्। 

अहमता पनि एक कारण: 

एक आपसमा समझदारी नहुँदा अमेरिकामा छौं भन्ने अहमताको कारण घर भाँडिन्छ। नेपाली पुरुषहरू नेपालको जस्तै एकात्मक पितृ सत्तात्मक सोच, चिन्तनको कारण परिवारमा झगडा र विवाद भइ छोड्ने परिस्थितिमा पुगेको कैयांै घटना छन्। 

अब नेपाली समुदायमा पनि सम्बन्ध बिच्छेद र दोश्रो विवाह गर्नु भनेको सामान्य कुरा भै सकेको छ। अझ पनि नेपाली समाज त्यति माथि र यस सम्बन्धमा त्यत्रो फड्को मरेको छैन होला भन्ने नेपाली समुदाय ठान्ने गर्छन्। 

सोच फराकिलो नहुने हुँदा सम्बन्ध विच्छेद 

पुरुष तथा महिला दुबैले एक आपसमा आशङ्का गर्दा विवाह सम्बन्ध टुटेको देखिएको छ। नेपालमा पुरुषले पुरुषार्थ देखाउँदै घरेलु हिंसा गरेको कारण महिलाले सम्बन्ध तोड्छन्। यता आई यतै घरजम पनि गर्ने गर्छन्। नेपालमा महिलालाई ज्यादा हेप्ने प्रवृत्तिको कारण नेपालमा सुमधुर सम्बन्ध रहे पनि अमेरिकामा आएर सम्बन्ध फुटेको छ। पुरुषहरू अमेरिकामा आएता पनि सोच नत्याग्ने हुँदा कलह बन्ने अनि सम्बन्ध चिसिने भई तोडिने गर्दछ। 

स्वतन्त्रता ज्यादा खोज्नेको कारण पनि विवाह बिच्छेद: 

ज्यादा स्वतन्त्रता खोज्नेको नाममा आपसी मेलमिलाप नहुँदा विवाहविच्छेद हुने गर्दछ। विभिन्न कारणबाट अमेरिका छिरेका पुरुष या महिला अलिक स्वतन्त्रता ज्यादा खोज्ने हुँदा मनोमालिन्य भइ कुरा बिग्रन गई सम्बन्ध टुट्ने पनि गरेको छ। 

नेपालमा घरभित्र मात्र रमाउने र परिवारको लागि जीवन समर्पण गर्ने महिला अमेरिकामा ज्यादा स्वतन्त्रता हुने भनी पतिले आरोप लगाउँदा पति पत्नीबीच विवाद हुँदा छोडपत्र हुने गर्दछ। महानगर सहरहरूमा भररात जीवन चल्दछ। नेपाली समुदाय पनि त्यसैमा आफूलाई ढाल्ने कोसिस गर्ने क्रममा परिवार भत्कने गरेको हुन्छ। त्यहाँबाट द्वन्द्व सुरु भएर वैवाहिक जीवन तहसनहस भएको हुन्छ। 

शङ्का तथा उपशङ्काको कारण सम्बन्ध विच्छेद 

सम्बन्ध विच्छेद एक आपसमा शङ्का तथा उपशङ्का गर्ने, वैवाहिक जीवनमा अभिभावकबाट हस्तक्षेप हुनाले, श्रीमानले श्रीमतीलाई अमेरिका ल्याइदिएको धाक लगाएको कारण, श्रीमतीको कमाई पुरै लोग्नेको हस्तक्षेप हुँदा, सरसल्लाह नमानेको कारण, अमेरिकाको कामको शैली थाहा हँुदाहुँदै कामबाट थकान भएर आउदा स्वास्नीले नै गर्नुपर्ने सोचाइको कारण तथा अमेरिकामा पुरुष या महिला दुवै खुकुलो वातावरणमा ज्यादा खुला भएको लोग्नेलाई स्वास्नीको र स्वास्नीको लोग्नेलाई मन नपरेको कारण सम्बन्ध बिच्छेद हुने देखिन्छ। 

समझदारीको ठूलो खाँचो 

अमेरिकामा रहेर वैवाहिक जीवनमा बाधिएका पति पत्नीबीच समझदारीको ठूलो खाचो हुन्छ। भररात काम गर्नुपर्ने बाध्यता भएकोले पतिले पत्नीसँग आशङ्का या पत्नीले पतिप्रति आशङ्का कदापि गर्नु हुन्न। 

हाम्रो संस्कृति, धर्म र परम्पराले सात फेरा लिएर वैवाहिक गाँठोमा बाँधिएको हाम्रो पवित्र गाँठो कहिले टुट्नुहुँदैन। लोग्ने स्वास्नीको झगडा परालको आगो भनेझैं यस्ता कुरामा हाम्रो ध्यानभन्दा आफ्नो जीवन कसरी सफल बनाउन सकिन्छ त्यसतर्फ दुवैले सोच्नुपर्ने हुन्छ।  कसरी समाजमा दीर्घकालिन अवधिसम्म जोडी भएर बसोबास गरेका छन् भनि उदाहरण प्रस्तुत गर्न जान्नुपर्छ। 

एक आपसमा सद्भाव र इज्जत गर्न जान्नुपर्ने: 

त्योतर्फ पुरुष तथा महिला दुबैले ध्यान पुर्‍याउन पर्दछ। सबैभन्दा ठूलो चुरो भनेको एकले अर्कालाई माया, सद्भाव र इज्जत गर्न जान्नुपर्छ। हामी विदेशी माटोमा छौ। झन् सुमधुर सम्बन्ध बनाउनको साटो टुटाउन खोज्यौं भने अर्काले भन्ने बाटो पाउने हुनाले यसतर्फ सजग रहे पति पत्नीको सम्बन्ध युग युगौंसम्म चल्ने हुन्छ। 

विवाहविच्छेद अनेक कारणबाट हुने गर्छ। विवाह विच्छेदले कसैलाई फाइदा गर्दैन। अन्तिम अवस्थासम्म टुटाउन दिनु हुन। अमेरिकामा पुरुष वर्गले भन्दा ज्यादा महिलाले विवाहविच्छेद गर्न चाहेको आँकडाले देखाएको छ। 

हामी नेपालीलाई घरबार बिगार्ने हावा नलागोस्। अर्काको सिकोको नक्कल गर्न कहिले मन नलागोस्। सँगै मर्ने र जिउने कसम खाएकोले लामो जिन्दगी यस्तो परिस्थिति कहिले सिर्जना नहोस्  शुभकामना !